अर्गानिक कृषि उत्पादनका लागि बृहत् अन्तरक्रिया

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
बेसीशहर नगरपालिका– ११ चितिमा अर्गानिक कृषि उत्पादनका लागि बृहत अन्तरक्रिया गरिएको छ । सिङ्गै चिति गाउँलाई अर्गानिक कृषि उत्पादन क्षेत्र बनाउने बिषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कृषिसंग सम्बन्धित ब्यक्तित्वहरूले आ– आफ्नो धारणा राख्नु भएको थियोे । कृषि उत्पादनमा बिषादिको प्रयोगले मानव स्वास्थ्यमा मात्र नभएर जमिनमा र वातावरणमासमेत असर गरेको कृषिका बिज्ञहरूले चिन्ता व्यक्त गर्ने अर्गानिक उत्पादनमा जोड दिएका थिए । उनीहरूले पशुपन्छिको मलमुत्र, बनस्पतिजन्य वस्तु कुहाएर कम्पोष्ट मल उत्पादन गरी प्रयोग गर्नुपर्ने सल्लाह दिइएको थियोे ।

प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले कृषिको व्यावसायिकरण, आधुनिकिकरण र यान्त्रिकीकरण मा जोड दिनुभयो । उहाँले परम्परागत कृषि प्रणालीले नेपालीलाई झन् गरिब बनाएको भन्दै व्यावसायिक कृषि गर्ने युवालाई राज्यले लगानी उपलब्ध गराउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘राज्य कृषि क्षेत्रमा लगानी गर्न तयार छ तर लगानीको सदुपयोग हुनुपर्छ ।’ उत्पादन लागतमा कमी उत्पादित वस्तु बढी बनाउन तथा कृषि पेसालाई सम्मानित बनाउन सके लाखौं लाख बिदेशी भूमिमा गएका युवाहरू आफ्नै देशमा बस्न सक्ने वातावरण बन्ने छ उहाँको भनाइ थियोे ।

कार्यक्रमका परिकल्पनाकार तथा आयोजक चिनबहादुर थापाले चितिलाई कृषिमा नमुना क्षेत्र बनाउने र चितिबासीको आर्थिक अवस्था थप मजबुत बनाउने अभियानमा आफु लागेको प्रष्ट्याउनु भएको थियो । चितिबाट विस्थापित सबैलाई चितिमा फर्काउने उद्देश्यले आफु पनि अमेरिका छाडेर आएको भन्दै थापाले सबैको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले माटो परीक्षणदेखिका सबै काम सुरु गर्ने वडा कार्यलय र नगरपालिकाको सहयोगमा काम अगाडि बढाईने उहाँले जानकारी दिनु भयोे ।

कृषिविज्ञहरूले बर्तमान अवस्थामा अर्गानिक कृषि उत्पादनको चुनौति र यसको समाधानका बारेमा समेत स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा उपस्थित स्थानीय कृषकहरूले उत्पादन हुने जमिनमा बढ्दै गएको प्लास्टिक जन्य फोहर सिसा लगायतले असर गरेको भन्दै प्लास्टिकका सामग्रीमा प्रतिबन्ध लगाउनु पर्ने माग गरेका थिए ।

आफुहरूले उत्पादन गरेको अर्गानिक कृषि सामानले बजार नपाउने तर भारत बाट आयातित बिषादियुक्त उत्पादनले बजार लिएको उल्लेख गरे । समयमै मल बीउको अभाव सिंचाईको अभावका कारणले पनि उत्पादन गर्न नसकिएको कृषकको गुनासो थियोे । पुराना स्थानीय बीउ बिजन लोप हुँदै गएकोमा पनि कृषक वर्गको चिन्ता थियोे । युवा पलायन, जमिन बाँझै, उत्पादन भन्दा लगानी बढी, लगाएको खेतीको असुरक्षा र कृषि पेसाप्रति समाजले हेर्न हेलाको दृष्टिकोणले गर्दा कृषिमा सफलता मिल्न सकेको छैन ।