पचास बर्षदेखी गोठमै बास


धनवीर दाहाल,रुकुम ।
रुकुम पश्चिम बाँफिकोट गाँउपालिका ३ डार्ने की ६३ बर्षिया तुलसा के.सी सानै उमेरदेखी गोठमा एक्लै बसिरहेकी छन् । कारण हो कुष्ठ रोग । तुलसा १३ बर्षकी हुँदा कुष्ठ रोग लाग्यो ।

दैवी शक्ति लाग्यो भन्दै उनका परिवारले धामी झाँक्री गरे ।

तर उनलाई रोगले च्याप्दै गएपछि हात खुट्टा समेत लुला भए । १३ बर्षको उमेरमा कुष्ठ रोग लागेपछि परिवारले तुलसालाई छुट्टै सानो छाप्रोमा बस्ने व्यवस्था मिलाए । आज भन्दा ५० बर्ष पहिला गाँउमा न कुनै अस्पताल थियो न त उनलाई अस्पतालमा पुर्याउनु पर्छ भन्ने चेतना । कुष्ठ रोग लागेपछि घर परिवारबाट टाढै राख्नुपर्छ भन्ने रुडीबादी परम्पराले अहिले तुलसा मृत्युसँग लडिरहेकी छन् ।

गाँउदेखी टाढा खोलाको बिचमा एउटा छाप्रो छ । सोही छाप्रोमा ६३ बर्षिया कुष्ठ रोगी तुलसा आफ्नो दैनिकी साह्रै कष्टका साथ गुजारीरहेकी छन् । अझै पनि उमेर भएकोले उपचारका हुन्छ कि भन्ने आसा उनीसँग छ । मिठो खाना तथा राम्रो बासको व्यवस्था भए आफुलाई पुग्ने तुलसाको भनाई छ । “ठिक पचास भयो, म कहिले जंगल त कहिले गोठमा बसेँ ” उनले भनिन् “अलि राम्रो गोठमा बस्न लागेको १० बर्ष भयो ।”

उपचारका लागी कसैले पहल नगरेको दुखेसको उनको छ । तुलसा भन्छिन् “मलाई धामी झांक्री त गरेका हुन् । धामी झांक्रीले केही गर्न सकेनन् ।” केही गर्छु भन्ने उमेरमै रोग लागेपछि केही गर्न नसकेको दुखेसो छ । “जिन्दगीभर पिडा सहेर बसेँ”– तुलसा भन्छिन् “अझै पनि केही उमेर त छ , बाँच्न मन छ तर बचाउने कोही भएन ।” साँझ बिहानको छाकको जोहो त्यही असक्त अवस्थामै गर्न बाध्य छिन् । उनलाई बर्षा,हिउँद तथा गर्मी समय ,जुन अवस्था आएपनि पत्तो छैन ।

सरकारले कुष्ठ रोग निबारण भएको घोषणा गरिसकेको छ । तर अझै पनि दुर्गम बस्तीहरुमा कुष्ठरोगीहरु भेटिन्छन् । पुरानो रुडीबादी परम्परा समाजमा यथावत हुँदा तथा सचेतनाको अभावले तुलसा जस्ता अरु पनि कुष्ठ रोगीले दुख्ख पाइरहेका छन् ।