मध्यतराईमा ‘टोर्नेडो’ले क्षति पु-यायो: अध्ययन टोली

0
Shares

टीका बन्धन, काठमाडौं । गत साता मध्य तराईको बारा र पर्सामा क्षणभरमा जनधनको क्षति पु¥याउने शक्तिशाली आँधी ‘टोर्नेडो’ भएको स्थलगत अध्ययनले देखाएको छ । जल तथा मौसम विज्ञान विभागका मौममविद् संलग्न टोलीको अध्ययनले त्यस्तो ठहर गरेको हो ।

विभागकी बरिष्ठ मौसमविद् डा.अर्चना श्रेष्ठ नेतृत्वको टोलीले ५ दिनसम्म गरेको स्थलगत अध्ययनले यस्तो ठहर गरेको हो । अध्ययनको विस्तृत पक्ष केलाउन अझै बाँकी रहेको बताउँदै श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘स्याटेलाईट तस्वीर नियाल्दा, आँधी प्रभावित क्षेत्रका बासिन्दाको अनुभव र स्थानीय प्रशासनले दिएको राय सुझावलाई नियाल्दा आँधी निकै शसक्त रहेको हाम्रो ठहर छ ।’

बिदेशमा भएका यस्ता घटनाक्रमलाई पनि अध्ययनको आधार मानिएको उहांले जानकारी दिनुभयो ।टोली आइतवार काठमाडौं फर्किएको छ ।
अध्ययन टोलीमा अर्का बरिष्ठ मौसमविद् सुजन सुवेदी र मौसमविद् गोविन्द झा संलग्न हुनुहुन्थ्यो । बारा र पर्सामा क्षति पु¥याउने आँधीको गति १ सय देखि १ सय ५० किलोमिटर प्रति घन्टा रहेको विभागको अनुमान छ । तर स्थलगत टोलीले हावा के कति शसक्त थियो भन्ने निष्कर्ष सुक्ष्म विश्लेषणपछि मात्रै सार्वजनिक गर्न मिल्ने बताइएको छ । टोर्नेडो छोटो समय अवधिभित्रै स्थानीयस्तरमा विकसित हुने हावाहुरीको शक्तिशाली स्वरुप हो ।

टोर्नेडो भुमरी पर्ने शक्तिशाली वायु हात्तिको सुढजस्तो आकारमा विकसित हुने मौसमविद् बताउँछन् । यस्तो मौसमी गतिविधिलाई अमेरिकामा टोर्नेडो र ट्वीस्टरका रुपमा बुझ्ने गरिएपनि अन्य मुलुकमा फरक शब्दमा बुझ्ने र बताउने गरिएको मौसमविद् सुवेदी बताउनुहुन्छ । ‘तराईको प्रभावलाई हामीले ‘सिभियर’ हो या ‘फ्यूनरल क्याउड’ अथवा ‘टोर्नेडो’ हो होइन भनेर अध्ययन ग¥यौ, प्रारम्भिक अध्ययनले टोर्नेडो हो भन्ने ठहर गरेका छौ’–उहाँले भन्नुभयो ।

तातो र ओसिलो हावाको सम्मिश्रणबाट क्षणभरमा हावाहुरी शक्तिशाली बन्ने विज्ञहरु बताउँछन् । आधीको सशक्त स्वरुप समुद्र वा पानी भित्र विकसित भएमा विज्ञहरु त्यस्तो गतिविधीलाइ ‘वाटर स्पउट’का रुपमा बुझ्ने गर्छन् ।
गत साता भारतको मध्यप्रदेश, छत्तिसगढ र आसपासमा विकास भएको न्यूनचापिय प्रणाली र नेपालभित्रै विकसित भएको स्थानीय वायुको दोहोरो प्रभावले तराईको हावाहुरी क्षणभरमै शक्तिशाली स्वरुपमा बदलिएको थियो ।

गत आइतवार अपरान्ह्र पोखरा र आसपासका भेगमा विकास भएको स्थानीय वायु साँझ परेपछि तीब्रगतिमा पूर्वतर्फ बहदा र भारत हुँदै नेपाल भित्रिएको वायुको दोहोरो समिश्रणले सो दुर्घटना भएको विभागको ठहर छ । मौसम पूर्वानुमानका लागि जडान भएका सतही स्टेसन र मौसमी रेडारले समेत यस्तो सूचनाको पूर्वानुमान गर्न नसक्ने बताइन्छ ।