धुलाम्यै आकाश, सडक आसपास सकसै सकस


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
दैनिक तिन सय भन्दा बढि सवारीसाधनको आवत जावत । सडकमा गाडी गुड्दा छारोधुलोको ‘कुहिरीमण्डल’ लाग्छ । तिन वर्षसम्म खाडीचौर–चरिकोट सडकको काम सम्पन्न हुन नसक्दा यस सडक आसपासका स्थानीय कष्टकर जीवनयापन गर्न बाध्य बनिरहेका छन् । तीव्र गतिमा गुडिरहेका सवारी साधनले घुलोको मुस्लो उडाउँदा बस्तिमाथिको आकाश नै धुलाम्यै बनिरहेको छ, सडक आसपासका बस्तिका स्थानीय सकसमा छन् ।

हरिया रुख बिरुवाहरु धुलाम्यै छन्, सडक छेउका घरसंरचनाका रङ नै छोपिएका छन् । धुलोले शरीर छोपिएपछि मोटरसाइकलमा यो सडक हुँदै खाडीचौर झर्ने मानिस चिन्नै मुस्किल पर्छ । सडक कालोपत्रे गर्नका लागि सव वेश, ग्राभेल विच्छाइएपछि ठूला सवारीसाधनहरु तीव्र गतिमा हुइँकिन थालेका छन्, तर सडक आसपासका स्थानीय धुलोको मार खेपिरहेका छन् ।

‘पिच गर्नुपर्ने सडक, यतिकै छाडेको महिनौं भइसक्यो, हामी धुलो खाएर बाँच्नुपरेको छ’, सुनकोसी गाउँपालिका–७ स्थित ३ किलोमा भेटिएका स्थानीय राम कार्की भन्दैथिए, –‘ग्राभेलिङ गरेपछि त गाडी कुद्न थाले, झन धेरै धुलो उड्न थाल्यो ।’ ग्राभेलिङ तथा वेश राखएपछि सडकमा सवारी साधन तीव्र गतिमा गुड्न थालेपछि सडक आसपासका घरभित्रै धुलोको मुस्लो पुग्छ । खाडीचौर उँभोको भेगमा धुलोकै कुहिरीमण्डल देखिन्छ । मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरुका लागि यो सडक झनै सकसपूर्ण बनिरहेको छ ।

‘वेश मिलाइएपछि त गाडी तीव्र गतिमा कुद्छ, ओभरटेक गर्न सकिन्न’, आइतबार मोटरसाइकलमा सवार बलेफी गाउँपालिका ७ का अरुण पराजुली भन्दैथिए,–‘ धुलोको मुस्लो उठेपछि बाईक रोकेर बस्नुपर्छ, अघि बढ्नै सकीन्न ।’

सडक स्तरोन्नतीका नाममा वर्षौसम्म छारोधुलोको मार खेप्नुपरेको भन्दै सडक आसपासका स्थानीय गुनासो गर्छन् । उनीहरुका गुनासोभित्र उत्तिकै आक्रोशको स्वर सुनिन्छ । ‘दिउँसै ढोका थुनेर घरभित्र बस्नुपर्छ, नत्र घरभित्रै धुलोको मुस्लो पस्छ’, सातकिलोमा भेटिएकी एक स्थानीय भन्दैथिईन् ।

ठेकेदारले सडक स्तरोन्नतीको काममा ढिलाई गर्दा आफुहरुलाई मार परिरहेको सडक आसपासका स्थानीय महिलाहरु सुनाउँछन् । ‘कपडा धोएर सुकाउन सम्म पाइँदैन, जता हे¥यो उतै धुलो’, सातकिलोकी स्थानीय देवकी पराजुली भन्छिन् । छारोधुलोको चरम मार खेप्नुपरेपछि त्यसको विरोधमा ठूलोपाखरमा स्थानीयवासी सडकमै निस्किएका थिए ।

सन २०१७ मै सम्पन्न गर्नेगरि ०१५ मा स्तरोन्नतीको काम सुरु गरिएको यो सडक निर्धारित समय भन्दा दुई वर्ष ढिला भइसक्दा पनि काम सम्पन्न भएको छैन । ठेकेदारले दुई वर्षसम्म त सडक भत्काएर मात्रै छाडेको थियो । स्थानीयको चर्को दवावपछि ठेकेदारले गत मंसिरबाट कालोपत्रेको तयारीका लागि ग्राभेलिङ र वेशको काम थालेको थियो ।