हिउँदे अधिवेशन सकियो

0
Shares

गंगा बराल, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत बनेर आतंक मच्चाउने दिन गएको बताउनुभएको छ ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उहाँले देशमा आतंक मच्चाउने र बन्दुकको भरमा क्रान्ति गर्ने सपना नदेख्न विप्लव माओवादीलाई चेतावनी दिनुभएको हो ।

‘निर्वाचन हुन दिन भन्या छ, निर्दोष मान्छेलाई जथाभावी मारेको छ, सञ्चार क्षेत्रका टावर ध्वस्त पारिएको छ, यो कुरालाई सरकारले स्वीकार्न सक्दैन’ विप्लव समूहप्रति निकै आक्रामक हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो –‘हतियार बुझाउन लुरुलुरु आए हुन्छ, नआए कसरी नियन्त्रणमा लिनुपर्छ सरकारलाई थाहा छ ।’

उहाँले थप्नुभयो–पार्टी दर्ता, कार्यालय र ठाउँ ठेगाना नै नभएको र बिकासका काम हुन नदिने, भइरहेका काममा अवरोध गर्नेलाई सम्झाउँदा भएन भने राज्य हदैसम्म कठोर बन्छ ।’

प्रधानमन्त्री ओलीले सीके राउतसँगको सम्झौतापछि पृथकतावादी र विखण्डनकारी गतिविधिको अन्त्य भएको दावी गर्दै भन्नुभयो–‘अब बिखण्डनबादी संगठन छैन, विखण्डनवादी सोच कुनै पनि समय विकृत हुन सक्थ्यो । राष्ट्र विखण्डनको सम्भावना समाप्त भएको छ ।’

लुरुलुरु आएर हतियार बुझाऊ, नआए खोसिन्छ: प्रम ओली
वाइडबडी काण्ड कहाँ गयो, आकाशमा ?: गच्छदार
सरकारले पावरको ‘मनोपोली’ गरिरहेको छ: ठाकुर

आफूलाई लोकतान्त्रिक पार्टीका नेता हुँ भन्ने केही सांसदले राजतन्त्र फर्काउँछु भनेर भाषण गरिरहेको भन्दै त्यस्ता दिनको कल्पना गर्न नसकिने बताउँदै उहाँले ठोकुवा गर्नुभयो–जनता रैतीबाट नागरिक भइसकेकाले राजतन्त्र फर्कने अवस्था आउने छैन ।

संसदका ३ वटा अधिवेशन ऐतिहासिक भएकाले आगामी दिनमा यसैलाई आधार मानेर विकास र समृद्धिको मार्गमा अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उहाँले सरकारले समयमै सहमतिका आधारमा विधेयक ल्याएको, मौलिक हक कार्यान्वयनमा सफलता पाएको, कानून बनाएर कार्यान्वयनको दिशामा समेत अघि बढेकाले पछाडि फर्कने सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।
सरकारको १ वर्ष सरचना निर्माण र त्यसलाई व्यवस्थापन गर्ने काममा सफल भएकाले आगामी दिनमा आशंका गर्न र भ्रममा पर्न पर्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

आफूले सुरुदेखि नै भन्दै आएको ‘म भ्रष्टाचार गर्दा पनि गर्दिन र गर्न पनि दिन्न’ भन्ने नाराले सार्थकता पाएको र भ्रष्टहरु कारवाहीमा परिरहेको जीकिर गर्दै उहाँले ३३ किलो सुनकाण्डमा संलग्नलाई पक्राउ गरी कारवाही प्रक्रियामा लगिएको स्पष्ट पार्नुभयो । १ वर्षमा ८ सय किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले सरकारले संसदलाई वेवास्ता गरेको आरोप लगाउनुभयो । सरकार संसदप्रति जवाफदेही नभईसदनमा उठेका महत्वपूर्ण सवालमा जवाफ नदिई प्रधानमन्त्री र मन्त्री भाग्ने गरेको टिप्पणी गर्नुभयो । ‘२ तिहाइको सरकार छ भनेर मात्र हुँदैन, सरकार संसदप्रति उदासिन छ, सरकारले नै लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको छ’ गच्छदारले भन्नुभयो ‘३३ किलो सुनकाण्ड कहाँ पुग्यो ? वाइडबडी काण्ड कहाँ गयो, आकाशमा पुग्यो कि ?’

