एकीकृत बस्ती थाहानगरमा शुरु

0
Shares

रोशन पराजुली, हेटौंडा
प्रदेश सरकारलाई योजना अगाडि बढाउन विभिन्न समस्या भइरहेको बेला मकवानपुरको थाहानगरमा भने नागरिकमाझ पूर्वाधारको पहुँच पु¥याउन समस्या भएका घरहरु स्थानान्तरण गर्ने योजना बनाइएको छ ।

थाहानगरले यसका लागि १० करोड खर्चने भएको छ । नगरको ११ नम्बर वडाको बिकट मानिने नागछेडाका ६० घर स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको हो । त्रिभुवन राजपथको नौखण्डेबाट करिब तीन घण्टा पैदलयात्रापछि पुगिने नागछेडा बिकट बस्ती हो ।

नगरप्रमुख लवशेर बिष्टका अनुसार सरकारको जनता आवास कार्यक्रम भन्दा फरक मोडालिटीमा बस्ती स्थानान्तरण गर्न लागिएको हो ।
शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, खानेपानी, विद्युत्लगायत विकासका पूर्वाधार पु¥याउन नसकिने डाँडाकाँडाका बस्ती एकीकृतरुपमा स्थानान्तरण गर्न लागिएको नगरप्रमुख बिष्टले जानकारी दिनुभयो । एक सय रोपनी निजी जमीन खरिद गरी ६० घर निर्माण गरिने छ ।

१० वर्षमा उक्त जमीन र घर सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी बस्ती स्थानान्तरण प्रक्रिया अगाडि बढाइएको हो । ‘१० वर्षसम्म आयआर्जन गरी उनीहरुले घर र जमीनको पैसा चुक्ता गर्न सक्छन् भन्ने हाम्रो मान्यता हो,’ नगरप्रमुख बिष्टले भन्नुभयो । सबै घर एकै मोडलमा बनाइने छ र उनीहरुलाई आर्थिकरुपमा सक्रिय बनाउने प्रयास गरिनेछ ।

एकीकृत बस्तीलाई होमस्टेका रुपमा विकास गरिने र परिवारका सदस्यको रुचिअनुसार सीपमूलक तालिम प्रदान गरी आयआर्जनको बाटो देखाउने तयारी गरिएको नगरप्रमुख बिष्टले बताउनुभयो ।

नगरपालिकासँगको रकमले पुगेन भने प्रदेश सरकारसँग रकम माग गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा सय रोपनी जमीन खोजीका लागि नगरपालिकाको टोली परिचालन गरिएको नगरप्रमुख बिष्टले बताउनुभयो । सय रोपनी उपयुक्त जमीन खरिदपछि भवन निर्माण थालिने बताइएको छ ।
तामाङबहुल बस्ती स्थानान्तरणका लागि बस्तीबासीसँग कुरा भइरहेको नगरप्रमुख बिष्टले जानकारी दिनुभयो । आफ्नो पुख्र्यौली थातथलो छोडेर जान नचाहनेलाई सम्झाउने कार्य भइरहेको नगरप्रमुख बिष्टले बताउनुभयो ।

आयआर्जनको विषयमा पनि उनीहरुलाई ग्यारेन्टी गर्नुपर्ने अबस्था छ । एकीकृत बस्तीमा खुलामैदान, विद्युत्, खानेपानी, विद्यालय, स्वास्थ्यकेन्द्र, बगैंचा आदि समाबेश हुनेछन् ।

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले एकीकृत बस्ती निर्माण प्राथमिकतामा राखेको बताए पनि जग्गाप्राप्ति सबभन्दा ठूलो समस्या रहेको बताउनुभएको छ । सार्वजनिक जग्गा कुनै न कुनै हिसाबले बनसँग जोडिएकोले जग्गाप्राप्तिमा समस्या भएको उहाँको भनाइ थियो ।

‘बनसँग जोडिएका जग्गा पाउन निकै सकस छ । त्यसले यो काम सोचेअनुरुप अगाडि बढेको छैन,’ उहाँले मकवानपुरमा १ सय ६० वटा घर बनाउने तयारी गरिरहेको जानकारी दिनुभएको छ । दोलखा, रामेछाप र सिन्धुलीमा पनि एकीकृत बस्ती निर्माण प्रक्रिया अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारको यस वर्षको नीति तथा कार्यक्रममा करिब चार सय घरपरिवारलाई राख्ने गरी एकीकृत बस्ती निर्माण कार्य अगाडि बढाउने उल्लेख छ । हेटौंडा–१८ नम्बर वडाका करिब ७१ घरधुरीलाई एकीकृत बस्तीमा सार्नुपर्ने पाइएको छ । सबै घरधुरी चुरे क्षेत्रमा रहेकोले उनीहरुलाई एकीकृत बस्तीमा सार्नुपर्ने जानकारीमा आएको छ ।

हेटौंडा–१५ स्थित चिप्लेटी बस्ती सार्ने योजनासमेत रहेका कारण उक्त क्षेत्रमा एकीकृत बस्ती निर्माण हुने बताइएको छ । जग्गाको नापी सकिएपछि कति वटा घर निर्माण हुन्छन् भन्ने निश्चय भएसँगै प्रदेश सरकारले त्यसमा आवश्यक कार्य अगाडि बढाउने बताएको छ ।
प्रदेश सरकारले जग्गाको भोगचलनका लागि संघीय सरकारसँग आग्रह गरेको छ । बिहीबार काठमाडौंमा प्रधानमन्त्री केपी ओलीसँगको भेटमा मुख्यमन्त्री पौडेलले यसबारे गुनासो राख्नुभएको थियो ।