किम जोङले पुनः क्षेप्यास्त्र तथा आणविक कार्यक्रम थाल्न सक्ने


सोल, (एजेन्सी)
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकासँगको निशस्त्रीकरणको वार्ता तोडेर क्षेप्यास्त्र तथा आणविक परीक्षण कार्य पुनः शुरू गर्न सक्ने त्यहाँका एक जना वरिष्ठ अधिकारीले शुक्रबार जनाएका छन्। उत्तर कोरियाली उपविदेशमन्त्री चोय सुन हुइले हालै भियतनामको राजधानी हनोईमा सम्पन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीचको दोस्रो चरणको वार्तामा अमेरिकाले ‘सुवर्ण अवसर’ गुमाएको बताएकी छिन्।

उत्तर कोरियाले आफ्नो प्रमुख आणविक परिसर योङब्योन नष्ट गर्ने प्रतिबद्धता जाहेर गरेको थियो। तर ट्रम्पले उत्तर कोरियाले आफ्ना सम्पूर्ण आणविक क्षेत्र नष्ट नगरेसम्म प्योङयाङमाथि लगाइँदै आएको नाकाबन्दी नहटाउने अडान लिएपछि हनोई वार्ता असफल भएको थियो।

प्योङयाङमा चोयले अमेरिकासँगको भावी वार्ता सम्बन्धमा किमले चाँडै नै आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने भएको बताएकी छिन्। चोयले उत्तर कोरियामा पत्रकारलाई आफूहरूको अमेरिकाको कुनै पनि किसिमका मागसमक्ष आत्मसमर्पण गर्ने विचार नरहेको तथा न त यस्ता वार्तामा लागिरहने इच्छा भएको बताएको रुसी सरकारी समाचार निकाय तासले जनाएको छ।

उनले अमेरिकालाई ‘आपराधिक समूह’ जस्तो भएको तर दुवै देशका नेताहरूको सम्बन्ध र केमिस्ट्री अझै निकै राम्रो रहेको बताएको एसोसिएटेड प्रेसले जनाएको छ। साथै चोयले बताएकी छिन्– ‘उत्तर कोरियाले हनोई वार्ताको दौरान अमेरिकासँग केवल पाँच वटा प्रमुख आर्थिक नाकाबन्दी हटाउन माग गरेको हो। वार्ता असफल भएपछि ट्रम्पले भनेजस्तै सम्पूर्ण नाकाबन्दी हटाउन हामीले माग गरेकै थिएनौं। अमेरिकाले किन फरक कुरा सार्वजनिक गर्यो भन्नेबारे हामीलाई केही पनि थाहा छैन।’ तर चोयले किम र ट्रम्पबीचको व्यक्तिगत सम्बन्ध अझै प्रसंशनीय रहेकाले कुटनीतिको ढोका अझै पनि खुला रहेको प्रतिक्रिया दिएकी छिन्। बरु उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई अमेरिकी पक्षलाई कडा पारेको आरोप लगाएकी छिन्।

गत वर्षको १२ जुनमा सिंगापुरमा भएको किम र ट्रम्पबीचको पहिलो चरणको वार्तामा पनि कोरियाली प्रायद्वीपलाई निशस्त्र पार्नेबारे सहमति भएको थियो। केही समयअघि मात्र अमेरिका र दक्षिण कोरियाले ठूलो स्तरमा संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका थिए। विगतमा उत्तर कोरियाले यस्तो सैनिक अभ्यासलाई आफूविरुद्धको युद्धको तयारीको संज्ञा दिँदै आएको थियो। हनोई वार्ताका लागि किमले चीन हुँदै १ सय २० घन्टा लामो ट्रेन यात्रा तय गरेका थिए।