मधेशमा तीनदिन मनाइयो होली


कृष्णउदास खनाल, वीरगन्ज ।
यस वर्षको होली तराई मधेश क्षेत्रमा तीनदिन मनाइएको छ ।

तराईमा बिहीबार होली मनाइँदै छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सहित बारा,पर्सा लगायतका स्थानहरुमा भने शुक्रबार मनाइएको छ । होली पर्वमा सरकारले चैत ६ गते पहाडमा र तराईमा चैत ७ गते बिदा दिएको थियो। प्रदेश २ सरकारले प्रदेशभर होली मनाउन ७ र ८ गते बिदा दिएको छ। १५ दिवसीय मिथिला मध्यमा परिक्रमाअन्तर्गत महोत्तरीको कञ्चनवनमा परिक्रमा यात्रीले होली मनाएपछि मिथिलामा विधिवत् होली प्रारम्भ हुन्छ। कञ्चनवनमा त्रेता युगमा रामसीताले होली खेलेको विश्वास छ ।

बिहीबार तराई मधेश क्षेत्रमा माछा मासुको प्रयोग कम हुने भएकाले मांसहारीहरुले शुक्रबार होली पर्व मनाएका कारण शुक्रबार पनि तराईका जिल्लाहरु होलीमय भएका हुन् । बिहीबार भन्दा शुक्रबार होली मनाउनेहरुको संख्या वीरगन्ज बजारमा धेरै देखिएको थियो ।

यद्यपी वीरगन्जमा पहाडी र मधेशी समुदायका ब्यक्तिहरुको संयुक्त बस्ती भएका कराण होली बुधबारबाट नै शुरु भएको हो । होली सामाजिक सदुभावको महत्वपूर्ण पर्व भएका कारण यस बर्ष तिनैदिन यहाँका सबै समुदायले होली पर्व मनाएको भोजपुरी भाषाका प्राज्ञ डा. बिश्वम्भर शर्माले बताए । वीरगन्ज सहित तराई मधेशका जिल्लाहरुमा हिन्दु सहित मुस्लिम सुमदायका ब्यक्तिहरुले समेत बुधबार,बिहीबार र शुक्रबार तीनदिन होली पर्व मनाएको पनि उनले बताए । नेपालको पहाडी भेगमा भने बुधबार नै होली मनाइएको छ ।