लथालिङ्ग पार्किङ ! भीनपा र ट्राफिक प्रहरीको लापरबाही


मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा सवारी साधनको लथालिङ्ग पार्किङले गर्दा बजार क्षेत्र अस्तव्यस्त हुँन थालेको छ । भीमदत्त नगरपालिका भित्र पर्ने उक्त महेन्द्रनगर बजार क्षेत्रमा साघुँरा गल्ली र पार्किङका लागि स्थान उपलब्ध नहुँदा समस्या देखिन थालेको हो ।

कञ्चनपुरको सदरमुकाम तथा प्रमुख सहर भनेर चिनिने महेन्द्रनगरमा पार्किङका लागि प्रर्याप्त स्थान नहुँदा समस्या देखिन थालेको हो ।

प्रति वर्ष सवारी साधनहरुको बढ्दो चाप छ । तर बजार क्षेत्रमा सडक विस्तार र ठाउँ ठाउँमा पार्किङका लागि खालि जमिन समेत नहुँदा, यातायातका दुई पांग्रे, तिन पांग्रे र चार पांग्रे साधनलाई समेत सडक मै पार्किङ गर्नु पर्ने अवस्था रहेको छ ।

पछिल्लो तीन वर्ष यता तीन पांग्रे अटो रिक्साको संख्या पनि पाँच हजार बढी पुगेको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका इन्सपेक्टर भरत शाहले बताए ।

‘सवारी साधन अधिक मात्रामा प्रयोगमा छन्, तर सडकको व्यवस्थापन र बजारमा रहेका साघुरा गल्लीमा सिस्टमेटिक तरिकाले पार्किङका लागि वातावरण नबनेकाले समस्या देखिएको छ’ उनले भने । भीमदत्त नगरपालिका संग सहकार्य गरेर महेन्द्रनगरको ट्राफिक व्यवस्थालाई मजबुद बनाउनका लागि पहल गरिरहेको शाहले बताए ।
महेन्द्रनगर बजार क्षेत्र लगायत गड्डाचौकी देखि भासी सम्मको राजमार्ग क्षेत्रमा सवारीको बढी चाप हुँने गरेको छ । त्यसैले बजार क्षेत्र लगायत पुर्व–पश्चिम राजमार्गमा ट्राफिक प्रहरीले सक्रियता अझै बढाउनु पर्ने स्थानीयको गुनासो छ ।

बजारमा मोटर साइकल पार्क गर्ने सम्मको पनि ठाँउ छैन । गल्लीका पसल अगाडि पट्टि सवारी साधन पार्किङ गर्नाले सडकमा हिडडुल गर्ने सर्व साधारणलाई समेत मर्का परेको नयाँ नेपालका सञ्चालक हेमराज जोशीले बताए ।

भीमदत्त नगरपालिकाले बजार क्षेत्रमा पार्किङका लागि उपयुक्त किसिमको रणनीति नअपनाउँदा विभिन्न दुर्घटनाहरु समेत हुँने गरेका छन् । साघुरा गल्लीहरुमा ठेलाहरुलाई समेत नगरपालिकाले घुमन्ते बनाए पछि दुर्घटनाहरु झनै बढेको स्थानीय व्यापारी लक्ष्मी जोशीले बताए ।
तीसको दशकमा बसाइएको यो बजारमा व्यापारिक क्षेत्र, आवासीय क्षेत्र लगायत पार्क समेत निर्माण गरिएको छ । तर केही वर्ष यता महेन्द्रनगर नगर विकास समिति मातहत रहेको जमिन जथाभावी लिजमा दिंदा बजार नै कुरूप हुने अवस्थामा पुगेको हो ।

पार्किङ अस्तव्यस्त र लथालिङ्ग हुँदा पैदल यात्रा गर्ने यात्रुहरुलाई निकै सकस हुँने गरेको सिद्धनारायण आचार्यले बताए ।

सरोकारवाला निकायले तरकारीका ठेला, आइसक्रिमका ठेला र अन्य सडकको ठुलो भू–भाग ओगट्ने ठेलाहरुको उचित किसिमको व्यवस्थापन हुँन नसक्दा पनि पार्किङमा झनै समस्या थपिएको हेल्प नेपालका अध्यक्ष मदन चन्दले बताए ।

भीमदत्त नगरपालिकाले भने तत्काल पार्किङस्थल निर्माणभन्दा पनि भित्री गल्लीहरूलाई ढलसँगै पार्किङस्थलका रूपमा व्यवस्थित गर्ने काम सुरु भएको जनाएको छ ।