हटेन अझै कुष्ठ रोगप्रतिको अन्धविश्वास, पचास वर्षदेखि गोठमै बास


धनवीर दाहाल, रुकुम
रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–३ डार्ने की ६३ वर्षीया तुलसा केसी सानै उमेरदेखि गोठमा एक्लै बस्दै आउनुभएको छ। कारण हो कुष्ठ रोग। तुलसा १३ वर्षकी हुँदा कुष्ठ रोग लाग्यो। दैवी शक्ति लाग्यो भन्दै उहाँका परिवारले धामीझाँक्री गरे।

तर उहाँलाई रोगले च्याप्दै गएपछि हातखुट्टासमेत लुला भए। १३ वर्षको उमेरमा कुष्ठ रोग लागेपछि परिवारले तुलसालाई छुट्टै सानो छाप्रोमा बस्ने व्यवस्था मिलायो। आजभन्दा ५० वर्ष पहिला गाउँमा न कुनै अस्पताल थियो न त उहाँलाई अस्पतालमा पु¥याउनुपर्छ भन्ने चेतना। कुष्ठ रोग लागेपछि घरपरिवारबाट टाढै राख्नुपर्छ भन्ने रूढीवादी परम्पराले अहिले तुलसा मृत्युसँग लडिरहनुभएको छ।

गाउँदेखि टाढा खोलाको बीचमा एउटा छाप्रो छ। सोही छाप्रोमा ६३ वर्षीया कुष्ठ रोगी तुलसा आफ्नो दैनिकी साह्रै कष्टका साथ गुजारिरहनुभएको छ। अझै पनि उमेर भएकाले उपचारका हुन्छ कि भन्ने आशा छ उहाँसँग। मीठो खाना तथा राम्रो बासको व्यवस्था भए आफूलाई पुग्ने तुलसाको भनाइ छ। ‘ठीक पचास वर्ष भयो, म कहिले जंगल त कहिले गोठमा बसें’, उहाँ भन्नुहुन्छ– ‘अलि राम्रो गोठमा बस्न लागेको १० वर्ष भयो।’

उपचारका लागि कसैले पहल नगरेको दुखेस छ उहाँको। उहाँ थप्नुहुन्छ– ‘मलाई धामीझाँक्री त गरेका हुन्। धामीझाँक्रीहरूले पनि केही गर्न सकेनन्।’

केही गर्छु भन्ने उमेरमै रोग लागेपछि केही गर्न नसकेकोमा उहाँलाई पीडाबोध हुन्छ। भन्नुहुन्छ– ‘जिन्दगीभर पीडा सहेर बसेँ, अझै पनि केही उमेर त छ, बाँच्न मन छ तर बचाउने कोही भएन।’
साँझ बिहानको छाकको जोहो त्यही अशक्त अवस्थामै गर्न बाध्य हुनुहुन्छ। उहाँलाई वर्षा, हिउँद तथा गर्मी समय, जुन अवस्था आए पनि पत्तो छैन।

सरकारले कुष्ठरोग निवारण भएको घोषणा गरिसकेको छ। तर अझै पनि दुर्गम बस्तीहरूमा कुष्ठरोगीहरू भेटिन्छन्। पुरानो रुढीवादी परम्परा समाजमा यथावत् हुँदा तथा सचेतनाको अभावले तुलसाजस्ता अरू पनि कुष्ठरोगीले दुःख पाइरहेका छन्।