एसईईको प्रश्नपत्र चोर प्रहरी नै

0
Shares

शिवहरीप्रसाद भट्टराई
राजविराज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रका लागि सुरक्षामा खटिएका प्रहरीले प्रश्नपत्र चोरी गरी सार्वजनिक गरेको खुलासा प्रहरीले गरेको छ ।

प्रश्नपत्र चोरी गर्ने कार्यमा संलग्न रहेका प्रहरीले आफ्नो साथीलाई परीक्षामा पास गराउने र प्रश्नपत्र बेचेर मनग्ने आम्दानी गर्ने उदेश्यले चोरी गरेको रहस्य खुलेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

यसरी प्रश्नपत्र चोरी गर्ने कामको मुख्य योजनाकार सिरहाको प्रहरी चौकी कल्याणपुरमा कार्यरत रहेका प्रहरी जवान ब्रम्हदेव सुनरैत रहेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

सो काण्डमा प्रहरी जवान सुनरैतका दाजु विष्णुदेव सुनरैत, सप्तरीको कञ्चनरुप नगरपालिका–६ घर भई प्रहरी चौकी कल्याणपुरमै कार्यरत अर्का प्रहरी जवान दिपेन्द्रकुमार मण्डल, राजविराज नगरपालिका १६का शिक्षक मनोज यादव, हनुमाननगर कंकालिनी नगरपालिका–१ का राजेश यादव र उमेश यादव रहेको ब्युरोले जानकारी दिएको छ । ब्युरोले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उक्त घटनाको पर्दाफास गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइटी विशेषज्ञको सहयोगमा सुक्ष्म अनुसन्धान र छानविन गरेपछि अपराधी पक्राउ गर्न सफल भएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीले जानकारी दिनुभयो ।

अनुसन्धानको क्रममा प्रहरी चौकी कल्याणपुरमा प्रश्नपत्र सुरक्षाका लागि खटिएका प्रहरी जवान सुनरैतले चौकीका प्रमुख खाना खान गएको मौकाछोपी उनको ब्यागबाट प्रश्नपत्र राखिएको कोठाको साँचो चोरेर प्रश्नपत्रको फोटो खिचेको रहस्य पत्ता लागेको डिआईजी शाहीले जानकारी दिनुभयो ।
आरोपी प्रहरी जवान सुनरैतका साथी दिपेन्द्र मण्डल यस पटकको एसईई परीक्षामा सहभागी भएका थिए छन् ।

सुनरैतले प्रहरी साथीलाई प्रश्नपत्र चोरेर सहयोग गर्ने तथा प्रश्नपत्र बिक्री गरेर लाखौं कमाउने नियतले त्यसो गरेको पाइएको डिआईजी शाहीले जानकारी दिनुभयो ।

त्यती मात्र होइन सुनरैतले प्रश्नपत्र हात पारेपछि आफ्ना साथी मण्डललाई सजिलै पास गराउन विज्ञान विषयको परीक्षाका दिन प्र्रवेशपत्रको फोटो उप्काएर दाजु विष्णुदेवको फोटो टास गरी उनैलाई मण्डलको सट्टामा परीक्षामा परीक्षार्थीको रुपमा सहभागी समेत गराएको रहस्य खुलेको उहांले जानकारी दिनुभयो ।
यसरी प्रश्नपत्रको फोटो खिचेर तथा दाजुलाई नै नक्कली परीक्षार्थी बनाएर साथीलाई सहयोग गर्नुका साथै पैसा कमाउने उद्देश्यले उनले शिक्षक मनोज यादव र हनुमाननगर कंकालिनी नगरपालिकाका राजेश यादव र उमेश यादवलाई पनि आफ्नो योजनामा जोडेका थिए ।

सो समूहले विज्ञान र सामाजिक अध्ययन विषयको प्रश्नपत्र एक हजारदेखि १२ सयसम्म रुपैयाँ लिएर फोटोकापी समेत बिक्री वितरण गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

प्रश्नपत्रको सजिलै पहुँचमा रहेका सुनरैतले सिल खोलेर प्रश्नपत्रको फोटो खिच्ने र अर्का परीक्षार्थी प्रहरी साथी मार्फत ‘कुरा’ मिलेकाहरुलाई समाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट पठाउने गरेको खुलेको छ ।

प्रश्नपत्रको फोटो खिचेर साथीलाई दिने र उनको स्थानमा दाजु विष्णुदेवलाई नक्कली परीक्षार्थी बनाएर परीक्षामा सहभागी गराएको स्वीकार गरिसकेका ब्रह्मदेव र दिपेन्द्रलाई प्रहरी ऐन अनुसार विभागीय कार्वाहीका अतिरिक्त अन्य कार्वाही गरिने उहांले जानकारी दिनुभयो । यस्तै शिक्षक यादवसहित अन्य चारजनालाई प्रचलित कानून बमोजिम कार्वाही गरिने पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।