गच्छदारले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै निर्मला पन्त घटनाको वास्तविकताबारे प्रधानमन्त्रीसँग प्रश्न गर्नुभयो । ‘अहिलेसम्म हत्या, हिंसा र बलात्कार कति भए त्यसबारे सरकारले किन जवाफ दिँदैन, तथ्यांक किन प्रस्तुत गर्दैन’ गच्छदारले भन्नुभयो‘ सीके राउतसँग गरेको सहमति राम्रो छ तर त्यो सधैंका लागि हुन्छ कि हुँदैन यो मुख्य प्रश्न हो ।’ उहाँले विप्लव समूहसँग वार्ता गरेर सरकारले नै निकास निकाल्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनता पार्टी (राजपा) का संसदीय दलका नेता महन्थ ठाकुरले सरकारको व्यवहार जनतालाई मन नपरेकाले कुनै समय बिद्रोह हुनसक्ने बताउनुभयो ।

‘जनता राज्यबाट पीडित छन्, न्याय माग्दा मर्नुपरेको छ, सरकार शक्तिको आडमा आतंक मच्चाइरहेको छ’ ठाकुरले भन्नुभयो ‘सरकार हाम्रो विरुद्धमा काम गर्दैछ, हाम्रा मानिसहरु अनाहकमा मरिरहेका छन्, धेरै कार्यकर्ता तथा नेताहरु जेलमा छन्, सरकार सधैं आश्वासन दिने काममात्र गर्छ ।’
ठाकुरले सरकारले पावरको ‘मनोपोली’ गरेको आरोप लगाउनुभयो । ठाकुरले पनि हिजोको दिनमा राज्य आतंकको विरुद्धमा हतियार उठाएको तत्कालीन माओवादीलाई वार्ता गरेर यहाँसम्म ल्याइएको भन्दै अहिले अरु आन्दोलनरत पक्षसँग यही तरिका अपनाउनसमेत सरकारलाई आग्रह गर्नुभयो ।

ठाकुरले राजपाले पटकपटक उठाउँदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नसमेत सरकारलाई आग्रह गर्नुभयो । प्रतिवेदन सार्वजनिक नगरेर सरकारले आफूहरुलाई अल्मल्याइरहेको उहाँको आरोप थियो ।
प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले २ साताअघिबाट पटकपटक प्रतिनिधिसभाको बैठक अवरोध गर्दै आएको थियो । आइतबारको पहिलो बैठक पनि रापजाले त्यही विषयलाई उठाएर अबरोध गरेको थियो ।
यसअघि नै प्रधानमन्त्रीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई कुनै समस्या नरहेको बताउनुभएको थियो । प्रधानमन्त्रीले प्रतिवेदन हेरिरहेको र छिट्टै सार्वजनिक गर्नेसमेत आश्वासन दिनुभयो ।

तेस्रो अधिवेशन अन्त्य

संघीय संसदको चालु तेस्रो अधिवेशन आइतबार राती १२ बजेबाट अन्त्य भएको छ ।

राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि संघीय संसद्को यो अधिवेशन अन्त्य भएको हो ।

प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले बैठक अन्त्यसम्बन्धी पत्र संसदसमक्ष पढेर सुनाउनुभएको हो ।

प्रतिनिधिसभामा यो अवधिभर ४६ वटा बैठक बसे । यो अधिवेशन पौष ११ गतेबाट सुरु भएको हो ।

आइतबार राष्ट्रियसभाको पनि बैठक बसेको थियो । यो अधिवेशनलाई विधेयक अधिवेशन भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै सदनमा मन्तव्य दिनुभएको थियो ।

२०७४ फागुन २१ गते सुरु पहिलो अधिवेशन चैत्र २० गतेसम्म र २०७५ बैशाख २३ गतेबाट सुरु दोस्रो अधिवेशन असोज ११ गतेसम्म चलेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आव्हान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा पर्दछन् । अहिलेसम्म दुवै सभाको अधिवेशन एकैदिन सुरु भएर एकै दिन अन्त्य हुँदै आएका छन् । दुबै सदनमा यो अधिवेशनमा भएका काम कारबाहीबारे जानकारी गराइएको थियो ।

सरकारले जेठ १५ गते वजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले बैशाखको तेस्रो सातातिर अर्को बैठक आव्हान हुनसक्ने संसद सचिवालयले जनाएको छ ।

वजेट ल्याउनुअघि प्रि वजेट छलफल गरिन्छ । गतवर्ष बैशाख २३ गते बजेट अधिवेशन आव्हान भएको थियो ।