४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको पिपिए सम्झौता

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पीपिए) भएको छ । नेपाल विद्युत प्राधिकरणको पूर्ण लगानीमा जिल्लाको रघुगंगा गार्उपालिका–३, राखुपिप्लेमा निर्माण हुन लागेको आयोजनाको पिपिए सम्झौता गरिएको हो । नेपाल विद्युत प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र रघुगंगा हाईड्रोपावर लिमिटेडको तर्फदेखि प्रमुख श्रीरामराज पाण्डेले पिपिएमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आयोजनाले उत्पादन गर्ने विद्युत प्राधिकरणले सुख्खायामको पिकिङ आवर (अत्यधिक ऊर्जा खपत हुने समय)मा प्रतियुनिट १० रुपैयाँ ५५ पैसा, अन्य समयमा नदी प्रवाह आयोजनासरह ८ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा विद्युत खरिद गर्ने सम्झौता भएको रघुगंगा हाइड्रोपावर लिमिटेडका वरिष्ठ सहायक दिपरमण अधिकारीले बताए । आयोजनाले वार्षिक कुल २४ करोड दुईलाख ३२ हजार युनिट विद्युत खरिद गर्ने म्याग्दी सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । नेपाल विद्युत प्राधिकरणको सतप्रतिशत लगानीमा निर्माण हुन लागेको आयोजना अर्धजलाशययुक्त हुनेछ ।

भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा जिल्लाको रघुगंगा गाउँपालिका–३, स्थित अलपत्र अवस्थामा रहेको आयोजना आगामी सन् २०२३ सालको पुस महिनामा व्यवसायिक उत्पादनको लक्ष्यसहित भारतीय जयप्रकाश एशोसियसनलाई सिभिल र हाइड्रो मेकानिकलको ठेक्का दिएसँगै ठेकेदारले आयोजनास्थलमा जनशक्ति परिचालन गरी काम सुरू गरेको छ ।

रघुगंगा हाइड्रोपावर लिमिटेडका सहायक निर्देशक गोपाल पाठकले दिएको जानकारी अनुसार विगतमा भारतीय कम्पनीले सम्झौता अनुसार काम नगर्दा आयोजना धेरै पछि परेको बताउँदै नयाँ मोडलमा सुरु गरिएकाले आयोजनाले तीव्रता लिने दावी गरे । उनले हालसम्म आयोजनाको १२ प्रतिशत भौतिक प्रगति रहेको बताउँदै अर्धजलाशययुक्त आयोजनामा पिक समयमा ४ देखि ५ घण्टासम्म पानी सङ्कलन गर्न सकिने भएकाले पनि प्राधिकरणले बनाउँदै गरेका आयोजनाममध्य यो सस्तो पर्ने बताएका छन् ।

आयोजनास्थलमा प्राधिकरण र ठेकेदारको तर्फबाट करिब ३ सयजना जनशक्ति परिचालन गरिएको छ । रघुगंगा गाउँपालिकाको झीँ र दग्नामको सिमानास्थित बुक्लमा १८ मिटर उचाइको बाँध रहने आयोजनाको ६.२ किमी लामो सुरूङ रहने तथा कुल लागत ८ अर्ब ६० करोड अनुमान गरिएको छ । २०६६ सालदेखि निर्माणको काम सुरु भए पनि अलपत्र पर्दा आयोजनाको पहिलो चरणमा सात अर्ब रुपैयाँ सहुलियत ऋणमा सम्झौता गरिएको छ ।

कुल ऊर्जाको ३४ प्रतिशत सुख्खायाममा र वर्षायाममा ६६ प्रतिशत उत्पादन हुने कम्पनीले जनाएको छ । उत्पादन हुने विद्युत २२० केभी कालीगण्डकी कोरिडोरमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । प्राधिकरणले सन् १९९८ मा सम्भाव्यता अध्ययन गरेको आयोजना ३२ मेगावाटबाट बढाएर ४० मेगावाट पु¥याइएको हो ।