सामान्य बन्दै हुरीबतास प्रभावित क्षेत्रको जनजीवन


गोकुल घोरसाइने, बारा
पचौरता नगरपालिका–७ बेनौलीका नवलकिशोर पटेल हावाहुरीले भत्काएको घरको अगाडि बसेर बाँसको भकारी बनाउँदै थिए। घरसँगै हुरीबतासले भकारी पनि उडाएपछि पटेल दाताबाट पाएको खाद्यान्न राख्न नयाँ भकारी बनाउने तयारीमा लागेका हुन्। ‘चिन्तामा बसेर मात्र पुग्दो रहेनछ’, उनले भने– ‘जे हुनु भइसक्यो अब आफै सम्हालिएर घरव्यवहार चलाउनुपर्छ।’ उनले लडेको खामा उठाएर त्रिपालको छानासहित यसअघि नै भत्केको घर बस्न मिल्ने गरी तयार परिसकेका छन्।

हुरीले घरबार उजाडिएका पटेलजस्तै हावाहुरी प्रभावित बाराका पीडितहरू यति बेला आफ्ना भत्केका घरगोठ मर्मतसम्हार गर्दै दैनिक आवश्यक सामग्रीहरूको जोरजाममा लाग्न थालेका छन्।

दाता र स्वयंसेवी समूहहरूको सहयोग जुटने क्रम बढेपछि पीडितहरूलाई जनजीवन सामान्य अवस्थामा फर्काउन मद्दत गरेको छ। पछिल्लो ३ दिनयता प्रभावित क्षेत्रमा सरकारी, स्थानीय तह, गैरसरकारी संघसंस्था र राजनीतिक दलबाट राहत सहयोग आउने क्रम बढेको छ। नेपाल आर्मीसहितका सुरक्षाकर्मी र राजनीतिक दलका युवाहरू भग्नावशेष सम्याउने र अस्थायी बसोबासको व्यवस्थापन गर्ने काममा सक्रिय छन्।

हुरी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको ७ सय १९ मध्ये ६ सय १ वटा चिनियाँ टेन्ट राख्ने कार्य पूरा भएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक प्रकाश थापाले बताए। १ सय १८ वटा गाड्न बाँकी रहेको उनले बताए। ‘अपुग स्थानका लागि थप आउने क्रममा छ’, उनले भने– ‘स्थानीय र पीडितको समन्वयमा सबै टेन्ट नेपाली सेना र सशस्त्र प्रहरीले गाडेको छ।’ नेपाली सेनाले सुवर्णको हर्दिया र सशस्त्रले महागढीमाई नगरपालिका–७, तेलगाईंमा नगर प्र्रहरीसँंगको समन्वयमा पीडित ८ स्थानीयलाई विद्यालयमा राखेर ५ दिनदेखि खानाको मेस सञ्चालन गर्दै आएको छ। मारवाडी समुदाय र फेटा गाउँपालिकाले प्रभावित वडाहरूमा निःशुल्क खानाको व्यवस्था मिलाएको छ। सत्तारूढ नेकपा निकट युवा संघको छुट्टाछुट्टै टोलीले फेटा र सुर्वण गाउँपलिकाका विभिन्न स्थानमा भत्केका घरको भग्नाभवशेष पन्छाउने र घर ठड्याउने काममा ३ दिनदेखि सहयोग गर्दै आएका छन्।

पीडितलाई दातृ निकाय नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन), केयर नेपाल र एक्सन एडले संयुक्तरूपमा ६४ लाख बराबरको राहत सामग्री वितरण गरेको छ। देवताल गापाको रमपुर्वामा प्रत्येक परिवारलाई १३ हजार ३ सय ८४ रुपियाँ र फेटामा प्रत्येक परिवारलाई ७ हजारको दरले कुल ७ सय ५० परिवारलाई उक्त रकम बराबरको राहत सामग्री वितरण गरिएको हो। हाइजेनिक किट, किचेनको भाँडाबर्तन, बेबी प्याक, पानी शुद्धीकरण सामग्री, अस्थायी आवास निर्माण गर्ने सामग्री, ब्ल्यांकेट, म्याट, साडीलगायतका सामग्रीहरू वितरण गरिएको आरआरएनका जिल्ला संयोजक विपिन दासले बताए।

