द भ्वाइस अफ नेपालमा झन्डै २२ हजार सहभागी

0
Shares

द भ्वाइस अफ नेपाल सिजन–२ मार्फत आफ्नो प्रतिभा देखाउन झन्डै २२ हजार नेपाली प्रतिभाले डिजिटल अडिसनमार्फत सहभागिता जनाएका छन्।

चैत १० गतेसम्म तोकिएको समयसीमाभित्र कुल २१ हजार ७ सय प्रतिभाले विभिन्न डिजिटल माध्यममार्फत आवेदन दिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी गराएका छन्। ‘यसपटक हामीले मोबाइल एप्ससँगै सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत पनि आवेदन खुला गरेका थियौं’, पौडेलले भने– ‘सबै माध्यम खुला गरिएका कारण यो वर्ष उत्साहजनक सहभागिता देखिएको छ।’ चैत १० मै म्याद सकिए पनि अझै दैनिक सयौंको संख्यामा आवेदन आइरहेको निर्देशक पौडेलले बताए।

प्राप्त भिडियो क्लिपमाथि उत्पादन तथा संगीत टिमले परीक्षण गरेर उत्कृष्ट प्रतिभाको छनोट गरिने हिमालय टेलिभिजनले जनाएको छ। छानिएका प्रतिभाले कोचसामु ब्लाइन्ड अडिसनमा सहभागिता जनाउन पाउनेछन्। कोचहरूको कुर्सी घुमेसँगै प्रतिभाहरूको भाग्य पनि बदलिनेछ। हिमालय टेलिभिजनको एचडी सेवा शुभारम्भसँगै गत माघ १ गतेबाट शुरू भएको डिजिटल अडिसनमा सहभागी हुने समय चैत १० गतेसम्म तोकिएको थियो। आगामी असारबाट प्रसारण शुरू हुने दोस्रो सिजनलाई हिमालय टेलिभिजन एचडीले प्रसारण गर्नेछ।