अब धुँवामुक्त शवदाह

0
Shares

रोशन पराजुली, हेटौंडा
हेटौंडाको राप्तिनदी किनारमा दाहसंस्कारका लागि शव जलाउन टायरको प्रयोग बढ्नाले आसपासका स्थानमा दुर्गन्ध फैलिएको छ । गन्धका कारण उक्त क्षेत्रमा बसिनसक्नु हुने गरेको स्थानीय बताउँछन् ।

यही समस्या सम्बोधन गर्न हेटौंडाको शवदाहस्थलका रुपमा रहेको हेटौंडा–१०, राप्तिखोलामा चितामा राखेर दाउरा र मुढा बालेर अनि गाडीका टायरसमेत प्रयोग मानिसको शव जलाउनुपर्ने वाध्यता अब हटाइने भएको छ । शव जलाउन लामो समयदेखि दाउरामै भर पर्नुपर्ने अवस्था अब समाप्त हुने भएको हो ।
यसले प्रदुषण फैलिएपछि आधुनिक तरिकाले शव जलाउन मेसिन खरिद गर्न लागिएको हो । हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले मानिसको मृत्युपछिको प्रदुषण न्यूनीकरण गर्ने प्रयासमा लागिएको बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले शव जलाउने मेसिन खरिद गर्ने निर्णय गरेको छ ।

शव जलाउँदा टायर पनि बाल्ने गरिएको छ । टायरको विषाक्त धुँवाले मलामीलाई असर परिरहेको छ । यस्तो अवस्थामा विषाक्त धुँवाले मलामीको स्वास्थ्यलाई पारिरहेको खराब असरबारे खासै वास्ता छैन ।विदेशमा मेसिनबाट शव जलाउनु नौलो विषय नभए पनि हाम्रा लगि भने यो नौलो प्रविधि हो । ‘दाउराको साटो विद्युतीय मेसिनबाट शव जलाउँदा सजिलो हुने गर्दछ ।

परम्परागत् विधि पूरा गरेर जलाउन पाइन्छ, यसबाट बाहिरको प्रदुषण कम हुन्छ र परम्परा पनि तोडिँदैन,’ मेयर महलले भन्नुभयो ।
एउटा शव जलाउन करिब ४०÷४५ मिनेटसम्म लाग्ने बताइन्छ । चितामा दाउरा ठोसिराख्नुपर्ने झण्झट पनि पर्दैन । विद्युत शवदाहमा शव जलाउँदा दाउरामा भन्दा सस्तो पर्छ ।

दाउराको विकल्पमा मेसिन प्रयोग गर्न थालिएपछि धुँवा र प्रदुषण कम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपालमा यस्तो मेसिन नपाइने हुँदा खरिद प्रक्रिया झन्झटिलो रहेको मेयर महतले बताउनुभयो । उपमहानगरको चौथो नगरसभा बैठकले मेसिन खरिद गर्ने निर्णय गरेको छ । मेसिन खरिदका लागि ९० लाख खर्च लाग्ने अनुमान छ । नगरसभाको बैठकले शव जलाउने मेसिन खरिदका लागि रकम छुट्याएको हो ।

उक्त क्षेत्रमा ल्याइएका शवको अभिलेख राख्ने काम हुने गरेको छैन । वर्षभरिमा उक्त घाटक्षेत्रमा कति शव जलाइन्छ र त्यसबाट वातावरणमा पर्ने असरबारे सम्बन्धित निकायलाई जानकारी दिन शवको अभिलेख राख्नुपर्ने भए पनि त्यसो हुन सकेको छैन ।

हेटौंडाबाट संकलित फोहोर दुर्गन्ध फैलिने गरेकोले यसलाई छुट्याएर जलाउने गरी मेसिन खरिद गरिने भएको छ । फोहोरका कारण रोग फैलने जोखिम रहेकोले यसबाट सुरक्षित बन्न फोहोर जलाउने मेसिन खरिद गर्ने गरी नगरसभाबाट निर्णय गरिएको मेयर महतले बताउनुभयो । यसका लागि ४० लाख छुट्याइएको छ । यस प्रकारको मेसिन भारतबाट मगाउनुपर्ने हुन्छ ।

पशु वधस्थल अभावका कारण हेटौंडाको मुख्य बजार र वरपर जहाँतहीं राँगा, भैंसी, बोका, खसी वध गर्ने गरिएकोले अब वधस्थलमा लगेर वध गर्ने गरी वधशाला निर्माणमा उपमहानगरपालिकाले चासो दिएको छ । पशु वधस्थल निर्माण गर्न आईर्ईका लागि ५ लाख छुट्याइएको छ ।