“डिमान्ड” होइन “डिजर्भिङ”


कमल ढकाल
एक टिम भनेको धेरै हात र एक दिमागको जोड हो, जब कुनै कार्यमा एक दिमाग र हजारौं हात लाग्छ त्यसले करोडौं मान्छे रूपान्तरण हुन्छन्।’ कहीं कतै सुनेको यो भनाइ नसुनीकनै नभनीकनै एक दिमाग काम गरिरहेको छ। राजधानीको व्यस्त ठाउँ राष्ट्रिय सभा गृहअगाडि बसिरहेको पाइन्छ त्यो मान्छे।

को हुन् त्यसरी काम गर्ने त्यहाँ? प्रश्न आइहाल्छ। उनी हुन् १० वर्षीया बेदा र ४ वर्षीया इभाराका बाबु। उनी हुन् नम्रता पाण्डेका श्रीमान्। उनी हुन् बर्दिया निवासी तुलाराम र तारादेवी जोशीका छोरा। ६ जना दिदीबहिनीका एकमात्र दाजुभाइ।

यी सबैले पनि नचिनिँदा चिनिने नाम हुन् दीपकराज जोशी। नेपाल पर्यटन बोर्डका सीईओ, भिजिट २०२० का अभियन्ता। बाबुआमाले ६ दिदीबहिनीमा एकमात्र छोरा जन्मेकाले घरको दीपक बनून् भनेर राखेको नाम होला दीपक। उनी अहिले राष्ट्रकै दीपक बन्ने अभियानमा छन्।

मान्छे भेट्दा नै हो मान्छेलाई ऊर्जा आउने। एक ऊर्जावान व्यक्तित्व दीपकराज जोशी विश्वास राख्दा रहेछन् राम्रो गरे राम्रै फर्कन्छ, नराम्रो गरे नराम्रै। ल अफ कर्ममा विश्वास राख्ने जोशी इमानदारीता, लगनशीलता र पारदर्शिताले हरेक दिन फरक, स्वादिलो र नयाँ दिन बन्ने बताउँछन्। भन्छन्– ‘पर्यटन बोर्ड अहिले पर्यटक ल्याउने दौडमा छ, २०२० को लक्ष्यसहित लम्किरहेको छ।’

बर्दिया बगनाहामा जन्मेका दीपक लज्जालु र साहसी थिए। स्वीमिङ नआउने तर भैंसीको पुच्छर समाएर खोला तर्ने, बाटोमै रातभर रुमालले छोपेर सुतेको सम्झना सम्झिँदा उनी आफैंलाई अहिले अनौठौ लाग्दो रहेछ। नेसनल पार्कको वरिपरिको गाउँ हो बगनाहा, त्यही नजिकैको चुरे माविबाट २०४७ मा एसएलसी पास गरेपछि डाक्टर बन्न राजधानी आए। राजनैतिक संक्रमणमा परेको त्यो समयमा काठमाडौंमा राजनीतिले लखेटेपछि लखनउ गए। लखनउमा साइन्समा थोरै नम्बर आएपछि फेरि राजधानी आए। शंकरदेवबाट एमबीए र बीकम गरे।

पढ्दा जागिर नखाने उनको घरको चलन थियो। घरको पैसा नमागी पढ्नुपर्छ भन्ने कता कता भयो र बाल मन्दिरमा भोलेन्टर जब गरे। काम र पढाइ गाह्रो भयो त्यसैले पढाइ छाडे। एमबीए सकेको मात्र के थिए टुरिजम बोर्डमै अफिसर भए। यो हो लगभग १९ वर्षअघिको कथा। अहिले पनि पुरानो बानी उनीसँगै हिँडेको छ। नयाँ ठाउ घुम्न, नयाँ मान्छे भेट्न र बुढापाकाको कुरा सुन्न मज्जा आउँथ्यो, आउँछ उनलाई। साथीहरू पनि तँ सानैदेखि पर्यटनमा रुचि राख्ने मान्छे होस् भन्थे।

उनी पनि रहस्य रोमाञ्चकताले भरिएको यो दुनियाँमा हराउँदै टुरिजम बोर्डमै व्यस्त थिए। त्यहीं खुल्यो सीईओको भ्याकेन्सी। उनी सीईओ हुन्छु भनेर सोचेका थिएनन्। फर्म बुझाउने अन्तिम दिन उनले क–कसको फर्म भरिएछ भनेर हेर्दा आफैंलाई बढी योग्य लागेर बेलुकी फर्म बुझाए। संयोग लडीबुडी गर्दै आयो र उनलाई सीईओ बनायो।

१८ जना बाट १२ जनाको सर्ट लिस्ट भयो। भूकम्प, नाकाबन्दी, नयाँ संविधान बनेको तर त्यहाँ पनि संक्रमण भएको समय थियो त्यो। टुरिजम खत्तम भएको त्यो समयमा ४ लाख पनि पर्यटक आउँदैनथे।

