कांग्रेसका कोषाध्यक्ष पोखरामा भेला हुदै

0
Shares

काठमाडौं । नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलन चैत २८ र २९ गते पोखरामा हुने भएको छ । जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिको पोखरामा भएको आन्तरिक बैठकले सम्मेलनको मिति र स्थान तय गरेको हो ।

चैत २८ गते पोखरा सभागृहमा सम्मेलनको उद्घाटन हुने कार्यसमितिका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । कांग्रेसलाई सशक्त बनाउनकालागि कोषाध्यक्षको सम्मेलन प्रभावकारी हुने गुरुङले बताउनुभयो । ‘पार्टीलाई चलायमान र सुदृढिकरण गर्न सम्मेलनको महत्वपूर्ण भूमिका रहने छ’ गुरुङले भन्नुभयो –हामीले यसअघि गरेका कार्यक्रमले पनि पार्टीलाई बलियो बनाउने काम गरेको छ, सम्मेलनबाट कोषाध्यक्षले आफ्नो भूमिका पनि खोज्ने छन् ।’

सम्मेलनले विदेश पलायन भएका युवाहरूलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन नेतृत्वको ध्यानाकर्षण गरिने बताइएको छ । सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रह गर्ने भएको छ ।

गुरुङले कांग्रेसप्रति जनताको विश्वास बढ्दै गरेको भएपनि पार्टी नेतृत्वको कमजोरीका कारण तल्लो तहसम्म असर गरेका ले विभिन्न निर्वाचनमा पराजय हुनुपरेको दावी गर्नुभयो ।

कार्यसमितिकी महासचिव लक्ष्मी पाण्डेले कोषाध्यक्षको निरन्तर बैठक र दबाबले पार्टीलाई सही मार्गमा लाने प्रेरणा दिने बताउनुभयो । ‘पार्टीमा मेरो र तेरो भन्ने संस्कृति हावी छ, सबैले कांग्रेस भन्ने वातावरण बनाउन पनि दबाब दिन्छौं’ कास्की कांग्रेसकी कोषाध्यक्षसमेत रहेकी पाण्डेले भन्नुभयो ।

पोखरामा सम्पन्न बैठकले देवेन्द्र रानाभाटको संयोजकत्वमा मञ्च व्यवस्थापन, लक्ष्मी पाण्डेको संयोजकत्वमा अर्थ व्यवस्थापन, नबिन सिग्देलको संयोजकत्वमा प्रचारप्रसार, ओमप्रकाश गुरुङको संयोजकत्वमा स्वयंसेवक परिचालन, केवल गिरीको संयोजकत्वमा भोजन व्यवस्थापन र लक्ष्मण पहारीको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरेको छ ।