मानसिक रोगका ८६ प्रतिशत बिरामी उपचारबाट वञ्चित

0
Shares

यमलाल भुसाल, बुटवल ।
नेपालमा मानसिक स्वास्थ्यका बिरामीको अवस्था विकराल रहेको एक अध्ययनले देखाएको छ । युकेएआईडीको सहयोगमा टिपिओ नेपालले ८ वर्ष लगाएर चितवनमा गएको अध्ययनले मानसिक रोग लागेका व्यक्ति मध्ये पनि ८६ प्रतिशतले उपचार नपाएको बताईएको छ ।

विश्वमा प्रत्येक ४ जनामेध्ये १ जनामा मानसिक बिमार देखिएको छ । तर नेपालमा त्यस्तो अध्ययन नभएपनि सोही हाराहारीमा बिरामी रहेको टिपिओ नेपालमा कार्यरत डा. कमल गौतमले बताउनु भयो ।

टिपिओ नेपालले सन् २०११ देखि चितवनलाई आधार बनाएर अध्ययन सुरु गरेको थियो । उक्त अध्ययनले उपचार दिनेहो भने मानसिक स्वास्थ्यका बिरामी पनि उपचारमा आउने देखाएको टिपिओ नेपालका कार्यक्रम संयोजक नगेन्द्र लुईटेलले बताउनु भयो । उक्त संस्थाले मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सरह उपचार सेवा प्रवाह गर्न सकिन्छ, सकिँदैन, सकिन्छ भने के कस्ता कुराहरुमा सुधार गर्नुपर्छ लगायतका बिषयमा अध्ययन गरेको थियो ।

उक्त अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य संगठन, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय लगायतका विभागीय कार्यालयहरुमा बुझाईएको र सरकारकै सल्लाह अनुसार उक्त प्रतिवेदनलाई सात वटै प्रदेशमा छलफलका लागि ल्याईएको उहाँले जानकारी गराउनु भयो । उहाँका अनुसार संस्थाले उक्त प्रतिवेदन प्रदेश पाँचको बुटवल र तीनको हेटौडामा प्रस्तुत गरिसकेको छ । बाँकी ५ वटा प्रदेशमा पनि छलफलकालागि मिति तय भईसकेको उहाँले जानकारी गराउनु भयो ।
मुलुकको संरचनागत व्यबस्था परिवर्तन भएको सन्दर्भमा कार्यान्वयन पक्षका अधिकारहरु प्रदेश सरकार तथा स्थानीय तहमा रहेकाले प्रदेश सरकारलाई मानसिक स्वास्थ्यसंग विशेषज्ञ तोक्नुपर्ने, नियमित औषधी वितरणको प्रवन्ध मिलाउनु पर्ने, गुणस्तरीय सेवा र सोही अनुसारको नीति निर्माण गर्न सुझाव दिईएको छ । त्यस्तै स्थानीय तहलाई स्वास्थ्य चौकी लेवलका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिमको व्यबस्था गर्नुपर्ने, सामुदायिक परामर्श कर्ताको व्यबस्था गर्न तथा महिला स्वास्थ्य स्वयम् सेविकालाई तालिम प्रदान गर्न सुझाव दिईएको हो ।

त्यस अवसरमा प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले मुलुकको परिवर्तित व्यबस्था अनुसार संघीय तथा प्रदेश सरकार र स्थानीय तहहरु कानुन निर्माणको क्रममा रहेको बताउँदै नागरिकको स्वास्थ्यलाई सम्बोधन हुनेगरी कानुन निर्माण गरिने उल्लेख गर्नुभयो । मानसिक स्वास्थ्यले परिवार समाज हुँदै सिंगो गाउँको कार्यसम्पादनमा असर गर्ने भएकाले धेरै काम गर्नुपर्ने बताउँदै उहाँले तहगत संरचना अनुसार सरकारको तर्फबाट कसरी काम गर्न सकिन्छ त्यसमा गम्भिर भएर लाग्ने आश्वासन दिनुभयो ।

त्यस्तै सामाजिक बिकास मन्त्रालयको सचिव कृष्ण ज्ञवालीले स्वास्थ्यका क्षेत्रमा एक चौथाई समस्या ओगटेको मानसिक स्वास्थ्य समस्या महत्वपूर्ण भएपनि अहिलेसम्म सरकारको ध्यान त्यसतर्फ जान नसकेको उल्लेख गर्दै अवका दिनमा प्राथमिकतामा राखेका काम गरिने बताउनु भयो ।