खाद्य संस्थानका गोदाम ३० वर्ष देखी अलपत्र

0
Shares

उत्तम नेपाल, भद्रपुर ।
पूर्वी पहाडी जिल्लामा खाद्यान्न सहज आपूर्तिको लागि झापाको सदरमुकाममा चन्द्रगढीमा नेपाल खाद्य संस्थानबाट स्थापना भएको खाद्य गोदाम नामै मात्रको हुन पुगेको छ । वि.सं. २०४४ साल तिर विर्तामोडमा खाद्य भवनसँगै कार्यालय सरेपछि चन्द्रगढीमा रहेका दुइ ओटा गोदाम प्रयोगविहीन बनेका छन् । विर्तामोड सर्नुभन्दा अघि चन्द्रगढीमा नै कार्यालय रहेको थियो ।

कृषि खरिद–बिक्री संस्थानमार्फत् खाद्यान्न आपूर्ति गर्ने उद्देश्यले निर्माण गरिएका ३ ठूला भवन अहिले प्रयोगविहीन भएका हुन् । विगत ३० वर्षयता नियमित प्रयोगमा आएका छैनन । करिब दुइ विघा क्षेत्रफल भित्र रहेका २ ठूला भवन खाद्य र एउटा कृषि सामग्री संस्थानको हो । भवनको अवस्था समेत जीर्ण बन्दै गएको छ ।

छानो लगाइएका जस्ता पाता पुरानो हुदै वर्षाको समयमा पानी चुहन थालेको छ भने झारपात उम्रेर घिनलाग्दो देखिएको छ । सदरमुकाममा रहेका अन्य सरकारी कार्यालयहरु धमाधम आधुनिक शैलिमा निर्माण भइहेका छन । तर खाद्य आपूर्ति मार्फत जनतालाइ बचाउनको निमीत्त निर्माण गरिएका गोदामको भने अवस्था नाजुक रहेको छ ।

विशेष गरी मेची अञ्चलमा रहेका इलाम,ताप्लेजुङ्, पाँचथर र फिदीम जिल्लाका नागरिलाइ लक्षीत गरि स्थापना गरिएका गोदाम पछिल्लो समय सवै क्षेत्रमा यातायात र सडक सञ्जालले गर्दा उपभोग्य सामग्री पुग्ने भएकोले खाद्य गोदाम प्रयोगविहीन बन्न पुगेको हुनसक्ने जानकारहरु वताउँछन् । विर्तामोड भवन सरेपछि चन्द्रगढीमा रहेको एउटा भवनमा प्रहरी प्रशासन ,उद्योगी लगायत उच्च दर्जाका व्यक्तिले व्याडमिण्टन खेल्ने र कृषि सामग्री संस्थानको भवनमा उसु प्रशिक्षण सञ्चालन भएको थियो ।

लगभग २० वर्ष जती खेल मैदानमा परिणत भएको स्थानीय बताउँछन् । २०७२ सालको भूकम्पमा बङ्गालादेशबाट आएका भूकम्प पीडितका राहत सामग्री राखेपछि व्याडमिण्टन बन्द भएको थियो । अर्को भवनलाइ निर्वाचन कार्यालयले भाडमा लिएको थियो । निर्वाचन सम्पन्न भइसकेको छ भने राहत वितरण पनि सम्पन्न भइसकेको अवस्था छ । राहत सामग्री राखेका कारण तत्काल भवन खाली नभएपछि हाल शारिरीक व्यायमको लागि मेची रङ्शाला छेउ हल निर्माण गरी प्रयोगमा ल्याइएको छ ।

कृषकबाट सङ्कलित धान, गहुँ, चामल पहाडी क्षेत्रमा बिक्री गर्दै आएको भवन तीनदशक यता नामै मात्रको हुन पुगेको झापा उद्योग वाणिज्य सङघका महासचिव पङ्कज कुमार शर्माले बताए । स्थानीय सर्वसाधारणलाई सहज होस भन्दै खोलिएको खाद्य गोदाम प्रयोगविहीन हुनु कृषक र सर्वसाधारणको हितमा नभएको शर्माको आरोप छ ।

प्रयोगविहीन भएको भवनलाइ भद्रपुर भन्सारले सुख्खा बन्दरगाहको रुपमा ल्याउन सकिने स्थानीय तथा कानून व्यवसायी पवन कार्कीले बताए । भन्सार देखि ५ किलोमीटर सम्म गोदाम राख्न पाउने कानूनमा उल्लेख भएपनि जीर्ण बन्दै गएको भवनलाइ मर्मत गरेर प्रयोगमा ल्याउन नपाल सरकारले नसकेको उनको आरोप छ । सरकारी कार्यालय परिसरमा देखिएको पार्किङ् समस्यालाइ समेत सो स्थान प्रयोग गर्न सकिने भएपनि कसैको चासो नभएको उनले बताए ।

कृषि सामग्री संस्थानको भवनमा मल थियो त्यो पनि अहिले त खाली छ संस्थानका पूर्व कर्मचारी थिरबहादुर कार्कीले बताए । कार्कीको २००६७ मा कार्यालय सहयोगिबाट अवकास पाइसकेका छन् । घर नभएका कारण रेखदेखको लागि सानो क्वाटरमा वस्दै आएको उनले सुनाए । जीवनभर खाद्यको कर्मचारी भएर अवकास पाएपनि घर वनाउन नसकेको उनले गुनासो गरे । गोदाममा सामान हुदाँसमेत रेखदेख गरेको पैसा आउँथ्यो अहिले त न सामान न पैसा उनले भने । हाकिमले निकालिदिएको दिन देखि सुकुमबासी हुने उनलाइ डर छ ।

गोदाम भाडा लगाउनको लागि गत वर्ष सुचना प्रकाशित गर्दा विर्तामोडको भाडा लागेपनि चन्द्रगढी भवनको लागि कोही नआएको खाद्य संस्थानका मेची अञ्चल निमीत्त प्रमुख महेन्द्र सिटौलाले बताए । भवन जीर्ण भएकोले मर्मत सम्भार गरेर वैकल्पिक प्रयोगमा ल्याउन छलफल भइरहेको सिटौलाको भनाइ छ । नेपाल सकारले लगानी गरेको यस्ता सार्वजानिक संरचनालाइ प्रयोगमा ल्याएर जनताले तिरेको राजस्वलाइ सन्तुष्ट पार्नु पर्ने देखिन्छ ।