अनिता हत्याकाण्डका ३ अभियुक्तलाई सार्बजनिक, हत्यामा श्रीमानकै संलग्नता


कपिलवस्तु। कपिलवस्तु वाणगंगाकी अनिता पौडेलको हत्यामा उनका श्रीमान सहित तीन जना संलग्न रहेको पाइएको छ । हत्यामा उनका श्रीमान विष्णु पौडेल, भिनाजु श्रीहरि गौतम र गुनाखर अधिकारी संलग्न रहेको पाइएको छ । एक जना भने फरार छन् ।

शुक्रबार विहान जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ गरिएको जानकारी दिनुभयो । लामो समयको गहिरो खोज अनुसन्धानबाट मुख्य अभियुक्त पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो ।

गत फागुत १० गते मध्य रातमा अनिताको घरमै हत्या भएको थियो । हत्याका मुख्य योजनाकार रहेका गुनाखर अधिकारी अनिताका आफन्त होइनन् । उनी श्रीहरि गौतमले हत्या गर्न पठाएका व्यक्ति भएको खुलेको छ । हत्याको प्रमुख कारण पारिवारिक रिसिईबी देखिएको छ । घरायसी विवादकै कारण पौडेलको हत्या भएको प्रहरीको भनाई छ । अनिताका श्रीमानले दोस्रो श्रीमती विहे गरि भारतमा बसोबास गर्दै आएका छन् ।

श्रीहरि पटक पटक विभिन्न मुद्धामा जेल गएका व्यक्ति हुन् । उनी सामान्य ठेक्कापट्टा गरेर जीविकोपालन गर्दै आएको खुल्न आएको छ । सामाजिक अपराधिक गतिविधिमा संलग्न हुँदै आएका श्रीहरिले विभिन्न माध्यमबाट बुटबल १० चरंगीका गुनाखर अधिकारीलाई भेट्न पुग्छन् ।

अधिकारी पनि यसभन्दा अगाडि चार बर्ष जेल सजाय काटेका व्यक्ति हुन् । अधिकारी चोरी, डकैटी मुद्धामा बुटवल र रामेछाप कारगारमा सजाय भोगेका व्यक्ति थिए । दुवै जना श्रीहरि र अधिकारी उस्तै उस्तै प्रकृतिका व्यक्ति भएपनि यसअघि चिनजान नभएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिनै जना हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनीहरुलाई अब कानुनी कारबाहीको प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ ।