छुट्टियो दश वर्षदेखिको मायाः जीवनको दोस्रो इनिङ शुरु गर्ने तयारीमा परीक्षार्थी

0
Shares

हेटौंडा ।
विद्यालयस्तरको अन्तिम खुड्किलो मानिने एसईई परीक्षा सकिएलगत्तै धेरै विद्यार्थीहरु आफ्नो दश वर्षदेखिको माया छुट्टिएको महसुस गर्न थालेका छन् । परीक्षा सकिएपछि उनीहरु आफूले १० वर्ष पढेको विद्यालयमा पुगे । र, साथी तथा शिक्षकसँग आफ्नो विद्यालय पोशाकमा हस्ताक्षर गरी छुट्टिएको महसुस गरे ।

हरेक वर्ष आइरन गेट मानिने एसईई परीक्षापश्चात् लाखौं विद्यार्थी आफूले बच्चादेखि पढेको विद्यालय, शिक्षक र साथीबाट टाढा बसेर आफ्नो जीवनको दोस्रो इनिङ सुरुवात गर्नेतर्फ केन्द्रित हुन्छन् । कतिले आफ्नो जीवनमा सफलता हात पार्छन् भने कतिपय सफलताको खोजीमै रुमलिन्छन् ।

अहिलेको जमानामा पढेर डाक्टर र इञ्जिनियर नै हुनुपर्छ वा जागिरै खानुपर्छ भन्ने छैन । आफ्नो सिप क्षमता छ भने जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ । सकिएको एसईई परीक्षाका विद्यार्थीका अनुसार आफ्नो क्षमता नै आफ्नो पहिचान हो ।

एसईई सकिएपश्चात् झण्डै तीन महिना छुट्टीमा विद्यार्थीले आआफ्नो क्षमता तथा इच्छा आकांक्षाका विषय छनौट गर्ने र त्यसमा पोख्त हुने कुरामा व्यस्त देखिने बताएका छन् । खेलकुदमा रुचि भएकाले यसमै भविष्य खोज्न पनि सक्छन् । कोही फुटबलर बन्ने सपना देख्छन् त कोही क्रिेकटर ।

रुचिअनुसार विद्यार्थीले विभिन्न खेलमा करिअर बनाउन सक्छन् । प्रशिक्षण कक्षामा सामेल भएर प्रतिभालाई थप मजबुत बनाउन सकिन्छ । त्यसैले खेल कलालाई तिखार्नका लागि एसईईपछिको समय सबभन्दा उत्तम हुनसक्ने हरकोहीको भनाइ छ ।

मनहरी गाउँपालिकाकी सम्झना अधिकारीको एसईई सकिएपश्चात् नतिजा नआउँदासम्मका करिब तीन महिनालाई बढीभन्दा बढी सदुपयोग गर्ने सोच छ । हेटौंडामा आएर सुजाताले कम्प्युटर कक्षा सुरु गर्ने योजना बनाएको बताउँछिन् । कम्प्युटर इञ्जिनियरिङ पढ्ने लक्ष्य राखेकी उनी आधारभुत कम्प्युटर शिक्षा लिएर आफूलाई तयार गर्न चाहन्छिन् । ‘दिमाग फ्रेस भएको बेला छ । घुमेरै बितायो भने यो बहमूल्य समय खेरजान्छ,’ उनी भन्छिन्–घरपरिवारकै सल्लाहअनुसार कम्युटर सिक्छु ।

हर्नामाडीकी कविता आले पनि खाली समयको सदुपयोग गर्ने योजनामा छिन् । उनी भन्छिन्–शिक्षकले उद्घोषण तालिम लिन सुझाव दिएका छन् । ‘त्यसका लागि राम्रो इन्स्टिच्युट खोजिरहेकी छु,’ उनले भनिन् ।

हेटौंडा–१ की सुजता आलेले भविष्यमा सफल फेसन डिजाइनर बन्ने लक्ष्य राखेकी छिन् । उनी भन्छिन्–अबको तीन महिना म सिलाइकटाइमा व्यस्त रहन्छु । ‘यो मेरो करियरका लागि एक अवसर पनि हो,’ उनले हर्षित हँुदै भनिन्–यसका लागि केही फेसन डिजाइनरसँग कुरा गरिसकेको छु । मेरो यो काममा परिवारले साथ दिएका छन् ।

हेटौंडाका शाश्वत् अधिकारी सीटीईभीटीद्वारा वेटरको तालिम लिने योजनामा छन् । उनको भविष्यको लक्ष्य स्टार होटलमा वेटर बन्नेछ ।
‘कक्षा एकदेखि सँगै पढेको साथीसँग विछोड हुनुपर्दा ज्यादै नरमाइलो लागिरहेको छ,’ सोमबार परीक्षा दिएर फर्केका रिमेश क्षेत्रीले भने–एसईईपछि फ्रि होइन्छ भनेको त नरमाइलो पो लाग्यो ।’ उनलाई कक्षा–९ देखि समकक्षी साथीलाई ‘लाइक’ गरे पनि केही भन्न नसकेकोमा झनै नरमाइलो लागेको रहेछ । ‘सायद अब हाम्रो भेट हँुदैन होला,’ उनले सानोे स्वरमा भने–उनको र मेरो डेष्टिनेसन नै फरक छ ।

आफ्नो खेलको समयमा विद्यालयबाट सधंै विद्यालयले छुट्टी दिएर सहयोग गरेकाले कहिले पनि शिक्षकलाई बिर्सिन नसक्ने उनले बताए । ‘मलाई सदैंव फुटबल खेल्ने क्रममा विद्यालयका साथीहरुले गरेको समर्थनको याद आउँछ,’ उनले भने । ‘होमवर्क’ नगरेको समयमा विद्यालयनजिक साथीहरुसँग लुकेको कहिल्यै नबिर्सने क्षणमध्ये एक हो उनको ।

परीक्षार्थी रमिला थापाका अनुसार अबका दिनमा उनलाई सरस्वती पूजाको दिनमा विद्यालयमा गर्ने रमाइलो र होलीको दिनअगावै स्कुलमा शिक्षक र साथीहरुसँग खेलिने होलीको यादले सदैंव सताउने छ । ‘विद्यालयमा पढ्ने क्रममा एउटा केटा मन परे पनि भन्न सकिनँ,’ थापाले हाँस्दै भनिन्–अब उसलाई नेटबाट ¥याक गर्छु । उनलाई नर्सिङ पढ्न मन लागेको छ । तर, उनको परिवारले हालसम्म यस विषयमा बोलेका छैनन् रे ।

यो समयमा व्यावसायिक सिप सिक्न चाहनेका लागि पनि थुप्रै विकल्प निकालेर विभिन्न संघसंस्थाले तालिम ल्याइरहेका हुन्छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत् सञ्चालन हुने ब्युटिसियन, मेकानिकल अपरेटर, कुकिङ, फर्निचर मेकर, वेटर, इलेक्ट्रिसियन, ड्रेसमेकर, सुमेकर, टेलरिङ, ह्याण्ड इम्ब्रोडर, फ्रुट भिजिटेबल प्रोसेसर, टेलिकम टेक्निसियन, मोबाइल फोन रिपेयरिङलगायत छोटा अवधिका तालिमहरु यस समयमा निकै अवसर आइरहेका हुन्छन् ।

एसईई सकिएपछि कयौं विद्यार्थी फुर्सदिला भएका छन् । उनीहरुमध्ये कोही साथीभाइसँग घुम्ने योजना बनाएका छन् भने कोही घरमै बसेर दिन काट्ने योजनामा पनि छन् । समयको सदुपयोग गर्न तम्सिने पनि थुप्रै छन् ।

एसईईपश्चात् खाली समयलाई विद्यार्थीले मात्र नभएर अभिभावकले पनि गम्भीरताको रुपमा लिइरहेका हुन्छन्, आफ्ना छोराछोरीलाई उक्त अवधिभर के सिकाउने र के गर्ने भन्नेबारे । किनकि, यतिबेला लिने निर्णय करियरकै टर्निङ प्वाइन्ट बन्नसक्छ । अभिभावकले पनि यसका लागि भूमिका खेलिरहेको देखिन्छ ।