काठमाडौं उपत्यकाको मौसम डरलाग्दो, भारी वर्षा र हुरीबतासको सम्भावना


काठमाडौँ । आज बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम एकाएक अँध्यारो भएर डरलाग्दो देखिएको छ ।
मौसम अँध्यारिएसँगै भारी वर्षा समेत भइरहेको छ । यससँगै आज देशभरिको मौसम सामान्यदेखि पूर्णतया बदली रहने र वर्षा हुने मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

मैसमविद्का अनुसार नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको हो । पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ ।

देशका केही स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हुरीबतास चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसका साथ वर्षाको सम्भावना पनि देखिन्छ । उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ भने तराइका भूभागहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।

आज राति पनि देशभरिको मौसममा सुधार आउनेछैन । अधिकांश भूभागहरुमा सामान्यतया बदली नै रहने महाशाखाको भनाइ छ । देशका पुर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी भुभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हुरी बतासका साथ वर्षाको सम्भावना रहेको छ । यसैगरी राति उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराइका भूभागहरुमा सामान्यतया हुरीबतास चल्ने सम्भावना रहेको छ ।