लार्के र यांग्रीको अन्तिम मस्यौदा तयार


नेपाल समाचारपत्र
काठमाडौं
मेलम्ची खानेपानी विकास समितिले लार्के र यांग्री खोलाको पानी काठमाडौं ल्याउन बनाइएको डिजाइनको ड्राफ्टलाई अन्तिमरूप दिएको जनाएको छ।

उक्त ड्राफ्ट तयार भएर छलफलकै क्रममा थियो। यसअघि करिब ६ महिनादेखि उक्त ड्राफ्टमाथि छलफल चल्दै आएको थियो।

ड्राफ्टमा विशेष गरी मेलम्चीको सुरुङ खन्दा प्रयोग गरिएको प्रविधिलाई अपनाउन सकिने भनिएकोमा टनेल बोरिङ मेसिनजस्ता नयाँ प्रविधिको प्रयोग गर्न सुझाव दिइएको थियो।

६ महिने लामो छलफल र अध्ययनपछि त्यही सुझावलाई समेत प्राथमिकतामा राखेर परामर्शदाताले उक्त ड्राफटलाई अन्तिमरूप दिइएको समितिका सूचना अधिकारी राजेन्द्र पन्तले बताउनुभयो।
मेलम्चीको पानी काठमाडौं ल्याइसकेपछि दोस्रो चरणमा लार्के र यांग्रीको ल्याउने भनिएको छ। तर मेलम्चीको कामसमेत ठप्प भएपछि थप अन्योल सिर्जना भएको छ।

लार्के र यांग्रीको डिजाइन भने स्पेनी परामर्शदाता इप्टिसाले तयार पारेको हो। इप्टिसाले बुझाएको डिजाइनमा एसियाली विकास बैंकले समेत नयाँ प्रविधि अपनाएर सुरुङ खन्ने डिजाइन बनाउन सुझाव दिएको थियो। टनेल बोरिङ मेसिनले सुरुङ खन्न बैंक प्रतिनिधिले सुझाब दिएको थियो।
उक्त समय सुरुङ खन्ने प्रविधिदेखि आयोजना सञ्चालन, ठेकेदार छनोटलगायत विषयमा कसरी अघि बढ्ने भन्ने बारे कुरा उठेको उहाँले बताउनुभयो। छलफलअनुसार सुरुङमा खन्दा टनेल बोरिङ मेसिनको प्रयोग, सक्षम निर्माण कम्पनी छनोट गर्नेमा एक मत रहेको छ।

उहाँका अनुसार समिति अहिले मेलम्चीले भोगिरहेको दुरवस्था लार्के र यांग्रीले भोग्न नपरोस् भनेर विस्तृत छलफलमा रहेको छ।
इप्टिसाले सन् २०१७ जनवरीबाट डिसेम्बरसम्म सम्पन्न गर्ने गरी डीपीआरको काम थालेको थियो। तर निर्धारित समयभित्र डीपीआर तयार नभएपछि आयोजनाले इप्टिसालाई ६ महिना समय थप गरेको थियो।

समितिले मेलम्चीपछि लार्के र यांग्री खोलाको पानी काठमाडौं ल्याउन तीव्र तयारी थालेको छ। समितिले दुवै खोलाको पानी सुरुङ मार्ग हुँदै दैनिक १७÷१७ करोड गरी ३४ करोड लिटर ल्याउन तयारी गरेको हो।

यांग्री खोलाबाट मेलम्ची खोलामा पानी खसाल्न ९ किलो मिटर सुरुङ र लार्के खोलाबाट यांग्रीमा पानी खसाल्न २ किमि गरी जम्मा ११ किमि सुरुङ खन्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ।
मेलम्चीको २७ किमि सुरुङ ड्रिल एन्ड ब्लास्ट प्रविधिबाट खनेको थियो। यो प्रविधिको विकल्पमा छिटोछरितो तरिकाले सुरुङ खन्न टनेल बोरिङ मेसिन प्रयोग उचित मानिएको छ।

हाल ड्राफ्टमा रहेको डिजाइनमा यी दुवै प्रविधिलाई अपनाउन सकिने गरी डिजाइन बनाएको समितिले जनाएको छ।