यमलाल भुसाल, बुटवल ।
कुख्यात अपराधी मनोज पुनको प्रहरी ईन्काउन्टरमा मारिए पछि शान्त बनेको रुपन्देहीको देवदह क्षेत्र पुन अशान्त बनेको छ । रुन्देहीको देवदहमा अज्ञात समुहको आक्रमणबाट नेपाल तरुण दलका सक्रिय कार्यकर्ताको हत्या भएको छ । नेपाल तरुण दलका सक्रिय कार्यकर्ता अनिष पुरीको हत्यामा संलग्न पांचजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा देवदह ९ का २१ वर्षिय अर्जुन मगर,२० वर्षिय सुवास अर्याल,२८ वर्षिय रमेश शाही,२१ वर्षिय आकाश थापा र २१ वर्षकै शिषिर राना रहेका छन् ।
घटनाका मुख्य योजनाकार देवदहकै माला भन्ने सागर राना र तारा बराल भने फरार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराम भण्डारीले जानकारी दिए ।
कांग्रेसद्धारा हत्यामा संलग्न व्यक्तिलाई कडा कारवाहीको माग
आइतबार राति ८ बजेतिर मोटरसाइकलमा सवार देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २२ बर्षिय अनिष पुरीलाई देवदह भलुहीमा उक्त समूहले ढुंगा र लाठीले प्रहार गरेका थिए । टाउको र छातीमा गम्भीर चोट लागेका पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेजमा पुराइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । देवदहमा सञ्चालित ब्यापार मेलामा पार्किंङको विषयमा युवाहरुको दुई समूहबीच विवाद भएको थियो । विवादपछि उक्त समूहले पुरीलाई देवदहकै बुद्धनगरमा सांझ ८ बजेतिर बोलाएर लाठी र ढुंगाले प्रहार गरेका प्रहरीले जनाएको छ ।
मृतक पुरी नेपाल तरुण दलको सक्रिय कार्यकर्ता रहेको कांग्रेस क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले जानकारी दिए । एक मात्र छोरा अनिषको हत्यापछि उनका बुबा र आमा बेहोस भई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेको छ ।
मृतक पुरीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । यसै बिच नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल देवदह नगर समितिका सदस्य अनिस पुरीको हत्या प्रति नेपाली काँग्रेसले हत्यामा संलग्नलाई कडा कारवाहीको माग गरेको छ । नेपाली काँग्रेस रुपन्देहीले सोमबार प्रेस विज्ञप्ती जारी गरी हत्या जस्तो जघन्य अपराधले पार्टीको गम्भिर ध्यानाकषण भएको बताउँदै हत्यामा संलग्न भएका व्यक्तिलाई कडा भन्दा कडा कारवाहीको माग गरेको हो ।
नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणद्वारा जारी विज्ञप्तीमा राजनीतिक तथा सामाजिक रुपमा सकृया युवालाई योजनावद्ध तरिकाले गरिएको सांघातिक हत्याबाट सिंगो पार्टीलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ ।
देवदह नगरपालिका वडा नं. ५ का २२ वर्षीय पुरीको आईतबार राती ८ बजेको समयमा देवदहको भलुहीमा ढुंगा तथा लाठी प्रहार गरी हत्या भएको थियो ।
पूर्व पश्चिम राजमार्गमा संघसाँझै व्यक्तिमाथी आक्रमण हुनले सरकारको सुरक्षा प्रवन्ध कस्तो छ भन्ने प्रष्ट पारेको उल्लेख गर्दै घटनालाई गम्भिरतापूर्व लिन आग्रह गर्दै समग्र सुरक्षा प्रवन्ध चुस्त बताउन समेत माग गरिएको छ ।
देवदहमा विगतदेखि नै हत्याका श्रीङ्खला भईरहेपनि सरकारले प्रभावकारी सुरक्षा प्रवन्ध गर्न नसकेको ठहर गर्दै यस घटनामा समेत सरकारले प्रभावकारी कदम नउठाए नेपाली काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिईएको छ । त्यस्तै विज्ञप्ती मार्फत शोक सन्तप्त पुरीको परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।
त्यस्तै नेपाल तरुण दलले पनि तरुण दल नगर समिति सदस्य पुरीको हत्या प्रति गम्भिर ध्यानाकषण भएको उल्लेख गरेको छ । नेपाल तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ् र सचिव रमेश शाहीले सोमबार नै संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी गृहमन्त्री सहित सुरक्षा समितिको बैठक रुपन्देहीमै बसीरहँदा घटना हुनुले धेरै खालका आशंकाहरु पैदा गरेको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तीमा राजमार्ग क्षेत्रमै भएको यो घटनाले गृहमन्त्री रामबहादुर थापाको ‘देशमा शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त छ’ भन्ने भनाईलाई हास्यास्पद बनाईदिएको उल्लेख गर्दै घटनाले तरुण युवाहरुलाई आक्रोसित बनाएको र २४ घण्टा भित्र दोशीलाई पक्राउ गरि कारवाही प्रकृया सुरु नगरे ससक्त आन्दोलन गर्ने चेतावनी दिईएको छ । त्यस्तै विज्ञप्तीमा शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको छ ।











प्रतिक्रिया