माछा मार्ने पेशा संकटमा

0
Shares

सरिता चलाउने,सल्यान
भेरी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आइरहेका सल्यानका वादी समुदायको पेशा संकटमा पर्दै गएको छ । आधुनिकतासँगै अन्य जातीहरुले पनि माछा मार्न थालेपछि माछा मारेर जीविकोपार्जन गर्दै आइरहेका वादी समुदायको पेशा संकटमा पर्दै जानथालेको हो ।

नदिको पानीलाई जीविकोपार्जनको मुख्य माध्यमका रुपमा प्रयोग गर्दै आइ रहेका वादी समुदाय पेशा संकटमा परेपनि रनभुल्ल परेका छन् । भेरी नदी लगायतका अन्य खोलाहरुमा अन्यजातिहरुले पनि माछा मार्ने तथा साना खोलाहरुमा विष हाल्ने, करेन्ट लगाउने गर्दा आफूहरुको पेशा संकटमा परेको बन्गाड कुपिन्डे नगरपालिका वडा न २ झ्यामटाकुराका चैते वादीले बताए । उनले भने ‘पहिले माघ देखि वैशाखसम्म भेरी नदि किनारमै पाल टाँगेर माछा माथ्र्यौं तर आजभोलि अन्य जातिहरुले पनि जाल र महाजाल प्रयोग गरी माछा मार्न थालि सके ।’

दिनमा एक जनाले पाँच देखि १० किलोसम्म माछा मार्ने गरे पनि चार महिना माछा मारेर भएको आम्दानीले बाँकी आठ महिना परिवार पाल्न निकै समस्या हुने गरेको वादीको भनाई छ ।

वादी जाती मात्रै नभएर नदि किनारमा बस्ने स्थानीयहरु अन्य कामकाज भन्दा नदिमा माछा मार्ने कामलाई प्राथमिकता दिने गरेको कसेरा वादीले बताए । उनले भने ‘माछा मार्ने पेशा हाम्रो हो तर यतिबेला नदिमा महाजालमा धेरै माछा पर्ने भएकाले सबैले हाम्रो सिको गरेर फाइदा लिईरहेका छन् ।’ माछा विक्रीबाट अन्य जातिहरुले चार महिनामा राम्रो आम्दानी गर्दा आफुहरुको पेशा भने धान्न धौ धौ भएको कसेराको भनाई छ । विचौलियाका कारण पनि आफूहरु पेशा संकटमा परेको कसेराले बताए । उनले भने ‘हामीबाट ५ सय रुपैयामा किनेर लान्छन् तर विचौलियाहरुले ६ सय देखि ८ सय रुपैयाँसम्म विक्री गर्ने गर्दछन् ।’

आफुहरुको माछा मार्ने पेशा हराउँदै जानथाले पछि अर्को पेशा व्यवसायको सृजना गरी दिन वादी समुदायले स्थानीय सरकारलाई आग्रह गरेका छन् । भेरी नदिको माछा भन्ने वित्तिकै आवतजावत गर्नेहरुले हान थाप गर्ने गर्दछन् ।