रुकुममा प्रादेशिक महोत्सवको रौनक


धनवीर दाहाल,रुकुम ।
रुकुम पश्चिममा पहिलो पटक भएको प्रादेशिक महोत्सवको रौनक सुरु भएको छ । जिल्ला सदरमुकाम मुसिकोटमा पहिलो प्रादेशिक कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको हो ।

कृषि उत्पादनको व्यवसायिकरण, पर्यटन प्रवद्र्धन तथा कला संस्कृतिको संरक्षण तथा प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान रुकुमले जनाएको छ ।

महोत्सवको उद्घाटन गर्दे कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले जिल्लामा उत्पादीत बस्तुको बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटनको संभावना बोकेको जिल्ला रुकुम पश्चिममा कृषि उत्पादनको उतिकै संभावना रहेको बताउनुभयो ।

रुकुम पश्चिम समृद्धिका आधार, कला, संस्कृति, पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव यहि चैत्र १७ गतेसम्म संञ्चालन हुनेछ ।
लोक तथा दाहोरी गीत प्रतिष्ठान रुकुमले प्रतिष्ठानको भवन निर्माण सहयोगार्थ भनेर आयोजना गरेको महोत्सवमा व्यवसायिक स्टल, बाल उद्यानका साथै हरेक दिन राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तूति रहने प्रतिष्ठानका अध्यक्ष अमित परियारले जानकारी दिनुभयो ।

महोत्सवभर दर्शकलाई मनोरञ्जन दिन निखिल उप्रेती, विराज भट्ट, प्रमोद खरेल, पशुपती शर्मा, कुलेन्द्र विक आदि कलाकारको सांस्कृतिक प्रस्तूति रहने आयोजकले जनाएको छ । यसै गरी महोत्सवमा बिभिन्न कृषि तथा पर्यटनसँग सम्बन्धीत स्टलहरु पनि प्रर्दशनमा राखिएको छ ।
सचिव तुल देवकोटाका अनुसार महोत्सवलाई फलदायी बनाउनका लागी सरोकारवालाले पनि साथ दिएका छन् ।