रेन्बो ट्राउट माछाको आकर्षण

0
Shares

विमलबहादुर विष्ट
डोटी, चेम्बर अफ कमर्शले दिपायलको पिपल्लामा आयोजना गरेको प्रादेशिक महोत्सवमा अमेरिकी रेन्बो ट्राउट माछाप्रति दर्शकको आर्कषण बढेको छ ।

महोत्सवमा आउने अधिकांश दर्शकले उक्त माछा अवलोकन गर्ने गरेका छन् । जोरायल गाउँपालिका ५ गड्सेराका किसान लीलाधर विष्टले अमेरिकाको अलास्का नदीमा पाइने रेन्बो ट्राउट माछा प्रदर्शनीका लागि ल्याउनुभएको हो । माछा हेर्नका लागि दर्शकको भीड लाग्ने गरेको महोत्सव आयोजक संस्थाका सदस्य रामबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “किसान लीलाधर विष्टले जिउँदो माछा ल्याएर स्टलमा राखेका कारण उक्त माछा हेर्नेको बढी भीड लाग्ने गरेको छ ।” यही फागुन १७ गतेदेखि शुरु भएको महोत्सव मङ्गलबार सकिँदैछ ।

अमेरिका र जापानका नदीमा पाइने उक्त माछा नेपालको नुवाकोटलगायत अन्य जिल्लामा पनि व्यावसायिक रुपमा कृषकले पालन गरेका छन् । गड्सेराका किसान विष्टले एक वर्ष पहिले नुवाकोट जिल्लाबाट उक्त माछाका भुरा ल्याएर अहिले आफ्नै गाउँमा करीब रु १० लाखको लागतमा माछाको पालन गरी व्यवसाय गर्न थाल्नुभएको हो ।

उक्त माछा पाल्नका लागि नेपाल सरकारको कृत्रिम तथा प्राकृतिक जलाशय मत्स्य विकास केन्द्र बालाजु काठमाडाँैले रु पाँच लाख १२ हजार र जोरायल गाउँपालिकाका कार्यालयले उहाँलाई रु एक लाख अनुदान दिएको थियो । उक्त माछापालनका लागि मत्स्य विकास केन्द्र गेटा कैलाली र तत्काmलीन जिल्ला कृषि विकास कार्यालय डोटीले प्राविधिक सहयोग गरेको किसान विष्टले बताउनुभयो । मुख र जिब्रोमा समेत दाँत भएको विभिन्न बिरामीका लागि अति उपयोगी भएको उक्त रेन्बो ट्राउट माछा बजारमा प्रतिकिलो रु १ हजार ६०० पर्ने गरेकाछ । विष्टले भन्नुभयो, “यो माछा हेर्दा साधारणजस्तो छ तर खाएमा अति उपयोगी भएकाले पनि महँगो छ ।”

उक्त माछामा मानिसको दिमाग बढाउन अति आवश्यक पर्ने ओमेगा थ्री भन्ने तत्व सबैभन्दा बढी पाइन्छ । मानव शरीरका लागि अति आवश्यक १५ वटा एमिनो एसिडमध्ये १० वटा एमिनो एसिड यसमा पाइन्छ । काँडा कम र नरम भएका कारण ससाना बालबालिकाले समेत खान सक्ने, सुत्केरीले पनि खान मिल्ने, मुटु रोगीका लागि विशेष फाइदा पुग्ने हुन्छ । सेतो मासु भएकाले जुनसुकै बिरामीले पनि खान मिल्ने भएकाले पनि यसको महत्व अझै बढेको माछा व्यवसायी विष्टले जानकारी दिनुभयो । चेम्बरको प्रादेशिक महोत्सव अवलोकन गर्न आउने सयौँ दर्शक विष्टकै कक्षमा पुग्ने गरेको महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्शका अध्यक्ष खगेन्द्रबहादुर साउदले बताउनुभयो । सुदूरपश्चिमका कुनै पनि ठाउँमा उक्त माछा पाइँदैन ।

यहाँका बासिन्दाले कहिल्यै उक्त माछा नदेखेका कारण पनि महोत्सवमा आएकाहरुले माछाका बारेमा बढी सोधपुछ गर्ने गरेको उहाँले बताउनुभयो । माछा अवलोकन गर्ने कतिपयले माछा खानका लागि आदेश नै दिएर जाने गरेको विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “माछा अवलोकन गर्ने अधिकांशले खानका लागि माछा अर्डर नै गरेर जाने गरेका छन्, अर्डरअनुसार हामी उपलब्ध गराउँछौँ ।” रेन्बो ट्राउट माछा बढीमा २० डिग्रीको तापक्रम भएको र चौबीसै घण्टा बगिरहने सफा पानीमा मात्रै हुने गरेको बताइएको छ । कम्तीमा पनि एक किलो माछालाई बिक्री गर्नेसम्म बनाउनका लागि रु ७०० देखि ८०० सम्म खर्च लाग्ने गरेको किसान विष्टको भनाइ छ ।

