संघनायक भिक्षु अश्वघोषको निधन, आइतबार दाहसंस्कार गरिने


सुनील महर्जन, काठमाडौं
नेपालका संघमहानायक भिक्षु अश्वघोष महास्थविर रहेनन्। ९३ वर्षको उमेरमा शुक्रबार दिनको साढे १ बजे टोखास्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलमा उहाँको निधन भएको छ। हस्पिटलको सघन उपचार कक्षमा उपचार गराइराख्नुभएका भिक्षुको स्वास्थ्य तीन सातादेखि गम्भीर बन्दै गएको थियो।
न्यून रक्तचाप, मृर्गौला र मुटुमा समस्या तथा कलेजोमा पानी जमेको उपचार गराउँदा गराउँदै भिक्षुको निधन भएको चिकित्सक अमित गौलीले जानकारी दिनुभयो।

डेढ महिलाअघि झाडापखाला लागेर अस्पताल जमलस्थित ग्रान्ड सिटी अस्पतालमा उपचार गराउनुभएको थियो। भिक्षुको स्वास्थ्यस्थित क्रमशः गम्भीर बन्दै गएपछि तीन साताअघि ग्रान्डी अस्पतालमा लगिएको थियो। केही साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो।

बुद्धको धर्मका विविध पक्षलाई सामाजिक, व्यावहारिक र जीवनपयोगी जोडेर अध्ययन गर्ने धाराको शुरूआत गर्नुभएका भिक्षु अश्वघोषलाई प्रगतिशील र सक्रिय भिक्षुका रूपमा चिनिन्छन्। चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङसँगको भेटघाटबाट निकै प्रभावित भएका भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रिय सभाका सदस्य हुनुहुन्थ्यो। लोकतन्त्र र समानताको पक्षमा खरो र निर्र्भीक वतmाका रूपमा चिनिएका भिक्षु अश्वघोष महास्थविरले दुई वर्ष राष्ट्रियसभा निर्वाह गरेको भूमिकालाई सम्झिनेहरू कम छैनन्।

२०४७ सालमा असारमा तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीले उहाँको क्षमता र प्रतिभालाई कदर गर्दै राष्ट्रियसभामा उहाँलाई प्रवेश गराउने निर्णय गर्नुभयो। त्यतिबेला राष्ट्रियसभामा एक जना गेरुवावस्त्र लगाएको भिक्षुको उपस्थितिलाई धेरैले आश्चर्य प्रकट गरेका थिए। सदनमा भिक्षुको उपस्थिति धेरैका निम्ति आकर्षक, रोचको विषय बनेको स्मरण गर्दै नेकपाका नेता एवं सांसद् कृष्णगोपाल श्रेष्ठले भन्नुभयो– ‘सदनमा एकातिर मदन भण्डारी र अर्कोतर्फ भिक्षुको भाषण धेरैका निम्ति रुचिकरको विषय थियो।’ भिक्षुकोे स्पष्ट बोलीले सभाको एक निर्र्भीक र कुशल वक्ताका रूपमा स्थापित गराएको पनि सांसद श्रेष्ठले बताउनुभयो।
‘धर्मनिरपेक्षता, प्रजातन्त्रलाई सबैले अनुभूत गर्न जातीय, भाषिक र धार्मिक समानताको पक्षमा उहाँ मन्तव्य निकै खरो हुन्थ्यो। यसले एउटा जागरण ल्याएको थियो।’ त्यतिबेलाको क्षणको स्मरण गर्दै अन्तिम श्रद्धाञ्जलीका लागि बिहारमा आउनुभएका सांसद श्रेष्ठले भन्नुभयो।

उहाँलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र अर्थमन्त्री भरतमोहन अधिकारीको विशेष जोडमा लुम्बिनी विकास कोषमा उपाध्यक्षमा नियुक्त गरेको थियो। उपाध्यक्षका रूपमा उहाँले निर्वाह गरेको भूमिकालाई त्यतिबेला एमालेका अध्यक्षले मनमोहन अधिकारी (जीवनको अन्तिम क्षणसम्म पनि) ले २०५६ सालको आम निर्वाचनमा ललितपुरको कार्तिक डबलीमा भाषण गर्दा पनि सम्झिनुभयो। चिनियाँ नेता माओत्सेतुङको भेटबाट प्रभावित यी भिक्षु धर्मलाई जीवन र सामाजिक परिर्वतनको माध्यम बनाउनुपर्ने धाराका पक्षपाती हुनुहुन्थ्यो। भिक्षुका करिब डेढ सय पुस्तक प्रकाशित भइसकेका छन्। उहाँ नेपालमा भिक्षु संघको तालिमको अवधारणा भिœयाउनुहुने पहिलो भिक्षु पनि हुनुहुन्छ।

आइतबार दाहसंस्कार गरिने

अन्तिम श्रद्धाञ्जलीका लागि भिक्षु अश्वघोषको पार्थिव शरीरलाई दुई दिनसम्म क्षेत्रपाटी, ढल्कोस्थित संघाराम विहारमा राखिने अखिल नेपाल भिक्षु महासंघले जनाएको छ।

संघ उपनायक भिक्षु ज्ञाणपूर्णिक महास्थविरको सभाध्यक्षमा बसेको अखिल नेपाल भिक्षु महासंघका पदाधिकारीसहितको बैठकले सो निर्णय गरेको हो। उहाँको निर्वाण कामना गर्दै भिक्षुसंघ, भिक्षुणी र उपासक उपासिकाले परित्राण पाठ शुरु गरेका छन्। दुई दिनसम्म अनवरत पाठ हुने बताइएको छ।
आइतबार दिनको १ बजे संघाराम विहारनजिक विजयश्वेरी मन्दिरस्थित कर्णदीपमा बौद्ध परम्पराअनुसार उहाँको दाहसंस्कार गरिने अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौण्डन्यले जानकारी दिनुभयो।

नेपालको बुद्धधर्म, लोकतन्त्रको विकास, शान्ति स्थापना र सामाजिक न्यायको लागि भिक्षु अश्वघोषले पु¥याउनुभएको योगदानको कदर गर्दै सरकारले राजकीय सम्मान दिने प्रबल सम्भावना रहेको पनि सासंदले जानकारी दिनुभयो। यस विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीसंग छलफल भइरहेको पनि उहाँले बताउनुभयो।