ढकिया, टोकरी बनाउने पेशा संकटमा, उत्पादन तथा प्रर्वद्धनमा स्थानीय सरकार मूकदर्शक

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
बजारको अभावमा कञ्चनपुरका राना थारुहरुको ‘ढकिया तथा टोकरी’ बनाउने पेशा नै संकटमा पर्दै गएको छ । उचित बजार क्षेत्र नहुँदा भीमदत्त नगरपालिका–१४, नयाँबस्तीमा रहेका राना, थारु समुदायको घाँसका ‘ढकिया तथा टोकरी’ बनाउने पेशा नै संकटमा पर्दै गएको हो ।

नयाँबस्तीका स्थानीय राना, थारु समुदायका मानिसले बनाउने घाँसका आकर्षक सामानहरुले उचित बजार पाउन सकेको छैन । स्थानीय सा्रेत साधनको प्रयोग गरेर निर्माण गरिने घाँसका सामानहरुले उचित बजार नपाउदा यस पेशामा लागेका राना, थारु समुदायका मानिसहरु अन्य पेशातर्फ नै पलायन हुन थालेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक रहेको नयाँबस्तीका स्थानीयहरुले यहाँको स्थानीय सा्रेत साधनबाट कलात्मक ढङ्गले निकै सुन्दर तथा आकर्षक सामानहरु निर्माण गर्दछन् तर बिडम्बना उनिहरुको उक्त सामानले उचित बजार पाउन सकेको छैन । यदि बजार पाइहाले पनि उचित मिहेनत अनुसारको मुल्य नपाउँदा व्यवसायीहरु मारमा परेका छन् । बजारका साथै प्रचार प्रसारको पनि कमि महशुस गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने एक प्रकारको घाँसको प्रयोग गरेर निर्माण गरिने सामानहरुले सदरमुकाम महेन्द्रनगरमा बजार नपाउँदा त्यसै थन्काएर राख्नु पर्ने अवस्था सृजना भएको छ ।

‘घाँसको प्रयोगबाट विभिन्न प्रकारका सामानहरु निर्माण गर्छौ, यहि समान बिक्रि गरेर आएको पैशाबाट सामान्य घर खर्च मात्र चल्ने गरेको छ, बजारको अभाव हुँदा सोचे जति आम्दानी गर्न सकिएको छैन ।’ एक जना व्यवसायी सोनिया थारुले भनिन् । यस्तै उनले अगाडि थपिन, ‘कहिले काँही कोही यतै गाउँमा आएर किन्ने गर्छन, धेरै जसो गाउ कै मानिसहरु किन्छन् , हामीले बजार नपाउँदा गाउँ मै बेच्ने गर्छौ, मागे जति मुल्य पनि पाइन मुस्किल पर्छ ।’

निकै कम लगानीमा कलात्मक रुपमा घाँसबाट विभिन्न डिजाइनमा थारु संस्कृतिका साथै अन्य संस्कृतिका सामानहरु निर्माण गर्ने गरिएको छ । बिभिन्न तालिमबाट सिकेको सीपको प्रयोग गर्दै कलात्मक रुपमा थारु संस्कृतिका गमला, टपरी, बेग खुक्रुके, मसला दानी, चिया चकटी, थाल चकटी, पैशा राख्ने पर्सहरु बनाइने गरेको सोनिया थारुले बताइन ।

झण्डै ५÷६ बर्ष अगाडिदेखि यस्ता सामान बनाउन सुरु गरेकी बर्दियाको ठाकुरद्धार नगरपालिका–९ की सोनिया थारुले यहाँका राना थारुहरुलाई समुहमा राखेर तालिम प्रदान गरिरहेकी छन् ।

बर्दियाबाट कञ्चनपुर आउने क्रममा त्यहीबाट ल्याएको समानबाट यहाँका स्थानीयलाई उनले तालिम दिन सुरु गरेकी हुन । ३ बर्षदेखि ‘ढकिया तथा टोकरी’ बनाउने तालिम दिइरहेकी थारुले सुनाइन । ‘पेशा राम्रो छ तर यसको उचित बजार नहुँदा हामी व्यवसायका रुपमा यसलाई अंगाल्न सकिरहेका छैनौँ ।’उनले भनिन् ।

घाँसका कलात्मक सामानहरुले उचित बजार पाएमा आर्थिक रुपमा पछाडि रहेका राना, थारुहरुलाई आर्थिक रुपमा सबल बनाउने देखिएको छ । बजारको अभाव हुँदा राना, थारु समुदायका मानिसहरु पेशा अंगाल्ने की छोड्ने भन्ने दोधारमा परेका छन् । पेशालाई व्यवसायिक तवरले अंगाल्न सकेमा उनिहरुको आर्थिक स्थित सवल बन्न सक्ने देखिन्छ, जसका लागि स्थानीय सरोकारवाला निकायले ध्यान दिनु जरुरी छ ।

मायाको चिनोमा घाँसको सामान

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकनको लागि आएका आन्तरिक तथा बाह्य पर्यटकहरुले राना, थारु समुदायले निर्माण गरेका घाँसका सामानहरु निकै मन पराउने गरेका छन् ।

राना थारु ‘होमस्टे’ तथा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आएका पर्यटकहरुलाई स्थानीयहरुले सम्झनाका लागि घाँसले बनेका सुन्दर सामानहरु ‘मायाको चिनो’का रुपमा दिने गरेका छन् ।

स्थानीय संस्कृतिका विभिन्न सामानहरु पर्यटकहरुलाई मायाको चिनोका रुपमा दिने गरिएको स्थानीय अनुमति रानाले बताइन ।

‘ढकिया–टोकरी’ बनाउने सम्बन्धि तालिम

भीमदत्त नगरपालिका–१४ स्थित नयाँबस्तीका राना, थारुलाई घाँसबाट विभिन्न घरायसी उपयोगका सामान बनाउन सिकाउन ७ दिनको तालिम आयोजना गरिएको छ । क्षेत्रीय शहरी विकास आयोजना, आयोजना कार्यान्वयन सहयोग ईकाइ भीमदत्त नगरपालिकाले त्यहाँका राना, थारुहरुको सीप बृद्धिका लागि तालिम आयोजना गरेको हो ।

तालिममा त्यहाँका स्थानीय २४ जना राना, थारुहरुको सहभागीता रहेको बडा नम्बर १४ की बडा सदस्य बसन्ती रानाले बताइन । उनका अनुसार चैत्र १८ गतेदेखि सुरु भएको तालिममा सहभागीहरुले विभिन्न डिजाइनका घाँसका सामान निर्माण गर्न सिकिरहेका छन् ।

उनिहरुलाई बर्दियाको ठाकुरद्धार नगरपालिका–९ की सोनिया थारुले सामान बनाउने तालिम दिइरहेकी छिन ।