विष्णुद्वार र पेन्देलमा जेसुम

0
Shares

कला, साहित्य र रंगमञ्चमा मौलिकताको खोजी गर्दै स्थानीय संस्कृति, सम्पदा र ज्ञान परम्परालाई प्रवद्र्धन गर्ने उद्देश्यले शुरू भएको जेसुम यात्राको छैठौं शृंखला राजधानीको बूढानीलकण्ठस्थित विष्णुद्वार र पेन्देल गाउँमा सम्पन्न भएको छ।

हाइकिङ गर्दै चित्र र साहित्य सिर्जना गर्ने अभियान यसपटक बूढानीलकण्ठको जामछेन विजया चैत्यबाट शुरू भएको थियो। झन्डै एक घण्टा उकालो चढेपछि आउने शिवपुरी जंगलबीचको विष्णुद्वारमा पुगेपछि स्रष्टाहरूले प्रकृतिको आनन्द लिँदै आसु रचना गरे। चित्रकार दीपेन्द्रमान बनेपाली, कान्छाकाजी भासिमा, भीम सुब्बा तामाङ, प्रकाश मानन्धर, विक्रम प्रजापतीलगायतले जंगली सौन्दर्यलाई क्यानभासमा उतारे। विशेष गरी विष्णुद्वारको भित्री जंगली दृश्य, झरना, ढुंगाहरूबीच लुकामारी खेल्दै बग्ने पानीमार्फत उनीहरूले प्राकृतिक सुन्दरतालाई क्यानभासमा समेटे। लेकाली जंगलका जरादेखि लहरासम्म उनीहरूको कम्पोजिसनमा अटाइएको थियो।

कवि अनिता लामा, फूलमान वल, बिना थिङ, सुरेश हाचेकाली, जिचेन स्याङतान, नवराज खतिवडा, बाबु साइँला, जगत तामाङलगायतले कवितामार्फत विष्णुद्वारको प्राचीन सभ्यता र प्राकृतिक सौन्दर्यलाई अहिलेको जीवन र समयसँग जोडेर लेखे। विशेष गरी अनिताले द्वन्द्वले पारेको सांस्कृतिक क्षतिलाई कविताको विषय बनाइन्।

बूढानीलकण्ठकै स्थानीय बासिन्दा यिनले द्वन्द्वअघि अक्षय तृतीया (नेपाली नयाँ वर्ष)का दिन बूढानीलकण्ठबाट रातभर तीर्थयात्रा गरेर बाग्द्वार, विष्णुद्वार हुँदै टोखास्थित स्वप्नतीर्थ आइपुग्ने परम्परा अहिले हराएको बताइन्। चित्रकार र कविहरू विष्णुद्वारमुनिको पेन्देल गाउँ हुँदै हाइकिङ थालेका थिए। पेन्देल गाउँमा उनीहरूलाई तामाङ सामुदायिक होमस्टेका आमा समूहले तामाङ संस्कारअनुसार टोटलाको फूल र घिउको टीका लगाउँदै स्वागत गरेका थिए। टीकापछि डम्फु बजाएर गीत गाउँदै कवि र चित्रकारहरूलाई गाउँ परिक्रमा गराइएको थियो।