कांग्रेस नेतृत्वलाई अन्तिम चेतावनी, निर्णय नसच्चिए हस्ताक्षर संकलन गर्ने धम्की

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अब बस्ने केन्द्रिय समिति बैठकले महासमिति बैठकको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने चेतावनी दिएका छन् ।

विशेष महाधिवेशनकालागि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर चाहिन्छ ।

काठमाडौंमा दुईदिन सम्म चलेको जिल्ला सभापतिहरुको भेलाले कांग्रेस नेतृत्वलाई महासमितिको निर्णयलाई नलत्याउन आग्रह गर्दै नत्र विशेष महाधिवेशनको तयारी थाल्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रिय समिति बैठक भोलि शनिवारकालागि आव्हान गरिएको छ ।

विधानमा मुख्य गरी समानुपातिक समावेशी कोटामा एक जनालाई पटक भन्दा बढी अवसर दिन नहुने र केन्द्रिय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने भन्ने महासमिति बैठकको निर्णय कार्यान्वयन नभएपछि जिल्ला सभापतिहरु केन्द्रिय नेतृत्वसंग आक्रोशित भएका छन।

गत मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा सम्पन्न महासमिति बैठकले आरक्षण कोटामा एक व्यक्तिलाई एक पटक मात्र अवसर दिने र केन्द्रिय सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाउने निर्णय गरेको थियो । महासमिति बैठकले पारित गरेको उक्त निर्णयलाई विधानमा समाबेश गरी संशेधित विधान केन्द्रिय समितिबाट अनुमोदन गर्ने भनी शीर्ष नेताहरुले समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

समावेशी कोटामा एक व्यक्तिले एकपटक मात्र अवसर पाउनुपर्ने र केन्द्रिय सदस्यहरु महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहबाटै चुनिएर आउनुपर्ने माग जिल्ला सभापतिहरुको मात्र नभइ सिंङ्गो महासमितिको निर्णय भएकोे भन्दै नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिह केसी भन्नुहुन्छ– यदि केन्द्रिय समितिले निर्णय सच्चाएन भने विशेष महाधिवेशनको लागि ४० प्रतिशत हैन ८० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन हुन्छ ।

महासमिति बैठकको निर्देशन विपरित केन्द्रिय समितिबाट सभापति शेरबहादुर देउवा पक्षलले बहुमतका आधारमा संशाेिधत विधान अनुमोदन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले नोट अफ डिसेण्ट लेखेको थियो ।

जिल्ला सभापतिहरुको भेलाले कम्युनिष्ट सरकारको अधिनायकबाद र भ्रष्टाचार विरुद्ध मेची महाकाली यात्रा गर्ने निर्णय गर्न पनि केन्द्रिय समितिलाई आग्रह गरेको छ ।