मानव अधिकार फिल्म महोत्सव हुँदै

0
Shares

सामाजिक न्याय र मानव अधिकारलाई प्रश्रय गर्ने उद्देश्यले आयोजना हु“दै आइरहेको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण भोलि बिहीबारदेखि आइतबारसम्म रसियन कल्चर सेन्टरमा हुने भएको छ।

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सव प्रत्यक्ष सांगीतिक कार्यक्रमबाट शुरू हुनेछ। महोत्सवको शुरुआत जर्मनी फिल्म द मार्च अफ होप स्काईबाट हुनेछ। विश्वभरिबाट खुला आवेदनमार्फत आएका फिल्म छनोट गरी ८१ भन्दा बढी मानव अधिकारका विषयमा निर्माण भएका वृत्तचित्र, छोटा फिल्म, एनिमेसनलागयतका फिल्म महोत्सवमा प्रदर्शन गरिनेछन्।

नेपालबाट २ दर्जनभन्दा बढी चलचित्र महोत्सवमा प्रदर्शनका लागि छनोट गरिएको छ। महोत्सवमा पछिल्लो समय विश्वमा आन्तरिक राजनीतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दंगा र आतंकवादी क्रियाकलापका कारण विस्थापित भएकाहरूको कथामा आधारित फिल्मलाई प्राथमिकतामा राखिएको केन्द्रले जनाएको छ। त्यस्तै सामाजिकरूपमा अधिकारबाट वञ्चित र सामाजिक न्यायको पक्षमा महिला, दलित, अल्पसंख्यक र पिछडिएका समुदायका सवालमा बनेका फिल्म पनि प्रदर्शन गरिनेछन्।

महोत्सवमा राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्मकर्मीका साथै मानव अधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वको उपस्थिति रहने बताइएको छ। उत्कृष्ट फिल्मलाई विभिन्न विधामा पुरस्कृत गरिने जनाइएको छ।