त्यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिले सञ्चालन गरेको राहत कोषमा रकम जम्मा हुने क्रम पनि जारी रहेको छ। शुक्रबार दिउँसोसम्म ९ लाख ७२ हजार राहत रकम संकलन भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत मुरारी कार्कीले जानकारी दिए। कोषमा जगदम्बा स्टील्स प्रालि सिमराले सबैभन्दा बढी १ लाख ५० हजार र काठमाडौंका मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले १ लाख नगद राहत सहयोग दिएको उनले बताए। नयाँशक्ति पार्टीका अध्यक्ष पूर्वप्रधामन्त्री बाबुराम भट्टराईले पीडितहरूको राहतका लागि प्रदेश सरकारलाई ५ लाख नगद उपलब्ध गराएका छन्।

यसैगरी पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (संयुक्त) ले पीडितहरूलाई सहयोग गरेको छ। नेपाल तेली कल्याण समाजले मृतक परिवारलाई जनही ५ हजारको दरले मृतक परिवारको घरमै पुगेर उपलब्ध गराएको छ। त्यसैगरी बारा र पर्साका हावाहुरी प्रभावितलाई प्रदेश १ र ५ सरकारले एक÷ करोड रूपियाँ सहयोग गर्ने भएको छ। प्रदेश ५ मन्त्रिपरिषद् बैठकले हावाहुरी प्रभावितलाई उल्लेखित रकम दिने निर्णय गरेको हो। प्रदेश ३ सरकारले पनि यसअघि प्र्रभावितहरूका लागि १ करोड सहयोग गर्ने मुख्य मन्त्री डोरमणी पौडेलले घोषणा गरेका छन्।

प्रदेश ३ का नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले शुक्रबार पचरौता नगरपालिका र सुवर्ण गाउँपालिकाका २ सय हुरीपीडितलाई करिब ७ लाख रूपियाँ मूल्यबराबरको भाँडाकुडा, खाद्यन्न, त्रिपाल र म्याट वितरण गरेका छन्। यसैगरी कांग्रेसले उपलब्ध गराएकोे त्यस्तै खाले राहत सामग्री नेता प्रदीप पौडेलको नेतृत्वमा वितरण गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको छुट्टाछुट्टै रहेको श्रीमती संघले खाद्यन्न, कपडा, साबुन, औषधी, त्रिपाल, पानी फिल्टर गर्ने मेसिनलगायतको सामग्री वितरण गरेको छ।

स्थानीय प्र्रशासनले मिलाएको एकद्वार प्रणालीमार्फत राहत वितरण हुदै आएको हो। राहत वितरणलाई प्रभावकारी तुल्याउन जिल्ला प्रशासन कार्यालयले कार्यालयमा जानकारी गराएर मात्र बितरण गर्ने प्र्रबन्ध मिलाएको छ। ‘यसअघि जेजस्तो भयो भयो, शुक्रबारबाट जिल्ला प्रशासन कार्यालयमार्फत पीडितको घरमा राहत पठाइएको छ,’ उनले भने– ‘यो व्यवस्थाले कोही दोहोरिने र कसैले पाउँदै नपाउने अवस्थाको अन्त्य गर्नेछ।’

प्रमुख जिल्ला अधिकारी राजेश पौडेललेले सरकरी निकाय र दातृसंस्थाबाट सहयोग प्र्राप्त हुने क्रम जारी रहेको र पीडित सर्वसाधारणको जनजीवन सामान्य अवस्थामा फर्किंदै गरेको बताए।