तपाईँले रोपेका विरुवा कसले जोगाउँछ प्रधानमन्त्रीज्यू ?

0
Shares

गंगा बराल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोप्नुभएका फलफूलका विरुवा जोगाउनै मुस्किल भएको छ ।

गत जेठ २२ गते प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’ सुरु गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि एभोकाडो र लिची रोप्नुभएको थियो ।

उक्त अभियानअन्तर्गत २८ लाख ९० हजार ९ सय १९ विरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले जानकारी दिनुभयो । कार्यालयले मंसिरमा तथ्यांक प्रकाशित गरेको थियो । ‘अहिले पनि सबैतिर यो अभियान चलिरहेको छ, पछिल्लो तथ्यांक मगाइरहेका छौं’ प्रवक्ता कुँवरले भन्नुभयो ‘प्रधानमन्त्री कार्यालयले सबै स्थानीय तहलाई यो अभियानमा लाग्न पत्राचार गरेको छ ।’

नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत ३ वर्षभित्रमा ३ करोड विरुवा रोपिसक्ने योजना रहेको कुँवरले जानकारी दिनुभयो ।

उहाँले सरकारी कार्यालयले मात्र नभएर जोसुकैले पनि यो अभियानलाई सहयोग गर्न सक्ने भएकाले फलफूलका बोटविरुवा रोप्न प्रोत्साहन गरिँदै आएको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार पारेको प्रतिवेदनअनुसार मंसिरसम्म रोपिएका यी फलफूल तथा बोटविरुवामध्ये २३ लाखको पहिचान भइसकेको छ । बाँकीलाई अन्य भनेर छुट्याइएको छ ।

२८ प्रकारका फलफूल रोपिएको तथ्यांकअनुसार देशैभरको तथ्यांक हेर्दा सबैभन्दा बढी कागतीका ५ लाख ४ हजार ४ सय ९४ र सबैभन्दा कम भुँइकटहरका ५ वटामात्र विरुवा रोपिएका छन् । अलैंचीका ४ लाख ६९ हजार १ सय ५०, सुन्तला÷मुन्तलाका ३ लाख ३९ हजार ८ सय ३८, आँपका २ लाख ५९ हजार ३ सय ६५, लिचीका ८८ हजार ६ सय ३४, केराका ७४ हजार ५ सय ३४ विरुवा रोपिएका छन् ।

यस्तै रोपिएका अन्य विरुवामा केरा, स्याउ, अम्बा, अनार , जुनार, कटहर, ओखर, किबी, लप्सी, अंगुर, अमला, अमिलो, मौसम, नास्पाती, मेवा, हलुवाबेद, एभोकाडो, आरु, जापानिज कटुस, आरुबखाडा, खुरपानी, अंजिर र भुँइकटहर छन् ।

केही विरुवा रोपिए पनि पहिचान खुलेको छैन । ३ लाख ५४ हजार ९ सय ३२ फलफूल र ५ लाख ७४ हजार १ सय ८० अन्य विरुवाहरुको पहिचान खुलेको छैन ।

‘फलफूल र अन्य बोटविरुवाले एकातिर वातावरण संरक्षण गर्दै खाली जमिनको सदुपयोग गर्छ भने अर्कातिर आफैंले फलाएको फलफूल खानाले स्वस्थ्य पनि राम्रो हुँन्छ’ कुँवरले भन्नुभयो ‘ यो अभियान निरन्तर चलिरहन्छ तर यिनीहरुलाई बचाइराख्न भने चुनौती छ ।’

उहाँले कृषि बिकास तथा पशुपंक्षी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले पनि आगामी दिनमा सक्रियता देखाउनुपर्ने बताउनुभयो । वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले जसले रोपेको हो उसैले फलफूल तथा विरुवा संरक्षण गर्नुपर्ने बताउनुभयो ।

‘हामीले पनि आफ्नो तर्फबाट बहन गर्नुपर्ने दायित्व लिन्छौं तरपनि मुख्यगरी जसले रोपेको छ उसैले संरक्षण गर्दा राम्रो हुन्छ’ सचिव ओलीले भन्नुभयो ‘यो अभियानमा सबैको सहभागिता रहेको छ त्यसैले पनि सफल अभियान भन्दा फरक पर्दैन ।’

विरुवा रोप्न मन भएपनि किन्न नसकेका वा आफूसँग नभएका नागरिकका लागि भने सरकारले सम्बन्धित कार्यालय वा कुनै निकायबाट निशुल्क बोटविरुवा उपलब्ध गराइदिनुपर्ने सर्वसाधारणको छ ।

प्रदेश नम्बर १ मा २ लाख १० हजार २ सय २९, २ मा १ लाख ७१ हजार १ सय ९६, ३ मा ३ लाख ६७ हजार ६ सय ८७, गण्डकीमा ९ लाख ४३ हजार १ सय ३७, ५ मा ६ लाख ५८ हजार ८ सय ४३, कर्णलीमा ३ लाख ३६ हजार ५ सय ७४ र सुदूरपश्चिम प्रदेशमा २ लाख ३ हजार २ सय ६६ फलफूल तथा बोटविरुवा रोपिएका छन् । सबैभन्दा बढी गण्डकी प्रदेशले र सबैभन्दा थोरै २ नम्बर प्रदेशले बोटविरुवा रोपेको छ ।

नेपाली सेनाले ४१ हजार ७ सय ८१, नेपाल प्रहरीले ३४ हजार १ सय ३, सशस्त्र प्रहरीले २४ हजार ७ सय ३७ र बैंक तथा वित्तिय संस्था एवं सार्वजनिक संस्थानले २५ हजार ४ सय विरुवा रोपेका छन् ।