काठमाडौं । काठमाडौंको लाजिम्पाटमा एक तेस्रोलिङ्गी व्यक्तिको ‘शंकास्पद’ मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की घर भई लाजिम्पाट बस्दै आएका ३१ वर्षीय जीवन गुरुङ छन् ।
महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद शर्मा घिमिरेका अनुसार आइतबार बिहान गुरुङको कोठामा उनको शव भेटिएको थियो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ । मृत गुरुङको निधारमा चोट देखिएकाले तेस्रोलिङ्गी समाजले घटनालाई शंकास्पद भएको जनाएको छ । उनीहरुले दरबारमार्ग प्रहरीमा गुरुङसँगै बस्ने विदेश कार्कीविरुद्ध किटानी जाहेरी दिएका छन् । जसको आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।
गत शुक्रबार मादक पदार्थ सेवन गरेर कार्कीले मृतक गुरुङलाई कुटपिट गरेको जाहेरीमा उल्लेख छ । त्यसबारे प्रहरीलाई समेत खबर गरिएको थियो । तर, पहिले अस्पताल लैजान सुझाइएपछि उपचारका लागि वीर अस्पताल लगिएको थियो ।
उपचारपछि गुरुङ फर्किएका थिए तर, त्यसबारे प्रहरीलाई केही जानकारी थिएन । एक्कासी शव भेटिएको खबर पाएपछि प्रहरी अनुसन्धानका लागि गुरुङको कोठामा पुगेको हो । गुरुङ ५–७ वर्षदेखि सोही कोठामा बस्दै आएको पाइएको प्रहरी स्रोतले जनाएको छ ।











प्रतिक्रिया