प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता

0
Shares

 काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल मित्रराष्ट्र थाइल्याण्डको बैंककमा संचालित विम्स्टेक नेशनल सुरक्षा प्रमुखहरूको तेस्रो वार्षिक बैठकमा सहभागी भई शनिबार स्वदेश फिर्ता हुनुभयो । प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा त्यसतर्फ गएका प्रतिनिधि मण्डलका सदस्यहरु समेत स्वदेश फिर्ता हुनुभएको छ ।

उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री लगायत बरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभयो ।

यसअघि उक्त बैठकलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले चौथो बिमस्टेक सम्मेलन पछिको पहिलो उच्च तहको यस बैठकले नेपाल लगायत बिमस्टेक राष्ट्रहरु साईबर अपराध, आंतककारी गतिविधि, मानब बेचबिखन, लागूऔषध कारोवार तथा तस्करी लगायतका संगठित अपराधको सामना गर्न तत्पर रहन उत्प्रेरित गरेको बताउनुभएको थियो । साथै शान्ति र सुरक्षा विरुद्ध लक्षित यस्ता संगठित अपराधलाई निस्तेज पार्न प्रतिवद्ध रहेको समेत उहाँले उल्लेख गर्नुभएको थियो ।

वर्तमान अवस्थामा देखिएका प्रविधिमा आधारित अपराधबाट सिर्जित सुरक्षा चुनौतिलाई सामना गर्न र देशभित्र तथा अन्तरदेशीय अपराध नियन्त्रण गर्नका लागि उपलब्ध श्रोत साधनको उच्चतम् प्रयोग गरी सदस्य राष्ट्रहरुले डटेर सामना गर्न तत्पर रहेको समेत उहाँले बताउनुभएको थियो । उक्त बैठकलाई सम्बोधन गर्ने क्रममा गत वर्ष नेपालमा सम्पन्न भएको चौथो बिमस्टेक सम्मेलनमा भएको सहमतिलाई कार्यान्वयन गर्दै नेपाल प्रहरीले समुदाय(प्रहरी साझेदारी अवधारणाको विकास गर्नुका साथै मानब वेचबिखन नियन्त्रण ब्यूरो र साईबर ब्यूरोको स्थापना समेत गरिएको उहाँले उल्लेख गर्नुभएको थियो ।

सम्बोधनको अन्त्यमा प्रहरी महानिरीक्षक खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने मूल नारा अनुरुप बिमस्टेक सदस्य राष्ट्रलाई शान्त र सुरक्षित बनाउन प्रतिवद्ध रहेको सन्देश नेपालका सम्माननीय प्रधानमन्त्रीले दिनुभएको समेत बताउनुभएको थियो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालको सम्बोधनलाई उच्च प्रशंसा गरिएको थियो ।

बिमस्टेक सदस्य राष्ट्रका सुरक्षा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको उक्त बैठकमा आतंकवाद, हातहतियार, लागूऔषध, मानव बेचबिखन लगायतका संगठित अपराध तथा विपद व्यवस्थापन र सुरक्षा क्षेत्रका विविध विषयमा सदस्य राष्ट्रहरुका सुरक्षा अधिकारीवीच सहयोग आदान प्रदान, क्षमता अभिवृद्धि, असल अभ्यास तथा अनुभव समेतको आदान प्रदान लगायतका विषयमा छलफल भएको थियो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) ले मुख्य १४ वटा बिषयलाई मुख्य प्राथिमकताको क्षेत्रमा राखेको छ । ती बिषयहरुमा व्यापार तथा लगानी, प्रविधि, उर्जा, यातायात तथा संचार, पर्यटन, कृषि तथा मत्स्य कृषि, सांस्कृतिक सहयोग, वातावरण तथा प्रकोप व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, जनसम्पर्क, गरिबी न्यूनिकरण, आतंकवाद तथा अन्तर्राष्ट्रिय अपराध र जलवायु परिवर्तन रहेका छन् ।

प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा ४ सदस्यीय प्रतिनिधि मण्डल चैत ६ गते त्यसतर्फ प्रस्थान गरेको थियो । यसअघि दोस्रो सुरक्षा बैठक मार्च २८, २०१८ मा बङगलादेशको ढाकामा सम्पन्न भएको थियो ।