नेपाल बार एशोसिएसनमा चुनावी चहलपहल

0
Shares

काठमाडौँ ।
कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको निर्वाचन नजिकिँदै जाँदा चुनावी चहलपहल निकै बढेको छ ।

एशोसिएनको यही चैत १६ गते हुने २५ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको नजिकिँदै जाँदा चुनावी चहलपहल बढेको हो । उम्मेदवारलाई मतदाता आफ्नो पक्षमा पार्न चटारो बढेको छ । चुनावी रौनकका कारण उम्मेदवारहरु अदालत आसपासमा कानून व्यवसायहीको समूह बनाएर चुनावी चर्चा र प्रचारमा व्यस्त हुने गरेका छन् ।

चुनावमा नेपाल कम्युनिष्ट पार्टी निकट कानून व्यवसायीको समूह ‘प्रगतिशील, पेशागत तथा समावेशी समूह’ र नेपाली काङ्ग्रेस निकटका कानून व्यवसायी समूह ‘बृहत् लोकतान्त्रिक समूह’ प्यानल नै बनाएर प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समूहको नेतृत्व अधिवक्ता सुनील पोखरेलले गर्नुभएको छ भने प्रगतिशील समूहको नेतृत्व वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले गर्नुभएको छ । यी दुवै बलिया उम्मेदवार भएको हुँदा दुई सङ्गठनबीच चुनावी प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ ।

दुवै समूहले आ–आफूले चुनाव जित्ने दाबी गर्दै चुनावी मैदानमा होमिएका छन् । प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता श्रेष्ठले व्यावसायिक निष्ठा र प्राज्ञिक बार बनाउने प्रतिबद्धता आफ्नो चुनाव जित्ने आधार भएको दाबी गर्नुहुन्छ ।

“न्यायपालिकालाई राजनीतिकमुक्त बनाई प्राज्ञिक, कानून व्यावसायिकको निष्ठाको बार बनाउन, स्वतन्त्र न्यायपालिकालाई विवादरहित बनाइ न्याय सम्पादनको वातावरण बनाउन जरुरी छ”, उहाँले थप्नुभयो, “स्वतन्त्र न्यायपालिका निर्माण, न्यायाधीश नियुक्तिलगायतका विवादका अन्त्यका लागि यो समूहले काम गर्नेछ ।” प्रगतिशील समूहका श्रेष्ठलाई राष्ट्रिय जनता पार्टी निकट कानून व्यवसायीको समर्थन रहेको छ ।

लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार तथा बारका पूर्वमहासचिव पोखरेलले नेतृत्व केन्द्रित नभई नीति केन्द्रित बार बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

“नेतृत्व केन्द्रित नभई नीति केन्द्रित बार बनाउने यो समूहको नीति हो”, उहाँले भन्नुभयो, “स्वतन्त्र न्यायपालिका, विधिको शासन कायम गर्न लोकतान्त्रिक समूहको जीत सुनिश्चित छ”, उहाँले सबै कानून व्यवसायी आफ्नो समूहको पक्षमा रहेको हुँदा आफूले जित्ने दाबी गर्नुभयो । लोकतान्त्रिक समूहका पोखरेललाई राष्ट्रिय प्रजातन्त्र पार्टी निकट कानून व्यवसायीको साथ छ ।

बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक जना र सातै प्रदेशबाट एकएक गरी आठ उपाध्यक्ष निर्वाचित हुने प्रावधान छ । निर्वाचनको लागि गत फागुन ६ गते उम्मेदवारी दर्ता गरिएको थियो । बारको २५ सदस्सीय कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको छ । देशभर रहेका १० हजार ३१३ मतदाताले ३५ मतदान केन्द्रबाट मतदान गर्नेछन् । केन्द्रीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
रासस