स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत हुने

0
Shares

दमौली ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दुलेगाैंडा–कोत्रे सडकखण्डको मर्मत हुने भएको छ । स्थानीयवासीको दबाबपछि शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित जीर्ण सडकको मर्मत हुने भएको हो । राजमार्ग जीर्ण भएर ठाउँ–ठाउँमा भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै आइतबार स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका थिए ।

स्थानीयवासीको आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको सरोकारवालाको बैठकले तत्कालै उक्त सडकको मर्मत थाल्ने सहमति भएको हो ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, सडक डिभिजन कार्यालय दमौलीका प्रमुख विष्णुप्रसाद काफ्ले र शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ सहितका जनप्रतिनिधि र स्थानीयवासीबीच भएको छलफलमा सडक मर्मत गर्ने सहमति भएको हो । आफूहरुको माग बमोजिम सडक मर्मत थाल्ने निर्णय भएको स्थानीयवासी हरिलाल रिमालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सम्बन्धित निकायको वेवास्ताको कारण सडक मर्मतमा ढिलाई भएपछि बाध्य भएर सडक अवरुद्ध ग¥र्यौ, तत्कालै सम्बन्धित निकायको बैठक बसेर मर्मत थाल्ने सहमति भएको छ ।’ जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले तत्कालै उक्त सडकखण्डको मर्मत गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय तनहुँका प्रमुख विष्णु काफ्लेले निर्माण कम्पनीको लापरवाहीका कारण सडक मर्मतमा ढिलाई भएको जानकारी दिनुभयो । उहाँका अनुसार सडक मर्मतको जिम्मा पाएको रोशन कन्स्ट्रक्सन प्रालिलाई पटक–पटक ताकेदा गर्दा समेत सडक मर्मतको काम अगाडि बढ्न नसकेको हो ।

कार्यालयले निर्माण कम्पनीलाई तुरुन्त निर्माण कार्य थाल्न सूचना जारी गरेको छ । अन्यथा ठेक्का सम्झौता तोडी कार्यसम्पादन जमानत जफत गर्ने, कालोसूचीमा राख्न सिफारिस गर्ने, हर्जना असुल गर्ने लगायतका कारवाही हुने कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ । कार्यालयले निर्माण कम्पनीलाई सात दिनभित्र कार्यालयमा उपस्थित भई कम्पनीलाई कारवाही नगर्नुको कारण पेश गर्न सूचना जारी गरेको छ ।

बिजुली बल्दा स्थानीयवासी खुशी

बन्दीपुर गाउँपालिका–६ को ग्याजाटारमा पहिलो पटक बिजुली बलेको छ । हालसम्म अन्धकारमा बस्दै आएका यहाँका स्थानीयवासी बिजुली बलेपछि हर्षित भएका छन् । मिटरजडित बिजुली बाल्ने वर्षौंदेखिको चाहाना पूरा भएकोमा आइतबार गाउँमा पुग्नुभएका सांसद, विद्युत् प्राधिकरणका प्रमुखसहित कार्यालय प्रमुखलाई स्थानीयवासीले खाँदा र माला लगाएर स्वागत गरेका छन् ।

ग्याजाटार आमा समूहका अध्यक्ष आइतमाया गुरुङले पहिलो पटक बत्ती बाल्न पाउँदा खुशीको सीमा नै नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गतवर्ष सांसदले पिपलको बोटमुनि बसेर एक वर्षभित्र बत्ती बाल्ने प्रतिबद्धता जनाउनुभएको थियो । अहिले आएर उक्त प्रतिबद्धता पूरा भएको छ ।” वारीपारी विद्युतीकरण योजनाका प्रमुख हर्कबहादुर गुरुङले वर्षौदेखिको बिजुली बाल्ने सपना अहिले आएर पूरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

बिजुली बाल्नको लागि गाउँलेले पोल ढुवानी, पोल गाड्ने र झाडी बुट्यान फाँड्न जनश्रमदान समेत गरेका थिए । स्थानीयवासी दिलीप गुरुङले सोलारको भरमा बसेका गाउँलेले अहिले बिजुली बलेपछि टेलिभिजन खरीद गर्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सोलारले बत्ती बाल्न मात्र काम लाग्थ्यो । अहिले बिजुली पुगेपछि केहीले टिभी खरीद गरिसकेका छन् भने केहीले खरीद गर्ने तयारी गरेका छन् ।” ९६ घरधुरी रहेको ग्याजाटारमा नेपाल विद्युत् प्राधिकरणको आबुँखैरेनी फिडरमार्फत धरमपानीको हिलेखर्कबाट बिजुली ल्याइएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिव गोशेलीले जानकारी दिनुभयो ।

ग्याजाटार र बाग्थलका ९६ घरधुरीमध्ये करीब ८५ घरले मिटर जडान गरिसकेका छन् । बाँकी केही घरधुरीमा जग्गाधनी पूर्जामा भएको नामको कारणले मिटर जडानमा समस्या रहेकोले सहजीकरण गरिदिन स्थानीयवासीले विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख गोशलीलाई आग्रह गरेका छन् ।

गोशलीले प्रक्रिया पुगेका सबै घरधुरीमा मिटरजडान गरिदिने बताउँदै विद्युत् पुग्नबाँकी जिल्लाका १५ प्रतिशत घरधुरीमा दुई वर्षभित्र बिजुली पु¥याइने बताउनुभयो । विद्युतीकरणको शुभारम्भ गर्दै सांसद कृष्णकुमार श्रेष्ठले दुई वर्षभित्र सबैधुरीमा बिजुली पु¥याउने आफ्नो उद्देश्य रहेको भन्दै अन्य गाउँपालिकामा पनि बिजुली पु¥याउने गरी काम भइरहेको बताउनुभयो ।
रासस