भताभुंग घरको लथालिंग चाला भनेजस्तै थियो। त्यही समयमा दीपकले शुरू गरे निजी क्षेत्रको सहकार्यमा ‘नेपाल नाउ अभियान’ अर्थात् अहिले नेपालमा। उनले गरेको त्यो कार्य संसारभरि क्राइसिसको मोडल बन्यो। वेबसाइट र सोसियल साइटमा पर्यटकले नै नेपालमा आएर म नेपालमा छु, यस्तो भइरहेको छ हाल्न थाले। ती पर्यटकका अरू साथीले सेयर गरे, कमेन्ट गरे। ए अरूले भनेजस्तो त नेपालमा असुरक्षा रहेनछ भनेपछि बिस्तारै पर्यटक बढे। फेरि दीपककै अगुवाइमा संसारभरका विभिन्न सेलिब्रेटी ल्याएर नेपाल घुमाइयो। उनीहरूले पनि आफ्नो क्षेत्रबाट प्रचार गरे।

नेपालभित्रै पनि रारालगायतका डोमेस्टिक टुरिजम बढाउन मद्दत गरे। अहिले रारामा प्रत्येक वर्ष ३५÷४० हजार जान्छन्। विगत तीन वर्षमा २५ देखि ३० प्रतिशत डोमेस्टिक टुरिजम बढेको छ। संसारका परिचित संस्थाले संसारमा सबैभन्दा चाँडो प्रगति गरेको पर्यटकीय देश नेपाल भनेर इंगित गरेका छन्। दीपक बताउँछन्– ‘१० लाख भन्थ्यौं हामी, अहिले १२ लाख पुगिसक्यो।’

डिमान्ड होइन डिजर्भिङ हुनपर्छ भन्छन् दीपक। डिमान्ड गर्दा कम पनि पाइन सकिन्छ तर डिजर्भिङ गर्दा डिमान्डभन्दा बढी पाउन सकिन्छ, यो उनको नितान्त व्यक्तिगत दर्शन रहेछ। नेपालमा राम्रो गरौं भन्दा आत्तिन सक्ने समाज बनेको छ। यहाँ प्रिन्सिपल बेसभन्दा ट्याक्टिकल बेस म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ। यस्तो ठाउँमा दीपकजस्तो सरल व्यक्तिले कसरी काम गर्न सक्छन् जस्तो लाग्छ तैपनि उनी भन्छन्– ‘म डिमान्ड गर्दिनँ, डिजर्भिङ बन्छु।’ आफैंबाट निक्लेको उनको यो सूत्रले उनलाई चलाएको रहेछ।

च्यालेन्जले चेन्ज गर्छ। हरेक मान्छे आफ्नै जीवनमा आएको च्यालेन्जले चेन्ज भएका छन्। राम्रो दिन आउन खराब दिनसँग लड्नुपर्छ। हाम्रोमा पनि भूकम्प आयो, १० हजार मान्छे लिएर गयो। दरबार हत्याकान्ड, माओवादी द्वन्द्व यी सबै देशमा भएका च्यालेन्ज हुन्, खराब दिन हुन्। यी सँगै लडेर यसलाई नै प्रयोग गरेर नेपालको पर्यटन कायापलट हुन सक्थ्यो÷सक्छ। माओवादी द्वन्द्वको आधारशीला खारामा यसपाला सिर्जनात्मक लेखन र साहित्यिक पर्यटनको नाममा गइयो। खारामा न डढेका घरहरू थिए, न केही द्वन्द्वका अवशेष नै। सिंगो रुकुममा कहीं कतै माओवादी द्वन्द्व थियो भनेर थाहै पाइएन।

भूकम्प गएको ठाउँ जस्ताको तस्तै राखेको भए पनि लाखौं पर्यटक ओइरन सक्थे। ८ रेक्टरको भूकम्प गएको गोर्खा नयाँ बन्यो। भक्तपुर र काठमाडौंमा पनि भूकम्प गएकै थिएन भन्ने भयो। दरबार हत्याकान्डको पनि कहीं केही अस्तित्व नै देखिँदैन। यी सबै च्यालेन्जले हामीलाई चेन्ज गर्नै सकेन। दीपक भने आफूभित्रको दीपमालिका जगाउँदै आफू र पर्यटनलाई यस्तैमा चेन्ज गर्ने सपना पालेर हिँडेका छन्।

टुरिजम खत्तम भएको त्यो समयमा ४ लाख पनि पर्यटक आउँदैनथे। भताभुंग घरको लथालिंग चाला भनेजस्तै थियो। त्यही समयमा दीपकले शुरू गरे निजी क्षेत्रको सहकार्यमा ‘नेपाल नाउ अभियान’ अर्थात् अहिले नेपालमा। उनले गरेको त्यो कार्य संसारभरि क्राइसिसको मोडल बन्यो।