वासिंगटन, (एजेन्सी)
भारत पाकिस्तानबीच हवाई संघर्षका क्रममा पाकिस्तानको १ एफ १६ विमान खसालेको भारतीय सेनाको दाबीलाई गलत भएको प्रमाणित गर्ने एक दाबी अमेरिकी अखबारले गरेको छ।
भारतको सैन्य कारबाहीको उक्त सफलतालाई लिएर भारतको लोकसभा चुनावमा सत्तारुढ दलका लागि प्रमुख राष्ट्रवादी मुद्दाका रुपमा प्रचार भइरहेको बेला उक्त समाचारले नयाँ तरंग ल्याउन सक्ने अनुमान गरिएको छ।
अमेरिकाको एक अखबारले अमेरिकाले पाकिस्तानको एफ १६ विमानको गणना गरेको र उसले त्यहाँ पुरै संख्यामा उक्त विमान पाएको उल्लेख गरेको छ। संघर्षका क्रममा भनिएको जस्तो कुनै विमान बेपत्ता भएको नदेखिएको अखबारले जनाएको छ।
गत फेब्रुअरी २६ मा भारतले पाकिस्तान सीमामा प्रवेश गरी अतिवादी इस्लामिक ठेगानालाई निसाना बनाइ हवाई कारबाही गरेको थियो। फेबु्रअरी २७ मा पाकिस्तानको एफ १६ विमानले भारतको सीमा उल्लंघन गरेको थियो। भारतीय विमानले जवाफी कारबाही गर्दै पाकिस्तानको एक एफ १६ विमान खसालेको दाबी गरेको थियो।
भारतविरुद्ध अमेरिकी विमान प्रयोग भएकोमा अमेरिकाले आपत्ति जनाउँदै आइरहेको थियो। तर पाकिस्तानले त्यसलाई अस्वीकार गर्दै भारतले गलत प्रचार गरिरहेको आरोप लगाएको थियो। अमेरिकी अखबार फोरेन पोलिसीका अनुसार अमेरिकी अधिकारीहरूलाई एफ १६ विमानको गणना गर्न पाकिस्तानले बोलाएको थियो। अमेरिकी अधिकारीहरूले गरेको गणनामा पाकिस्तानमा एफ १६ विमानको संख्यामा कुनै कमी नपाएको अखबारका संवाददाता लारा सेलिगम्यानले बताए। यो भारतले गर्दै आइरहेको दाबीको ठीक उल्टो नतिजा हो।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अखबारले पाकिस्तानमा एफ १६ विमानको गणना पुरा भएको जनाएको छ। गन्तीमा पुरा विमान सुरक्षित रहेको अधिकारीले बताएका छन्। यद्यपि अमेरिकी रक्षा विभागले अहिलेसम्म पाकिस्तानमा एफ १६ विमानको गन्तीका विषयमा कुनै विज्ञप्ती जारी गरेको छैन।
पाकिस्तानले लगातार आफूले उक्त जवाफी कारबाहीमा एफ १६ लडाकू विमानको प्रयोग नगरेको दाबी गर्दै आइरहेको थियो। पाकिस्तानले भारतद्वारा उसको एक विमान खसालेको दाबीलाई पनि अस्वीकार गरेको थियो।
विमान गणनाको मामिलामा म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर विपिन नारंगले थप जानकारी आउने क्रमसँगै भारतका लागि कठिनाइ बढ्न सक्ने बताए। यसले भारत पाकिस्तानविरुद्ध कडा कारबाही गर्न असफल भएको तथ्य बाहिर ल्याउनेछ। तर एक विमान र हेलिकप्टर खसालेको विषयमा प्रक्रिया जारी रहेको उनले बताए।











प्रतिक्रिया