परिणाम देखिने गरी विकासका काम गर्न निर्देशन

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर
जिल्ला समन्वय समिति भक्तपुरले प्रथम तथा द्वितीय चौमासिक अवधिमा संचालित योजना तथा कार्यक्रमहरुको चौमासिक समिक्षा वैठकको आयोजना गरेको छ ।कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनताले तिरेको करबाट तलब खाएका कर्मचारीले राज्यको पद्धति र अनुशासनलाई नमानी विकास र समृद्धिको अभियानमा अवरोध गरे कारवाही हुने चेतावनी दिनुभयो ।

सांसद बस्नेतले कर्मचारीको सामान्य कमीकमजोरीका कारण जनतामा विभिन्न प्रकासका समस्या आउने गरेको भन्दै कमजोरीलाई सम्बन्धीत निकायले अनुरोधका रुपमा लैजाँदा पनि पुनः कमजोरी गरे कर्मचारीलाई कारवाहीको प्रकृया अघि बढ्ने बताउनुभयो ।

उहाँले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको अनावश्यक काम गर्नेलाई नियन्त्रण गर्नुपर्ने बताउँदै कुनै पनि सरकारले राज्यको नीति नियमभन्दा बाहिर गई अनावश्यक कार्य गर्नु नहुने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले आफ्नो अधिकारभन्दा बाहिर गई विभिन्न गतिविधिहरु गरेकोमा आपत्ती जनाउँदै त्यस्तका कार्यहरु रोक्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीसँगको समन्वय नै विकासको मेरुदण्ड भएको बताउँदै सांसद बस्नेतले नयाँ संविधान निर्माणसँगै राज्यको पूनःसंरचना पश्चात तीनै तहका सरकारले विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनुभयो ।जिल्लाको नामसँग मानवीय भावना जोडिएको बताउँदै उहाँले भक्तपुर जिल्लामा स्थानीय, प्रदेश तथा संघिय सरकारले प्रभावकारी ढंगले नै आफ्नो आफ्नो क्षेत्रबाट काम अघि बढाइरहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिलाई संविधानले नै विशेष अधिकार दिएर समतिले आफ्नो काम अघि बढाइरहेको बताउनुभयो । पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा केही मात्रामा खानेपानी, संरचना लगायतका समस्या रहेता पनि आगामी वर्ष समाधान हुने जानकारी गराउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनले ढल हाल्ने काम ढिलाई गरेका कारण सडक तथा विभिन्न भौतिक संरचनाहरु निर्माण गर्न समस्याहरु उत्पन्न भइरहेकाले मेलम्ची आयोजनाले ढल हाल्ने कामलाई चाँडो गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद बस्नेतले भक्तपुरमा सडक निर्माण तथा विस्तारको काम तिव्र गतिमा अघि बढेता पनि विजुलीका पोलहरु नसारेका कारण काममा अवरोध आइरहेको बताउनुभयो । उहाँले सम्बन्धीत नगरपालिकाले आवश्यक विजुलीको पोल व्यवस्था गर्ने र आवश्यक ठाउँमा विद्युत प्राधिकरणले पोल सार्ने समझादारी भएता पनि सम्बन्धीत निकायले आफ्नो जिम्मेवारी बहन नगरेका कारण त्यसलाई व्यवहारमा लागु गर्न कठिन भइरहेको बताउनुभयो । विद्युतको पोल सार्ने कामको अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले प्रणाली परिवर्तन भए पनि कर्मचारीको नीति र सोच परिवर्तन नभएको बताउनुभयो। अझै स्थानीय सरकारको मेहनत नपुगेको बताउँदै सरकारी कार्यालयले प्रतिवेदन प्रस्तुत मात्र गर्ने होईन कि परिणाम देखाउन सक्नुपर्ने उल्लेख गर्नुृृभयो ।अब सरकारले काम नगरे जनताले ढिलो चाँडो हिसाबकिताब खोज्ने बताउनुभयो ।