दैलेखमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

0
Shares

दैलेख ।
दैलेखको माथिल्लो डुङ्गेश्वरमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । स्वास्थ्य सेवाबाट कोही पनि नागरिक बञ्चित नहुन भन्ने उदेश्यले डुङ्गेश्वर गाउँपालिका–६ को माथिल्लो डुङ्गेश्वरमा स्वास्थ्य इकाई स्थापना गरिएको हो । घरदैलोमै स्वास्थ्य सेवा दिन खोलिएको इकाई स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका यहाँका सर्वसाधरणलाई राहत दिने डुङ्गेश्वर गाउँपालिका–६ का वडाध्यक्ष बम बहादुर विसीले बताउनुभयो । स्वास्थ्य संस्था नभएको कारण मुख्य गरी वडाका स्थानीय बासिन्दा सामान्य विरामी पर्दा समेत स्वास्थ्य सेवा पाउन सकेका थिएनन् ।

स्वास्थ्य संस्था नभएको यस वडामा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको वडाध्यक्ष विसीको भनाई छ । ‘इकाईले सुर्खेत–दैलेख सडकखण्डमा यात्रा गर्ने जो सुकैलाई सहजै स्वास्थ्य सेवा पाउनेछन्,’ वडाध्यक्ष विसीले भन्नुभयो ‘यहि सडकखण्डमा बेला मौकामा हुने दुर्घटनामा परी घाइते हुनेहरुले बेलैमा प्राथमिक उपचार समेत नपाउने बाध्यता हटेर जानेछ ।’ इकाईमा दैलेख सुर्खेत सडकखण्डमा यात्रा गर्ने जो सुकैलाई सहजै स्वास्थ्य सेवा पाउनेछन् ।

यहाँ यस अघि रहेको कृषि सेवा केन्द्रको भवनमा स्थापना गरिएका उक्त सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले गुणस्तरीय स्वास्थ्य सेवा दिन गाउँपालिका तत्पर रहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका प्रमुख कार्यकारी अधिकृत रामबहादुर बुढाले हाललाई नियमित स्वास्थ्य सेवा र आकस्मिक उपचार सेवा सुरु गरिएको र भविष्यमा प्रसुती सेवा लगायतका स्वास्थ्य सेवाहरु बिस्तार गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । वडाध्यक्ष बमबहादुर बीसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य संयोजक दलबहादुर सुनारले बोल्नुभएको थियो ।

गाउँपालिकाले हाललाई सामुदायिक स्वास्थ्य इकाईमा अनमी इश्वरी मल्ल र एक जना कार्यालय सहयोगी खटाएको छ । नयाँ संरचना अनुसार स्वास्थ्य संस्था नभएका वडाहरुमा आवश्यक जनशक्तिको दरबन्दी सहित सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने क्रममा डुङ्गेश्वर गाउँपालिका वडा नं. ४ र ६ मा पनि संघीय सरकारले नै कार्यक्रम स्वीकृत गरे अनुरुप माथिल्लो डुङ्गेश्वर बजारमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । इकाई स्थापना भएपछि यहाँका सर्वसाधारण हर्षित भएका छन् ।