रुससँग हतियारको नयाँ होडबाजीमा जान इच्छुक छैन ः स्टोल्टनवर्ग


वासिंगटन, (एजेन्सी)
नेटो महासचिव जेन्स स्टोल्टनवर्गले आफ्नो सैन्य गठबन्धन रुससँग हतियारको नयाँ होडबाजीका लागि इच्छुक नभएको बताए। उनले रुससँग ऐतिहासिक हतियार नियन्त्रण सन्धीको पालना गर्न पनि आग्रह गरेका छन्।

उत्तर एटलान्टिक सैन्य गठबन्धन नेटोका ७०औं वर्षगाँठका अवसरमा वासिंग्टनको यात्राका क्रममा स्टोल्टेनवर्गले अमेरिकी कांग्रेसको सयुक्त बैठकलाई बुधबार सम्बोधन गरेका थिए। उक्त सम्बोधनमा उनले भने– ‘हामी हतियारको नयाँ दौड चाहँदैनौं, न त हामी नयाँ शीतयुद्ध नै चाहन्छौं।’

आफ्नो भाषणमा नेटो प्रमुखले रुसका बारेमा पर्याप्त चर्चा गरे। यसैबीच उनले रुसलाई इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेज (आईएनएफ) सन्धीको पालना गर्न पनि आग्रह गरे। अमेरिका र रुसले हतियारको होडबाजीमाथि नियन्त्रण गर्न ३ दशकअगाडि आईएनएफ क्षेप्यास्त्र नियन्त्रण सम्झौतामा हस्ताक्षेर गरेका थिए।

स्टोल्टनबर्गले भने– ‘म रुसलाई आर्ईएनएफ सन्धीको पालनाका लागि लगातार अपील गर्दछु। नेटोको युरोपको जमिनमा आधारित क्षेप्यास्त्र तैनाथ गर्ने कुनै मनसाय नभएको पनि उनले बताए।

केही महिनाअगाडि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका परमाणु क्षेप्यास्त्र नियन्त्रण गर्ने सम्बन्धी उक्त सन्धीबाट अमेरिका हट्ने निर्णय गरेको घोषणा गरेको थियो। यसका लागि रुस जिम्मेवार भएको र उसले लगातार उक्त सन्धीको उल्लंघन गर्दै आइरहेको आरोप लगाएका थिए।

त्यसको केही समयपछि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पको उक्त नीतिको आलोचना गर्दै मस्को पनि उक्त सन्धीबाट बाहिरिन बाध्य भएको बताएका थिए।