राप्रपा (संयुक्त) को बैधानिकतामा प्रश्न, राणा र लोहनी अन्यौलमा

0
Shares

गंगा बराल, काठमाडौं ।
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिँदा कागजात अपुग भएपछि राप्रपा (संयुक्त) का अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको राजनीति संकटमा परेको छ ।

गत माघ १८ गते एकता भएर नयाँ पार्टी बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बनेको थियो । राप्रपा (प्रजातान्त्रिक) को अध्यक्ष राणा र एकीकृत राप्रपा राष्ट्रवादीको अध्यक्ष लोहनी थिए । एकता भएपनि पार्टीले औपचारिकता नपाउँदा पार्टीका नेता नै अब के गर्ने भन्नेमा अन्यौलमा छन् । राप्रपाले हलो चिन्ह मागेको छ । लेटरप्याडमा पनि हलो चिन्ह नै प्रयोग छ । पार्टीले आयोगमा ६४ जनाको केन्द्रीय समिति रहेको नामावली बुझाएको छ । राप्रपा (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आयोगमा दिएको डकुमेन्ट सबै पूरा भएको बताउनुभयो । ‘२÷४ दिनमै दर्ता होला, हामीले बुझाएका छौं, बाँकी के छ के छैन भनेर हेर्ने काम आयोगको हो’ लोहनीले भन्नुभयो ।

राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाइएको ऐनको दफा १० मा दलहरु एकीकरण हुन वा गाभिन सक्ने व्यवस्था छ । यो दफाको उपदफा (१) मा भनिएको छ ‘ दफा ४ बमोजिम दर्ता भएका दुई वा दुईभन्दा बढी दलहरु एक आपसमा सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्नेछन् ।’ दफा ४ मा दल दर्ता हुनुपर्ने व्यवस्था छ । यसै दफामा थपिएको छ ‘ उपदफा १ बमोजिम एकीकरण हुन वा गाभिन सम्झौता भएको ४५ दिनभित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र उपदफा १ बमोजिमको सम्झौताको प्रतिलिपि संलग्न गरी आयोगमा निवेदन दिनुपर्नेछ ।’ तर यसलाई पार्टीले मानेको छैन ।

पार्टी दर्ता गर्ने जिम्मेवारी पाएका कार्य सम्पादन समितिका अर्का सदस्य बाबुराम बस्नेतले अहिलेसम्म आयोगले कुनैपनि ‘डकुमेन्ट’ नपुगेको नभनेको बताउनुभयो । पार्टीले फरकफरक समयमा प्रकाशित गरेको विज्ञप्तिमा कहिले दुवै पार्टीको अस्तित्व रहेको र नरहेको भनिएकाले के हो भन्ने ‘कम्फ्युज’ छ । फागुन २८ गते प्रकाशित पार्टीको अर्को विज्ञप्तिमा भने दुवै पार्टीका सबै सञ्रचना यथावत रहेको भनी लेखिएको छ । त्यसअघि निकालेको विज्ञप्तिमा नरहेको भनिएको थियो ।

२०७४ भदौ ८ गते राणा अध्यक्ष रहेको राप्रपा (प्रजातान्त्रिक) को केन्द्रीय समितिको बैठकले ६९ जनाको केन्द्रीय समिति रहेको देखाएको छ । लोहनी अध्यक्ष रहेको पार्टीमा १ सय १ जनाको केन्द्रीय समिति छ भनिएपनि त्यो संख्या १ सय ५० भन्दा बढी भएको स्रोतको भनाई छ ।
लोहनीको पार्टी छोडेर राणाकामा गएका ३१ जनाको नाम आफ्नो पार्टीमा नरहेको भन्दै लोहनीको पार्टीले निर्वाचन आयोगमा २०७४ पौष १४ गते पत्र पठाएको थियो । राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विष्णुप्रसाद भट्टराइले राणा, लोहनी र अरु पार्टी छोडेर गएको हुनाले अरु २ वटा पार्टीको अस्तित्व कायमै रहेको बताउनुभयो ।

५ औं नम्बरमा केन्द्रीय सदस्य रहेका केशरबहादुर विष्टले पार्टीमा केहीकेही समस्या रहेको बताउनुभयो । निर्वाचन आयुक्त नरेन्द्रप्रसाद दाहालले आवश्यक प्रक्रिया नपु¥याई आए दल दर्ता गर्न नसकिने बताउनुभयो । ‘जे चाहिन्छ भनेर ऐनमा व्यवस्था भएको छ, त्यो नभई दल दर्ता गर्ने कुरै आउँदैन’ दाहलले भन्नुभयो ‘नीति, नियम सबैका लागि एउटै भएकाले मापदण्ड हेरेपछि मात्र दर्ताको प्रोसेसमा जान्छ ।’