बजार अनुगमनमा स्थानीय तह उदासीन

0
Shares

हिक्मत नेपाली, दैलेख ।
उपभोक्ताको हित संरक्षणमा दैलेखका स्थानीय तह उदासीन देखिएको पाईएको छ । उपभोक्ताको अधिकारलाई प्रभावकारी बनाउन हरेक स्थानीय तहले स्थानीय सरकार सचालन ऐन २०७४ बमोजिम उपभोक्ता संरक्षण कार्यबिधि र बजार अनुगमन निर्देशिका तयार पारी उपभोक्ताको हितमा कार्य गर्नु पर्ने हुन्छ । तर त्यस तर्फ स्थानीय तहको ध्यान नगएको पाइएको हो । संघिय संरचना अनुसार बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको भएपनि स्थानीय तह बजार अनुगमनमा उदासीन देखिएको यहाँ आयोजित कार्यक्रमका सहभागिले गुनासो गरेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको आयोजनामा दैलेखमा भएको वडा स्तरिय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि तालिमका सहभागिले यस्तो गुनासो गरेका हुन् । यहाँका जनप्रतिनीधि, नागरिक समाज, व्यापारी तथा शिक्षकहरु सहभागि उक्त तालिमका सहभागिले कालोबजारी र ठगी नियन्त्रणका लागि स्थानीय तहले अनुगमन नै नगरेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय दैलेख सदरमुकामका नजिकका व्यापारिक केन्द्रमा बजार अनुगमन गर्दै आएको भएपनि स्थानीय तहले त्यस तर्फ ध्यान नदिएको नागरिक समाज दैलेखका अध्यक्ष खड्ग बहादुर सिजापतीले बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधिले काम गर्न थालेको दुई बर्ष पुग्न लाग्दा समेत बजार अनुगमनमा स्थानीय तहको ध्यान जान नसकेको सिजापतीको भनाई छ । तालिममा दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उपभोक्ता सचेत नहुँदा ठगिने गरेको बताउनुभयो ।

उपभोक्ताको अधिकार र स्थानीय तहको भूमिकाका विषयमा सहभागिलाई जानकारी गराउनुहुँदै प्रमुख जिल्ला अधिकारी बास्कोटाले उपभोक्ता सचेत भएमात्रै कालोबजारी र ठगी हुने समस्या रोकिने धारणा राख्नुभयो । ‘ नेपालको संबिधान २०७२ को धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने गरि मौलिक हकको व्यवस्था गरेको छ,’ बास्कोटाले भन्नुभयो ‘उपभोक्ताको हितमा राज्य संवेदनशील छ ।’

स्थानीय तहले उपभोक्ताको हितमा विशेष ध्यान दिन सुभाव दिनुहुँदै प्रमुख जिल्ला अधिकारी बास्कोटाले स्थानीय तहले बनाउने कानुन उपभोक्ता मैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारले बजार अनुगमन गर्नुपर्ने बताउदै उहाँले स्थानीय तहले गर्ने बजार अनुगमन गोप्य र पारदर्शी बनाउन सुझाव दिनुभयो । ‘बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ, प्रमुख जिल्ला अधिकारी बास्कोटाले भन्नुभयो ‘दैलेखका स्थानीय तहले बजार अनुगमनलाई खासै महत्व दिएको पाईदैन्, अब उपभोक्ता आफै सचेत हुनुपर्छ ।’ सबै मिलेर उपभोक्तालाई ठगिनबाट रोक्नुपर्ने उहाँको भनाई छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेष बहादुर थापाले गुणस्तरहिन उपभोग्य बस्तु विक्री गर्ने व्यापारीहरुलाई कानुनी दायरामा ल्याईने बताउनुभयो । ‘दैनिक उपभोग्य सामग्री किन्न जाँदा गुणस्तरको होकी होइन् बुझ्ने, बिल माग्ने, उपभोग्य मिति हेर्ने, अधिकतम् खुद्रा मुल्य भन्दा बढी लिएको छ की हेर्ने,’ उहाँले भन्नुभयो ‘यति गरे ठगिनबाट जोगिन्छ ।’

कालोबजारी र ठगिनबाट जोगिन उपभोक्ता सचेत हुनुपर्ने बताउदै थापाले ठगि हालेमा कारबाही र नियमन गर्ने निकायमा उजुरी गर्नुपर्ने बताउनुभयो । तालिममा सहभागिले दैनिक उपभोग्य बस्तुको कालोबजारी र ठगी नियन्त्रण गर्न बजार अनुगमनलाई नियमित बनाउन स्थानीय प्रशासन र स्थानीय तहलाई आग्रह समेत गरेका छन् । सोहि अवसरमा नारायण नगरपालिका वडा नं. १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय वडा स्तरिय खाद्य अनुगमन समिति गठन गरिएको छ ।