इडाई समुद्री आँधी: मोजाम्बिकमा मात्र ‘हजारभन्दा बढीको मृत्यु’


काठमाडाैं । इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा ज्यान गुमाउनेहरूको सङ्ख्या एक हजार नाघेको हुनसक्ने त्यहाँका राष्ट्रपति फिलिपे नुसीले बताएका छन्।

प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्‍याएको छ।

बिहीवारदेखि नै त्यहाँ ठूलो वर्षासहितको आँधीले क्षति पुर्‍याउन थालेको भए पनि सहायताकर्मीहरू भने आइतवारबाट मात्र त्यहाँ पुग्न थालेका हुन्।

विस्तारै क्षतिको विवरण बाहिर आउन थालेको छ।

हताहती

सोही आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भएको छ। बेयराको निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले ‘विध्वंसकारी प्रभाव’ पारेको बताएका छन्।

उनले हवाई निरीक्षणका बेला बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताए।

त्यसअघि नै इन्टरन्याश्नल फेडरेसन अफ रेडक्रस र रेड क्रेसेन्ट सोसाइटीले आँधीको प्रभावलाई ‘ठूलो र भयानक’ बताएका थिए।

झण्डै पाँच लाख मानिसको बसोवास रहेको बेयरामा उनीहरूले गरेको हवाई मुल्याङ्कनले ९० प्रतिशत शहर ध्वस्त भएको देखाएको छ।

विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति पुर्‍याउन नसकेको एउटा घर समेत भेट्न नसकेको बीबीसीलाई बताए।

उद्दारकर्ताहरूले शहरबाहिर झनै विकराल समस्या भएको हुनसक्ने बताएका छन्। धेरै ठाउँमा बिजुली र सञ्चार सम्पर्क टुटेको छ।

सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएका छन् जसका कारण राहत कार्य झन चुनौतीपूर्ण हुने बताइएको छ।

‘कहिल्यै नदेखेको अवस्था’

बेयराले अन्यत्र जोड्ने सडकहरू अवरुद्ध भए पनि विमानस्थल भने सञ्चालनमा ल्याइएको छ। रुखमा बसिरहेका थुप्रै मानिसको उद्दार गरिएको रेडक्रसका एकजना सहायताकर्मीले बताए।

जिम्बाब्वेमा ९८ जनाले ज्यान गुमाउनुका साथै २१७ जना हराइरहेको त्यहाँको सरकारले बताएको छ । तीमध्ये नजिकैको पहाडबाट आफ्नो डोर्मेटरीमा ढुङ्गा खस्दा मारिने दुईजना विद्यार्थी समेत छन्।

पूर्वी जिम्बाव्वे पुगेकी बीबीबी सम्वाददाताका अनुसार स्थानीय मानिसले त्यस्ता अवस्था ‘यसअघि कहिल्यै नदेखेको’ बताएका थिए।

समाचारहरूमा जनाइए अनुसार मलावीमा समेत ठूलो क्षति पुगेको छ। आँधी अगावै ठूलो वर्षाले निम्त्याएको बाढी र पहिरोले त्यहाँ १२२ जनाले ज्यान गुमाएका छन्।

उत्तरी मोजाब्बिकको आधाजसो भाग र दक्षिणी मलावीमा अझ केही दिन वर्षा हुने बताइएको छ।

त्यहाँ चट्याङ समेत पर्नसक्ने जोखिम रहेको बताइएको छ। बीबीसीबाट