उक्त माछाका लागि स्थानीयस्तरमा चारा बनाउन सकिने भए पनि महँगो पर्ने भएकाले काठमाडौँबाट नै ल्याउनुपर्ने अवस्था छ । माछाका लागि तोरीको पिना, भटमासको धुलो, धानको ढुटो चाहिन्छ । प्रोटिनको मात्रा बढी चाहिने भएकाले भुरा माछाका लागि ४५ प्रतिशत र ठूलो बिक्रीका लागि (योग्य माछाका लागि) कम्तीमा पनि ३५ प्रतिशत सिद्रा माछा राख्नुपर्ने हुृन्छ । अन्नमा जौ अथवा गहुँ मिसाएर खुवाउने गरिन्छ ।

उक्त माछापालन गर्न सबैखाले प्रविधि महँगो भएकाले माछा व्यवसाय सञ्चालनमा समस्या भएको किसान विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “माछा उत्पादनदेखि लिएर चारो खर्चमै समस्या छ, अनुदान पाउन पाए पूरै सुदूरपश्चिमभरि यो माछा उपलब्ध गराउन सकिन्थ्यो ।” माछा व्यवसायी विष्टसँग उक्त माछा उपलब्ध गराउन भारतका विभिन्न शहरबाट पनि माग भएको बताइएको छ । विष्टले भन्नुभयो, “भारतीय व्यापारीहरु माछा अर्डरका लागि घरमै आउन थालेका छन्, हामीले केहीलाई त उपलब्ध गरायौँ, मागअनुसार सबैलाई दिन सकिएको छैन ।”

विष्टले तीन रोपनी जमिनमा उक्त माछापालन गर्नुभएको छ । जोरायल गाउँपालिकाका रामबहादुर देउवा र हेमबहादुर विष्टसँग मिलेर उहाँले माछापालन व्यवसाय गर्नुभएको हो । गड्सेराका किसानले सञ्चालन गरेको मत्स्यपालन व्यवसाय प्रोत्साहन गर्न आफ्ना क्षेत्रबाट पनि पहल गरिने डोटी उद्योग सङ्घका अध्यक्ष मोहन कलेलले बताउनुभयो । उहाँले भन्नुभयो , “सुदूरपश्चिम प्रदेशभरिमै पहिलो पटक अमेरिकन रेन्बो ट्राउट माछा पालनको शुरुआती भएको छ । हामीले के गर्न सक्छौँ, छलफल गरेर सहयोग गछौँ ।”

आफूले पालन गरेका माछाले राम्रै बजार पाएपछि किसान खुशी भएका छन् । उनीहरु भन्छन्, “हामीले सञ्चालन गरेको रेन्बो ट्राउट माछाले राम्रै बजार पाएको छ, हाम्रो खुशी यही नै हो ।” जिल्लामा खासै माछा नपाउने अवस्थामा अमेरिकी रेन्बो ट्राउट माछाले राम्रै व्यवसाय पाएपछि यहाँका बासिन्दा निकै खुशी भएको दिपायलका पूर्वनगर प्रमुख घनश्यामदत्त पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “अमेरिकी रेन्बो ट्राउट माछा दिपायलमै पाउन थालेकाले यो भन्दा ठूलो अरु के खुशी हुन सक्छ र ? गरे के हुँदैन र ? मेहनत गरे पैसा घरैमा फल्छ भनेको यही हो ।”

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले रेन्बो ट्राउट माछालाई जिल्लाभरि नै पालन गर्नका लागि विशेष किसिमको पहल गरिने बताउनुभयो । उहाँले भन्नुभयो,“मलाई पनि यो माछाको विषयमा खासै जानकारी थिएन, पछि किसानबाट बुझेर थाहा पाएँ, जिल्लाभरिमै माछा व्यवसाय सञ्चालन गर्नका लागि पहल गर्नेछौँ ।” डोटीलगायत यहाँका अन्य पहाडी जिल्लामा उक्त माछा पालन गर्नका लागि उपयुक्त हावापानी भएका कारण सजिलैसँग पाल्न सक्ने मत्स्य विकास केन्द्र गेटा कैलालीका कर्मचारी बताउँछन् ।