अमेजन कम्पनीका मालिक तथा संसारकै धनी व्यक्ति जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जीले सम्बन्ध विच्छेद गर्ने भएका छन्।
सम्बन्ध विच्छेदमा म्याकेन्जीले करिब ४० खर्ब रूपैयाँ (३५ बिलियन अमेरिकी डलर) पाउने सहमति भएको छ। संसारकै धनी व्यक्तिको सम्बन्ध विच्छेदले संसारकै महँगो सम्बन्ध विच्छेदको रेकर्ड बनाएको छ।
सहमतिअनुसार अमेजन कम्पनीमा म्याकेन्जीको हिस्सा ४ प्रतिशत हुनेछ। सन् १९९४ मा बेजोसले यो कम्पनी स्थापना गरेका थिए। एक वर्षअघि म्याकेन्जी र बेजोसको बिहे भएको थियो। म्याकेन्जी अमेजनकी पहिलो कर्मचारीहरूमध्ये एक हुन्।
कम्पनी स्थापनादेखि नै सँगै काम गर्दै आएका म्याकेन्जी र बेजोस दुवैले सकारात्मक प्रकृतिका ट्विट गर्दै आफूहरूको सम्बन्ध विच्छेद भएको जानकारी दिएका छन्।
अमेजनको ४ प्रतिशत हिस्सा म्याकेन्जीको भागमा परेपछि उनी विश्वकै तेस्रो धनी महिला बन्ने फोर्ब्स पत्रिकाले जनाएको छ। बेजोस धनाढ्यको पहिलो नम्बरमै रहनेछन्।
५५ वर्षीया बेजोस र ४८ वर्षीया म्याकेन्जीका चार सन्तान छन्। म्याकेन्जी उपन्यासकार समेत हुन्।
यो सहमतिअघि अमेजनमा बेजोसको हिस्सा १६.३ प्रतिशत थियो। अब यो हिस्साको ७५ प्रतिशत मात्र उनीसँग रहनेछ। बाँकी म्याकेन्जीको भागमा गए पनि उनले कम्पनीको सञ्चालक समितिमा आफ्नो मताधिकार भने बेजोसलाई नै हस्तान्तरण गरेकी छन्। यसले अमेजनमा बेजोसको हिस्सेदारी कम भए पनि कम्पनीमा निर्णय गर्ने अधिकार भने घट्ने छैन।
म्याकेन्जीले अमेजनबाहेक अखबार वासिङटन पोस्ट र अन्तरिक्ष यात्रा फर्म ब्लु ओरिजिनमा हिस्सेदारी दावी गर्दै आएकी थिइन्। सम्वन्ध विच्छेदको सहमतिसँगै उनले यी दुई कम्पनीमा अब दावी नगर्ने भएकी छन्।
अमेजन संसारकै अग्रणी अनलाइन सपिङ साइट हो। गत वर्ष यसको कुल बिक्री करिब २३३ अर्ब डलर थियो। फोर्ब्सका अनुसार यसले बेजोस र उनको परिवारको सम्पत्ति १३१ अर्ब डलर पुर्याएको थियो।
बेजोस र म्याकेन्जीको सम्बन्ध विच्छेदअघि अमेरिकी अर्बपति एलेक वाइल्डेन्सटिन र उनकी श्रीमती जोसलिनको सम्बन्ध विच्छेद संसारकै महँगो मानिएको थियो। उनीहरूको सम्बन्ध विच्छेदको सहमति ३.८ बिलियन डलरको थियो।एजेन्सी
प्रतिक्रिया