‘सूर्तीजन्य पदार्थको उद्योग नहुँदा फरक पर्दैैन’

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
नेपालमा ३५ दशमलव ५ प्रतिशत पुरुष र १५ दशमलव ५ प्रतिशत महिला धुमपान गर्छन् भने सूर्तीजन्य पदार्थमात्र सेवन गर्नेमा ३१ दशमलव २ प्रतिशत पुरुष र १५ दशमलव ५ प्रतिशत महिला छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक १० जनामा एक जनाको र प्रत्येक ६ सेकेण्डमा एक जनाको सूर्तीजन्य वस्तु सेवनका कारण ज्यान जाने गरेको छ। विश्व स्वास्थ्य संगठनले यस्तै अवस्था रहे सन् २०३० मा ८० लाख मानिसको मृत्यु हुने अनुमान गरेको छ। नेपालमा सूर्तीजन्य पदार्थमा चालिएका अभियानहरू सकारात्मक भए पनि कार्यान्वयनमा भने समस्या छ। सूर्तीजन्य पदार्थबाट लाग्ने रोगका कारण वर्षेनी मृत्यु हुने क्रम डरलाग्दो देखिएको छ। तर, अभियानको कार्यान्वयन भने कमजोर देखिएको छ।

सूर्तीजन्य पदार्थका कारण वर्षमा कम्तिमा २७ हजार जनाको मृत्यु हुने गरेको छ। चुरोट, सूर्ती, गुट्खालगायत सूर्तीजन्य पदार्थका कारण क्यान्सर, दम, श्वासप्रश्वासमा समस्या हुने लगायत रोग लागेर वर्षमा नेपालमा २७ हजारको मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको तथ्यांकमा उल्लेख छ। ‘यो भयावह स्थिति नियन्त्रण गर्न जरुरी छ,’ केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा। भक्त केसीले बताउनुभयो। विश्वमा ७० लाख मानिसको सूर्तीजन्य पदार्थका कारण मृत्यु भएपछि राष्ट्रिय बहुक्षेत्रीय सूर्तीजन्य पदार्थ नियन्त्रण रणनीतिक योजना तर्जुमाका लागि प्रदेशस्तरीय सुझावका लागि टोली हेटौंडा आएको छ।

सुझावका क्रममा प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मानव बधशालाको उद्योग नभएजस्तै सूर्तीजन्य पदार्थको उद्योग नहुँदा फरक नपर्ने बताउनुभयो। ‘स्लोपोइजनका रुपमा मानिस मार्ने उद्योगबाट राजस्व संकलन हुने र रोजगारी पाइने भन्दैमा किन यस्तो उद्योग चलाउनुप¥यो रु,’ उहाँले प्रश्न गर्नुभयो। स्लोपोइजनका रुपमा रहेका सूर्तीजन्य पदार्थ नियन्त्रणमा राज्य लाग्नुपर्ने उहाँले बताउनुभयो। सूर्तीजन्य पदार्थ आयात रोकेर यहाँ त्यस्ता उद्योग बन्द गर्नुपर्ने मन्त्री दुलालले बताउनुभयो। ‘यस्ता उद्योग बन्द गर्नुको विकल्प छैन,’ उहाँको भनाइ छ।

प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेलले सार्वजनिकस्थल र सार्वजनिक निकायमा सूर्तीजन्य पदार्थ पूर्णरुपमा प्रतिबन्ध लगाइनुपर्ने बताउनुभयो। नेपालले सूर्ती नियन्त्रणका लागि उत्कृष्ट कानुन ल्याएको भन्दै एक लाख डलर राशिको ‘ब्लुम्बड ग्लोबल टोबाको कन्ट्रोल अवार्ड’ समेत हात पार्न सफल भयो।