पर्यटकीय स्मार्ट भिलेज घलेगाउँ पूर्ण सरसफाई घोषणा

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङको पर्यटकीय स्मार्ट भिलेज घलेगाउँलाई पूर्ण सरसफाई घोषणा गरिएको छ । सार्क राष्टकै नमुना गाउँको उपमा पाउनुका साथै स्मार्टभिलेजको रुपमा अगाडी बढेको घलेगाउँमा एक कार्यक्रमको आयोजना गरी पूर्ण सरसफाई गाउँ घोषणा गरिएको हो ।

क्व्होलासोंथर गाउँपालिका– ३ मा पर्ने घलेगाउँ र उत्तरकन्या गाउँलाई वडास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अगुवाईमा पुर्ण सरसफाई गाउँ घोषणा गरिएको सोही वडाका अध्यक्ष खर्काजङ गुरुङले बताउनु भयो । उहाँका अनुसार साविकको उत्तरकन्या गाविसमा रहेका २ सय ९० घरधुरीले सरसफाईका सूचक पूरा गरेसंगै उत्तरकन्यालाई पूर्ण सरसफाईयुक्त क्षेत्र घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितीका प्रमुख लोकराज पाण्डेले पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गर्दै स्वास्थ्य र सरसफाई सरकारको अभियान भएकाले यो अभियानलाई सफल बनाउन स्थानीय तह जिम्मेवार बन्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘स्वस्थ हुनु पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । यसमा स्थानीय सरकार प्रतिवद्ध छ ।’ अभियानलाई तल्लो तहका जनतासामु पुराउनुपर्नेमा उहाँले जोड दिनु भयो ।

क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेको गृहवडा समेत रहेको उक्त वडालाई पूर्ण सरसफाई वडा घोषणामात्रै नभई नियमित अनुगमन गरिने बताउनु भयो । उहाँले भन्नुभयो ‘यो गाउँलाई सबै क्षेत्रमा स्मार्ट बनाउने हाम्रो लक्ष्य छ ।’ उहाँले स्वास्थ्य र सरसफाईको क्षेत्रमा अगाडि बढाउन स्थानीय सरकार लागीपरेको बताउनु भयो ।

सो अवसरमा क्व्होलासोंथर गाउँपालिकाका उपाध्यक्ष कुमारीमुनी गुरुङले घलेगाउँ, बगुम, भुजुङमात्र नभई गाउँपालिका भित्रका सबै वडाले सरसफाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सुआहाराका लमजुङ– गोरखाका कार्यक्रम संयोजक यम जिसी, आरसीडीसीका अध्यक्ष राजेन्द्र बोहरा र एक्याप इलाका कार्यालय भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्त लगायतले सरसफाईले समुन्नत समाज निर्माणमा सहयोग पुग्ने भएकाले यसतर्फ सवैको ध्यान केन्द्रीत हुनु पर्नेमा जोडदिदै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा क्व्होंलासोंथर गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत पितम्बर सारुले १४बुँदे आचारसंहिता बारेमा जानकारी गराउनु भएको थियो । उहाँका अनुसार पूर्ण सरसफाई वडा घोषणा गरिएसँगै गाउँघरमा सरसफाई अभियान संचालन गर्न हरेक गाउँटोलमा सरसफाई समिति निर्माण गरिएको छ । ‘सफा घर, चर्पी, खाना र पानी नियमित गरौ हात धुने बानी’ भन्ने नारा तय गरिएको सारुले जानकारी दिनुभयो ।

सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) को सहजीकरणबाट सो वडा सरसफाईयुक्त हुन गएको हो ।

स्थानीय महिला स्वास्थ्य स्वयंम सेविका सावित्री गुरुङले वडामा पूर्ण सरसफाई कार्यक्रमलाई सफल बनाउनका लागि हरेक टोलमा आमा समूह, बालबालिका समूह र युवा समूहको छुट्टाछुट्टै संयन्त्र बनाइएको बताउनु भयो ।

लमजुङमा जिल्लालाई खुला दिशामुक्त बनाएसँगै सरसफाईको अभियान तीव्र पारिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख वामदेव पौडेलले बताउनु भयो । उहाँका अनुसार जिल्लामा रहेका कुल ७५ वडा मध्ये पाँच वडा पूर्ण सरसफाई घोषणा गरिसकिएको छ र बाँकी ७० वटा वडालाई पनि अभियानका साथ सरसफाईका कार्यक्रम सञ्चालन गरिएको छ ।