घोडाघोडी नगरपालिकामा कर्मचारीको ब्रम्हलुट

0
Shares

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले आठ महिनाको अवधिमा ईन्धनमा मात्र १५ लाख बढी रकम खर्च गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म ईन्धनमा १५ लाख ५० हजार खर्च गरेको हो ।

नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीले आठ महिनाको अवधिमा उक्त रकम बराबराको ईन्धन खर्च गरेको घोडाघोडी नगरपालिकाका लेखापाल दिपेन्द्र चौधरीले बताउनुभयो । यस्तै कार्यालय व्यवस्थापनको नाममा आठ महिनाको अवधिमा २७ लाख ९४ हजार तीन सय ५४ रुपैया र भ्रमणमा १० लाख ३१ हजार तीन सय रुपैया खर्च गरेको उहाँले जानकारी दिनुभयो । यसको साथै कार्यलयको चिया नास्तामा आठ महिनामा ९ लाख ५० हजार र छाडा पशुचौपाया व्यवस्थापनको नाममा १६ लाख ७७ हजार आठ सय ६२ रुपैया खर्च गरिएको छ ।

पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्र्तगत ओजुवाताल व्यवस्थापन तथा पानी भरानमा ४ लाख ७५ हजार र सिताकुण्ड मन्दिरमा जाली तार घेरबार तथा गेट निर्माणको नाममा ४ लाख ८९ हजार रुपैयाँ खर्च गरिएको छ । पर्यटकी क्षेत्रको संरक्षण शिर्षकमा छुट्याईएको रकम मध्येबाट ४ लाख ९० हजार गोहीको प्रजनन् स्थल व्यवस्थापनको नाममा खर्च गरिएको नगरपालिकाका लेखापाल चौधरीले बताउनुभयो ।

आठ महिनामा १५ लाख बढीको इन्धन खर्च ,प्रत्येक योजनाबाट रकम असुल

घोडाघोडी नगरपालिकाका केही जनप्रतिनिधी र कर्मचारीहरुले नगर प्रमुख ममता प्रसाद चौधरीलाई समेत बेवास्ता गरेर आफ्नो तरिककाले काम गर्ने गरेको पाईएको छ । केही वडा अध्यक्ष र नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर वोहराले मेयरले भनेको काम गर्न पर्ने जरुरी नभएको भन्दै आफ्नै तरिकाले काम गर्ने गरेको नगरपालिका स्रोतले जनाएको छ ।

हरेक योजनामा उनले कमिशन माग्ने गरेको ठेकेदारहरले बताएका छन् । निमिक्त प्रमुख प्रशासकीय अधिकृत वोहराले नगरपालिकाका विभिन्न वडा कार्यालय निर्माणको लागी भएका टेण्डरमा कमिशन खाएको नगरपालिकाकै एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

उनले भने वडा कर्यालय निर्माणको लागि प्रकाशित सूचना अनुसार टेण्डर हाल्न आएका ठेकेदारहरुसंग वोहरा र नगरपालिकाका प्राविधिकहरुले पहिले नै कमिशन कति दिने भनेर मोलमोलाई गर्ने गरेका छन् ।

यस्तै नगरपालिको स्रोतबाट सञ्चालन गरेका विभिन्न सामाजिक विकास तथा लक्षित वर्गका कार्यक्रमबाट समेत नगरपालिकाका कर्मचारीहरुले रकम असुल्दै आएको आरोप लाग्दै आएको छ । जनप्रतिनिधीहरुलाई समेत मिलाउन पर्ने भन्दै कर्मचारीहरुले पैसा असुल्ने गरेको आरोप छ । यस विषयमा बुझ्न घोडाघोडी नगरपालकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर वोहरालाई सम्पर्क गर्दा उहाँले फोन उठाउनु भएन ।

यस्तै नगरपालिकाका कर्मचारीहरुले सहयोग नगर्दा चाहे अनुसार काम गर्न नसकेको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले बताउनुभयो । नगरपालिकाका कर्मचारीहरुले जनतालाई सरल रुपमा सेवा दिने आफ्नो योजनालाई सहयोग नगरेको गुनासो उहाँले गर्नुभयो । यस्तै नगरपालिकाका विभिन्न योजनाहरुबाट कर्मचारीले कमिशन माग्ने गरेको भन्ने बारेमा गुनासो आफुसंग समेत पुगेको उहाँले भनाई छ ।

कर्मचारीहरुले आफ्नो नजिकका सेवा ग्राही र अन्य सेवा ग्रहीलाईलाई गर्ने व्यवहार समेत फरक रहेको उहाँले बताउनुभयो । जनप्रतिनिधीको नाममा कर्मचारीले कमिशन उठाउने गरेको भन्ने बारे आफुले बुझेर आवश्यक निर्णय लिने पनि नगर प्रमुख चौधरीले बताउनुभयो ।