पुरुषको तर्फबाट सम्बन्ध बिच्छेदका मुद्दा बढ्दो


उत्तम नेपाल, भद्रपुर ।
गत भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता २०७४ लागू भएपछि पुरुषको तर्फबाट सम्बन्ध विच्छेदका मुद्दा दर्ता क्रम बढेर गएको पाइएको छ । झापा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ५ सय १५ वटा मुद्दा परेको छ । जसमध्ये महिलाको तर्फबाट तीनसय र पुरुषले २ सय १५ वटा मुद्दा दर्ता गराएको जिल्ला अदालत झापाले जनाएको छ । गत भदौ १ देखी फागुन मसान्तसम्मको यो तथ्याङ् देखिएको दायरी फाँटका कर्मचारी राजीव गुराँगाइले जनाए । माघ र फागुनमा मात्र महिलाले ७७ र पुरुषले ३६ वटा मुद्दा दर्ता गराएको गुराँगाइले जनाए ।

दर्ता भएका मध्ये दुवैतर्फ गरी २ सय ५४ वटा मुद्दा फर्छौट भइसकेको निमित्त श्रेस्तेदार योगेन्द्र प्रसाद आचार्यले बताए । महिला र पुरुषको चै कती मुद्दा फर्छौंट भए भनेर छुट्टयाउने काम पूरा भइनसकेको निमित्त श्रेस्तेदार आचार्यको भनाइ छ । आर्थिक वर्ष ०७४ ÷०७५ मा ७ सय २१ वटा मुद्दा दर्ता भएमध्ये फैसला हुन ७८ वटा रहेको उनले जानकारी दिए ।

गत भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता २०७४ लागू भएपछि पुरुषको तर्फबाट समेत सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न पाउने कानून आएपछि महिला कै हाराहारिमा पुरुषको तर्फबाट दर्ता गर्ने सङ्ख्या बढ्दै गएको उनले जनाए । सम्बन्ध विच्छेद मुद्दाहरुमा अहिलेको नयाँ कानूनी व्यवस्थाले एकतर्फी वा दुवै पक्ष मुद्दामा उपस्थित नभएका मुद्दाहरुलाइ एक वर्षसम्म नटुङ्गिने भएकोले सकेसम्म दुवैपक्ष मिलेर जाउँन भन्नै नै हो उनले भने । मुद्दामा अंश, बालबच्चा लगायतका धेरै कारण हुने भएकोले यी सवै कुराहरुलाइ सहज गर्नका लागि पनि एक वर्ष सम्म पर्खिने व्यवस्था राखिएको उनले जनाए । नयाँ कानून लागू भएसँगै मर्कामा परेका पुरुषहरुले प्रशस्त रुपमा दर्ता गराउदै आएको र कारबाहीयुक्त अवस्थामा रहेको उनले बताए ।

नयाँ कानून भएको ,एक वर्षसम्म कुर्नु पर्ने र सकेसम्म मेलमिलापलाइ जोड दिनु पर्ने भएकोले हतारिएर फैसला नभएको उनले जनाए । अन्य भन्दा पनि सम्बन्ध विच्छेदका मुद्दाहरुमा झण्डै तीस प्रतिशत मिलापत्रबाट हुने गरेको उनको भनाइ छ । मिलापत्र हुननसकेमा सवै कुराहरुलाइ विचार पुर्याएर अन्तिम कानूनी बाटोमा जानु परेकोले हतारिएर फैसला नहुने उनले बताए । वैदेशिक रोजगार, घरेलु हिंसा र आपसी वादविवादको कारणले सम्बन्ध विच्छेदका घटना बढेको अदालतले जनाएको छ ।

अहिलेको कानूनमा पुरुषले सहजै अदालत गएर सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न सक्ने कानून बनेपछि ८० प्रतिशत जती वैदेशिक रोजगारीबाट फर्केका पुरुषहरुले संम्वन्ध विच्छेद गर्ने गरेको पाइएको झापा बारका निर्वतमान अध्यक्ष तथा कानून व्यवसायी सुरज कुमार खत्रीले जनाए । यसभन्दा पहिले पुरुषले संम्बन्ध विच्छेद गर्न चाहदाँ पनि गाविस वा नगरपालिकाको सिफारिस लिएर अदालत गएपछि मात्र सम्बन्ध विच्छेद हुने गरेकोमा अहिले सिधै अदालत जाँन सक्ने नयाँ कानूनले अधिकार दिएपछि यो सख्या बढेको खत्रीले बताए ।

पूरानो कानूनमा सम्बन्ध विच्छेदको मुद्दा पर्ने वित्तिकै मिला पत्र वा एकतर्फी तामेली हुने भएकोले समाज विखण्डन तर्फ गएकोले नयाँ कानून लागू भएपछि यो समस्या रोकिन सक्ने उनको भनाइ छ । अहिलेको कानून बाहिरी देशसँगको अभ्याससँग मिल्ने भएकोले एकवर्षसम्म राखिएको उनले जनाए । एकवर्षसम्म राख्नु पर्ने कारण चै दुवैबिचमा वुझावुझ नभएको र सोच्ने समय रहेकोले पुन ः फर्किन सक्ने यसको मुख्य उद्देश्य रहेको उनले बताए । परपुरुषसँग यौनसम्पर्क प्रमाणित भएमा महिलाको कारणले सम्बन्ध विच्चेद गर्नु पर्ने भए अंश नपाइने कानूनमा उल्लेख गरिएको उनले जनाए । अन्यको हकमा पुरुषले मुद्दा हालेपनि अंश पाइने उल्लेख छ उनले भने ।

नेपालीको जारी मुलुकी देवानी संहिता २०७४ को भाग ३ को पारिवारिक कानूनको परिच्छेद ३ ले पति पत्नी बिच चित्त नबुझे सम्बन्ध विच्छेद गर्न सक्ने कानूनले व्यवस्था गरेको छ । परिच्छेद ३ को दफा ९३ देखि उपदफा हुदै १०४ सम्म यो विषयमा उल्लेख गरिएको छ ।