सावधान ! काठमाडौं उपत्यकामै भेटियो बर्डफ्लु, ३ हजार कुखुरा नष्ट


पष्कर बुढाथोकी, भक्तपुर ।
देशका केही जिल्लामा देखिदैै आएको बर्डफ्लु भक्तपुरको दधिकोटमा समेत देखिएको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटमा रहेको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका लेयर्स कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको हो ।

स्थानीय सुरज बुढाथोकीले संचालन गरेको सो कृषि फार्ममा बर्डफ्लु देखिएपछि कुखुरा बुधबार बेलुका नष्ट गरिएको हो । भेटनरी अस्पतालका पशुसेवा विज्ञ डा. चन्द्र ढकालले फार्मका कुखुरामा एच.वान.एन. वान बर्डफ्लुको भाइरस पत्ता लागेपछि फार्ममा रहेका २ हजार ९ सय ८५ कुखुरा र २ हजार १ सय वटा अण्डा र १ सय ५० केजी दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएकोे बताउनुभयो ।

वरिष्ठ पशु विकास समितिका अधिकृत नारायण बहादुर श्रेष्ठको संयोजकत्वको टोलीले बर्डफ्लु भएको पुष्टि गरेपछि प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गरिएको हो ।

उक्त क्षेत्र वरपरका चार किल्लाभित्रका पंक्षी नष्ट गरी खाडलमा पुरिएकोे छ । खाली रहेका खोरलाई पनि संक्रमण मुक्त गरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना छर्ने काम भइसकेको बताइएको छ ।

नगरपालिकाका पशु विकाश अधिकृत पूर्णचन्द्र शर्माले अन्यत्र संक्रमण फैलिन नदिन विशेष सर्तकर्ता अपनाईएको बताउनुभयो ।